२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

अक्सिजन परनिर्भरता हटाउँदै कोसी अस्पताल

जितेन्द्र साह

विराटनगर — प्लान्ट सञ्चालनमा आएको पाँच महिना भइसक्दा पनि विराटनगरस्थित कोसी अस्पताल अक्सिजन उत्पादनमा आत्मनिर्भर बन्न सकेको छैन । अस्पतालमा दिनहुँ बाहिरबाटै अक्सिजन सिलिन्डर ओसारेको देख्न सकिन्छ ।

अक्सिजन परनिर्भरता हटाउँदै कोसी अस्पताल

अस्पतालको प्लान्टबाट दैनिक सरदर ८० अक्सिजन सिलिन्डर उत्पादन भइरहेको मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. चुमनलाल दासले बताए । ‘अहिले दैनिक अपुग हुने १० सिलिन्डर अक्सिजन किन्दै आइरहेका छौं,’ उनले भने ।

कोभिड–१९ उत्कर्षमा पुगेका बेला अक्सिजनको दैनिक माग ३ सय सिलिन्डरसम्म पुगेको अस्पतालको मेडिकल स्टोरका खरिदार बद्री बस्नेतले बताए । भारतमा कोरोनाको संक्रमण बढिरहेकाले पुनः त्यस्तो अवस्था दोहोरिएमा प्लान्टको उत्पादनले धान्न नसकिने उनले बताए ।

सञ्चालमा रहेको प्लान्टको दैनिक उत्पादन क्षमता एक सय सिलिन्डर भए पनि बेलाबेलामा विद्युतीय आपूर्तिमा भइरहने गडबडी र बिरामीको वार्डसम्म ग्यास पुर्‍याउने अर्को प्लान्टको ग्रहण गर्ने कमजोर क्षमताले पूर्ण उत्पादन हुन नसकेको प्राविधिक अभिनाश गुप्ताले बताए । ‘विद्युत् आपूर्तिको स्थायी प्रबन्ध आवश्यक छ,’ उनले भने, ‘अक्सिजन आपूर्तिसँग सम्बन्धित मुख्य प्लान्टसँगै सहायक प्लान्टको क्षमतामा सुधार जरुरी छ ।’

मेसु दासका अनुसार शनिबारदेखि थप दुई प्लान्ट सञ्चालनमा आएपछि अक्सिजन सिलिन्डरको परनिर्भरता हट्नेछ । स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले शनिबार अस्पताल परिसरभित्रको थप दुई ‘लिक्विड अक्सिजन ग्यास प्लान्ट’ र अक्सिजन प्लान्टका साथै बायो ग्यास प्लान्टको उद्घाटन गर्दै छन् ।

नयाँ अक्सिजन प्लान्टको दैनिक उत्पादन क्षमता १ सय ९० सिलिन्डर छ भने लिक्विड अक्सिजन ग्यास प्लान्टमा एक पटकमा दुई हजारदेखि २ हजार २ सम्म सिलिन्डर भर्ने गरी अक्सिजन अटाउन सकिन्छ । ती प्लान्टहरू विभिन्न दातृ निकाय, गैरसरकारी संस्थाको सहयोग र नेपाल मेडिकल एसोसिएसनको तालमेलमा स्वाथ्य मन्त्रालयमार्फत जडान भएको हो ।

‘भारतबाट लिक्विड अक्सिजन ल्याएर भर्नुपर्ने प्लान्टको भर छैन, भारतमै कोरोना संक्रमण दर बढिरहेकाले उसले नेपाललाई अक्सिजन उपलब्ध गराउनेमा शंका छ,’ बस्नेतले भने । सञ्चालित मुख्य प्लान्टबाट पाइपको माध्यमले बिरामीको बेडसम्म पुर्‍याउने प्रबन्ध भए पनि अक्सिजनको प्रवाहसमेत कम भएको खरदार बस्नेतले बताए । ‘अक्सिजन प्लान्ट स्थापना भए पनि उपचारमा प्रभावकारी सहयोग पुग्न सकेको छैन,’ उनले भने ।

बस्नेतका अनुसार अस्पतालको माथिल्लो तलाको भेन्टिलेटरसम्म अक्सिजन नपुग्ने हुनाले मुनिबाट अर्को अक्सिजन सिलिन्डर राखेर आपूर्ति प्रबन्ध मिलाइएको छ । ‘अहिलेको प्लान्टबाट भइरहेको अक्सिजनको न्यून प्रवाह कोरोना बिरामीको उपचारमा प्रभावकारी छैन, दम र अन्य रोगका लागि ठीकै हो,’ उनले भने । यति धेरै प्रगति भइसकेपछि प्राविधिक समस्याको समाधान पनि अवश्य खोजिने मेसु दासले बताए ।

‘उक्त प्लान्ट र वार्डहरू बीचको दूरीले अक्सिजन फ्लो कम भएको प्राविधिकहरूले बताएका छन् । दाबी गरिएअनुरूप पूर्ण क्षमतामा यन्त्रहरूले अक्सिजन उत्पादन गर्न नसक्ने प्राविधिकहरूबाटै जानकारी पाएको छु,,’ उनले भने । ३ सय ५० शय्याको उक्त अस्पताललाई विस्तार गरेर ५ सय शय्यामा पुर्‍याउन भवन निर्माण जारी छ ।

प्रकाशित : पुस २४, २०७८ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु वर्षको ९ महिनामा वार्षिक लक्ष्यको ३२.२४ प्रतिशत मात्र विकास खर्च हुनुको अर्थ के हो ?