कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश १ भर संक्रमण बढ्दो

विराटनगर — तेस्रो चरणको कोरोना कहर सुरुवाती अवस्थामा भएकाले यसले निम्त्याउन सक्ने जटिलताबारे अहिले नै आंकलन गर्नु हतारो हुने प्रदेश १ का विज्ञले बताएका छन् ।

प्रदेश १ भर संक्रमण बढ्दो

‘यो पहिलो साता हो, दोस्रो र तेस्रो सातातिर यसको अवस्था एवं गम्भीरताको धेरै हदसम्म अनुमान गर्न सक्छौं,’ कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रका क्लिनिकल संयोजक डा. डेनप्रसाद आचार्यले भने, ‘सबै नयाँ भेरिएन्ट हो भन्ने प्रमाणित गर्न समय लाग्ला ।’

दुई सातापछि मात्र अस्पताल भर्ना हुने दर हेरेर अवस्था कस्तो हुन्छ भनी अनुमान गर्न सकिने उनले बताए । ‘साताअघिसम्म अस्पतालमा भर्ना हुनेको संख्या दुई/चार जना थियो,’ डा.आचार्यले भने, ‘अहिले कोसीमा मात्रै ९/१० जना उपचार गराउँदै छन्, यो बढेकै हो ।’

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार उक्त उपचार केन्द्रमा बिहीबारसम्म ९ जना आईसीयूमा र एक भेन्टिलेटरमा छन् । बिहीबार प्रदेशका विभिन्न अस्पतालमा उपचार गराइरहेका संक्रमितमध्ये १ जना जेनरल बेडमा, १४ आईसीयूमा, ४ भेन्टिलेटरमा र १ एचडीयू बेडमा छन् । यो संख्या बुधबारसम्म १० जनामा सीमित थियो ।

प्रदेशभरका ९ भन्दा बढी प्रयोगशालामा बिहीबारसम्म ४ लाख ९८ हजार ६ सय ८ जनाको स्वाब परीक्षण हुँदा १ लाख ९ हजार ५ सय ३६ मा (२१.९६ प्रतिशत) पोजिटिभ देखिएको हो । ‘खोप लगाएकामा असर अझै कम छ,’ डा. आचार्यले भने, ‘ओमिक्रोनको संक्रमण दर बढी, जटिलता र भर्ना हुने दर कम छ ।’ तर खोप नलगाउने धेरै भएकाले तेस्रो चरणको संक्रमणको वास्तविक तस्बिरका लागि दुई/तीन साता कुर्नैपर्ने उनले बताए ।

‘खोप नलगाएकालाई आक्रमण गरिसकेपछि मात्र यसको असर स्पष्ट हुन्छ,’ उनले भने । अस्पताल भर्ना कम हुनुमा खोप लगाएको हुनु र पूर्वसूचनाले पनि भूमिका खेलेको डा.आचार्यले बताए । ‘अहिले अक्सिजन चाहिने मात्र अस्पताल आइरहेका छन्,’ उनले भने, ‘घरमै उपचार गराउनेको संख्या बढी भएपनि सामान्य छन् भनेर बुझ्नुपर्छ ।’

प्रदेशमा होम आइसोलेसनमा रहेकाको संख्या बढेर बिहीबार ८ सय २२ पुगेको छ । बुधबार ५ सय ८७ र मंगलबार ३ सय ७५ संक्रमित होम आइसोलेसनमा थिए । कोसी अस्पतालका मेसु डा. चुमनलाल दासले संक्रमित चिकित्सक, स्वास्थ्यकर्मी र सर्वसाधारणको अवस्था सामान्य देखिएको बताए । ‘अधिकांश संक्रमित घरमै पाँच/सात दिनमै निको हुने खालका छन्, साताभरिमै निको भइरहेको पनि देखिरहेका छौं,’ उनले भने ।

मन्त्रालयद्वारा बुधबार र बिहीबार सार्वजनिक कोभिड–१९ को पीसीआरको दैनिक प्रतिवेदनले प्रदेश १ मा २ सय ६९ पुरुषसहित ४ सय ८३ नयाँ संक्रमित थपिएको जनाएको छ । बुधबार परीक्षण गरिएका ७ सय ३४ मध्ये २ सय ३३ (३१.७४ प्रतिशत) र बिहीबार ५ सय ७४ मध्ये २ सय ५० (४३.५५ प्रतिशत) संक्रमित देखिएको मन्त्रालयले जनाएको छ । परीक्षण दरमा बढोत्तरीसँगै संक्रमितको संख्या बढिरहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले बताए ।

उनका अनुसार परीक्षणका लागि सबै जिल्लाको नमुना आइपुग्ने प्रदेश जनस्वास्थ्य प्रयोगशालामा बुधबार ७३ मध्ये ५८ (७९.४५ प्रतिशत) र बिहीबार ७३ मा ४२ (५७.७३) देखिएको छ । साता अगाडिको तुलनामा एक्कासि दुई/तीन गुणाले बढ्नु भनेको यो प्रदेशमा पनि ओमिक्रोन भेरिएन्ट फैलिइसकेको स्पष्ट संकेत भएको उनले बताए ।

डेल्टा भाइरसमा यति द्रुत संक्रमण फैलाउने क्षमता नरहेको उनले बताए । ‘द्रुतगतिले फैलिन सक्ने ओमिक्रोन भेरिएन्ट यो प्रदेशमा भित्रिइसकेको सहजै अनुमान गर्न सकिन्छ,’ यादवले भने, ‘प्रदेश १ बाट थप परीक्षणका लागि पठाएको १४ शंकास्पद पोजिटिभ नमुनामध्ये ५ वटा ओमिक्रोन हुनेमा ९९ प्रतिशत पक्कापक्की छ, अन्तिम रिपोर्ट पर्खिरहेका छौं ।’

मन्त्रालयका अनुसार बिहीबार सुनसरीमा थप एक पुरुषको मृत्यु भएसँगै पुसको अन्त्यतिर यो प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । बुधबार र बिहीबार सार्वजनिक रिपोर्टमा ४ सय ८३ संक्रमितमध्ये २ सय ३३ जना (४८.२४) विराटनगरका भएको मन्त्रालयले जनाएको छ ।

बुधबार र बिहीबार प्रदेशभर ५ सय ७४ जनाको एन्टिजेन परीक्षण हुँदा ८१ संक्रमित देखिएका छन् । हालसम्म प्रदेशमा १ लाख ६८ हजार ८ सय ४३ जनाको एन्टिजेन परीक्षणमा ४३ हजार ९ सय २६ पोजिटिभ देखिएका छन् ।

प्रकाशित : पुस ३०, २०७८ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?