कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मापदण्डविपरीत वडा कार्यालय बनाएको भन्दै जनप्रतिनिधि र स्थानीयद्वारा उद्घाटन बहिस्कार

डम्बरसिं राई

खोटाङ — दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको वडा कार्यालयको भवन मापदण्डविपरीत बनाइएको भन्दै जनप्रतिनिधि तथा स्थानीयहरूले उद्घाटन नै बहिस्कार गरेका छन् ।

मापदण्डविपरीत वडा कार्यालय बनाएको भन्दै जनप्रतिनिधि र स्थानीयद्वारा उद्घाटन बहिस्कार

नवनिर्मित उक्त भवन विवादित भएको र जबर्जस्ती उद्घाटन गरिएकाले बहिस्कार गरिएको उनीहरूले बताएका छन् । उक्त भवन मङ्गलबार नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले उद्घाटन गरेको भवन मापदण्ड नपुर्‍याइ बनाइएको र वडाको निर्णयबिना नै उद्घाटन कार्यक्रम आयोजना गरिएकाले बहिस्कार गरेको वडा सदस्य अमर श्रेष्ठले बताए ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले एउटै प्लटको पाँच रोपनी जग्गामा भवन बनाउनुपर्ने मापदण्ड तोके पनि साढे तीन रोपनी जग्गामा मात्र भवन बनाइएकाले भालुखोला पारिका स्थानीय तथा राजनीतिक दलले समेत बहिस्कार गरेको स्थानीय सप्तमणि राईले बताए ।

अर्का वडा सदस्य धौल राई पनि कार्यक्रममा सहभागी भएनन् । यस्तै आफूलाई बोलाइए पनि उपस्थित नभएको नगरकार्यापालिका सदस्य गंगाबहादुर विश्वकर्माले असन्तुष्टि व्यक्त गरे । कांग्रेस वडासभापति पदम पुरीले पनि आफूलाई बोलाए पनि नगएको बताए ।

स्थानीयलाई झुक्याएर कार्यालय भवन बनाइएको भन्दै आफूहरू आन्दोलित हुनु परेको स्थानीय धनिराम राईले बताए । वडाध्यक्ष हर्कबहादुर खत्रीले भने सबै राजनीतिक दल तथा स्थानीयलाई बोलाइए पनि नआएको गुनासो गरे ।

स्थानीय नआए पनि भवन उद्घाटन र निःशुल्क जग्गादातालाई सम्मान गरिएको वडाध्यक्ष खत्रीले बताए । उनका अनुसार जग्गादाता भलाकाजी राई र मानबहादुर राईलाई सम्मान गरिएको हो । उनीहरूमध्ये भलाकाजी राईले उपलब्ध गराएको तीन रोपनी र मानबहादुर राईले नि:शुल्क रुपमा उपलब्ध गराएको आधा रोपनी जग्गामा वडा कार्यालय भवन निर्माण गरिएको छ ।

मापदण्ड विपरीत वडा कार्यालय भवन बनाइएको भन्दै गत असार ६ गते स्थानीयले वडा कार्यालयमा ताला लगाएका थिए । वडा कार्यालयको नाममा पाँच रोपनीभन्दा बढी भएको तर फरक फरक ठाउँमा भएकाले समस्या आएको वडाध्यक्ष खत्रीले जनाए । उनका अनुसार स्थानीय मानबहादुर राईले नि:शुल्क उपलब्ध गराएको दुई रोपनी जग्गा भने एउटै प्लटमा नभएकाले समस्या आएको हो ।

एउटै प्लटमा पाँच रोपनी जग्गा नभएसम्म कार्यालय सञ्चालन हुन नदिने स्थानीय धनिराम राईले बताए । उक्त कार्यालय भवन करिब ४९ लाख रुपैयाँको लागतमा ईन्द्रलक्ष्मी पिआर कन्ट्रक्सन जेबीले निर्माण गरेको निर्माणमा संलग्न दिनेश पौडेलले बताए ।

प्रकाशित : पुस २७, २०७८ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?