कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

५० रुपैयाँमा ट्युसन, विपन्नलाई निःशुल्क

स्थानीय युवाहरुले पनि शुल्क नलिई पढाएका छन्

धरान — बाल कक्षा सञ्चालन गर्नका लागि २०५४ सालमा धरान–११, सर्दु खोला किनारमा खुलेको ब्राइट बालविकास केन्द्र सुरुवातमा टाटीले बारेको कोठामा पढाइन्थ्यो । आधारभूत व्यवस्थित कोठा निर्माण गर्न नसक्दा बस्तीका अधिकांश केटाकेटीलाई ठूला विद्यालय लान थालियो । विद्यार्थीको संख्या घटेर ८ जनामा पुग्यो ।

५० रुपैयाँमा ट्युसन, विपन्नलाई निःशुल्क

शिक्षा कार्यालयबाट अनुगमनमा आएको टोलीले केन्द्रलाई अर्को स्कुलमा गाभ्न सुझाव दियो । शिक्षकको तलब रोकियो, पढाइ ठप्प भयो । भएका ८ बालबालिका पनि अलमलमा परे । सोही समयमा ब्राइट बालविकास केन्द्रका अध्यक्ष दीपककुमार लावती थिए । प्रारम्भिक शिक्षा पढ्नका लागि टाढा जानुपर्ने समस्या देख्दा लावतीको मन मानेन ।

केन्द्रमा विपन्न परिवारका केटाकेटी मात्र आउँथे । त्यसमा पनि विद्यालय टाढा हुनेबित्तिकै पढ्न जाने वातावरण खल्बलिन्थ्यो । अन्ततः लावतीकै सक्रियतामा केन्द्र सञ्चालन गर्न इनरुवा शिक्षा कार्यालय पुगेर पहल सुरु भयो । लामो प्रयासपछि कक्षा सञ्चालन गर्ने अनुमति मिल्यो । त्यसयता बाल कक्षा निरन्तर सञ्चालनमा छ ।

लकडाउनले विद्यालय ठप्प थियो । केटाकेटीको पढाइ बिग्रन सक्ने भन्दै अभिभावक ट्युसन सुरु गर्ने अभियानमा जुटे । टोलका युवा निःशुल्क पढाउन तयार भए । गत असारबाट ट्युसन सुरु भयो । ट्युसन पढ्नका लागि मासिक ५० रुपैयाँ तिर्नुपर्छ । विपन्नले निःशुल्क पढ्न पाउँछन् । कक्षा एकदेखि सात कक्षासम्म हाल पाँच जना स्वयंसेवक शिक्षकले पढाउँदै आएका छन् ।

शिक्षिका बिनु विश्वकर्माले पढाउन थालेको ६ महिना भयो । स्नातक तह अध्ययनरत उनी बिहान कलेज जान्छिन् । बेलुका ५ देखि ६ बजेसम्म विद्यार्थीलाई पढाउन केन्द्र पुग्छिन् । उनलाई तलबको आशा छैन । आफूले जानेको ज्ञान बाँड्न पाउँदा नै दंग छिन् । बिनु भन्छिन्, ‘आफूले सिकेको कुरा सिकाउन पाउँदा खुसी छु । नानीहरूले पनि मन लगाएर पढिरहेका छन् ।’ पछिल्लो समय बालबालिकाको पढाइमा सुधार आएपछि थप आत्मसन्तुष्टि मिलेको उनी बताउँछिन् ।

केन्द्रमा ८० प्रतिशत विद्यार्थी सामुदायिक विद्यालयका छन् । चिसो मौसम सुरु भएपछि भने अध्यापनमा समस्या भएको छ । डेक्स र बेन्चको अभाव छ । सुनौलो चोकका डम्बर तामाङ निकेतन माविमा सिभिल इन्जिनियर पढ्छन् । हाल तेस्रो वर्षमा अध्ययनरत उनी बिहान कलेज र बेलुका केन्द्रमा ट्युसन पढाउँछन् । कक्षा १० मा पढ्दैदेखि उनले ट्युसन पढाउन सुरु गरेका थिए । ट्युसनबाट आएको पैसाले पढाइ खर्च जुटाउँथे । अहिले भने बस्तीका विद्यार्थीलाई निःशुल्क पढाउँदै आएका छन् ।

निःशुल्क पढाउँदा उनमा दायित्व बढेको भान हुन्छ । तामाङ भन्छन्, ‘हाम्रो टोलका सबै अभिभावक पैसा तिरेर पढाउन सक्ने अवस्थाका छैनन् । त्यसैले जानेको कुरा सिकाउन पाउँदा सेवा गरेको अनुभव भइरहेको छ ।’ प्रयोगात्मक विषय पढ्दै गरेकाले समय निकाल्न उनलाई मुस्किल पर्छ । तर पनि बेलुका नियमितजसो पढाउन पुग्छन् ।

केन्द्रका सचिव दीपककुमार लावती केन्द्रलाई अझ सुधार गर्ने योजना रहेको बताउँछन् । सुनौलो चोकबाट सामुदायिक विद्यालय पुग्दा टाढा हुने भएकाले १ देखि ३ कक्षासम्म सञ्चालन गर्ने उद्देश्य छ । उनले भने, ‘साउनको भेल र चैतको हावाहुरीका बेला ६ वर्षमुनिका नानीहरू यसै विद्यालयमा पढाउन पाए हुन्थ्यो भन्ने लाग्छ । आर्थिक अवस्था कम भएको हुँदा गति दिन सकेका छैनौं ।’

मीना तामाङ यसै केन्द्रकी शिक्षिका हुन् । सन्देश मगर ट्युसन सुरु भएदेखि नियमित आउने विद्यार्थी हुन् । निजी विद्यालयमा कक्षा ६ मा पढ्दै आएका उनी ट्युसन पढ्न पाउँदा खुसी छन् ।

प्रकाशित : पुस २६, २०७८ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?