कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नाम मात्रका छोटी भन्सार

दैनिक लाखौंका व्यापारिक सामानको अवैध ओसारपसार 
नियन्त्रण गर्ने निकाय बेखबर, राजस्व असुली शून्य
विनोद भण्डारी

विराटनगर — मोरङका नौमध्ये तीनवटा छोटी भन्सार सञ्चालनमा छन् । दुईवटाको राजस्व असुली एक वर्षदेखि एक रुपैयाँ पनि छैन । रंगेली र डाइनिया छोटी भन्सारमा दिनभर कर्मचारी बस्छन् । जाँचका लागि वर्ष दिनदेखि एक जना पनि व्यापारी छिरेका छैनन् । 

नाम मात्रका छोटी भन्सार

रंगेली र डाइनिया भन्सार नाका हुँदै दिनहुँ लाखौं मूल्यका व्यापारिक सामान सीमावर्ती बजारबाट भित्रन्छन् । तर कोही पनि भन्सार तिर्न छिर्दैनन् । भन्सार अधिकृत अमित तिवारीका अनुसार ती छोटी भन्सार नाम मात्रका भएका छन् । उक्त दुई भन्सारमा खुर्सानी र प्याजको राजश्व तिर्नमात्र व्यापारी पस्ने गरेका छन् । धनपालथानमा पर्ने मायागञ्ज छोटी भन्सारले मासिक सरदर ५० हजार रुपैयाँ राजश्व संकलन गर्दै आएको छ । भन्सारसँगै सशस्त्र प्रहरीको उपस्थिति भएकाले यो नाकाबाट केही राजश्व असुली गर्दै आएको तिवारीले बताए ।

सीमावर्ती बुधनगरमा रहेको मधुमल्ला छोटी भन्सारले कुनै समय दैनिक १० हजारसम्म भन्सार महसुल असुली गरेको अभिलेख छ । तर उक्त कार्यालय पनि डेढ दशकदेखि बेवारिसे अवस्थामा छ । भवन भत्किएको छ । सरकारको नाममा रहेको करिब तीन कठ्ठा जमिन पनि उपयोगविहीन छ । त्यही छोटी भन्सारको नाममा करिव चार किलोमिटर दक्षिण सीमा क्षेत्रमा तरिगामा गोदाम पनि छ । उक्त गोदाम पनि यतिबेला वेवारिसे अवस्थामा छ । गोदाम र छोटी भन्सारको सडक हुँदै दैनिक लाखौंका व्यापारीक सामानको अवैध ओसार पसार हुन्छ । नियन्त्रण गर्ने निकाय बेखबर छ ।

‘सशस्त्र द्वन्द्वसँगै यो छोटी भन्सार बन्द भएको हो’ स्थानीय रुपचन मण्डलले भने, ‘विराटनगर भन्सारका कर्मचारी पटक–पटक आएर भवन मर्मत गर्ने र सञ्चालन गर्ने भन्दै गएका अहिलेसम्म फर्किएर आएका छैनन् ।’ मण्डलका अनुसार यस नाका हुँदै तेस्रो मुलुकबाट आयत भएका मरिच, छोकडा, सुपारीलगायतका सामान भारत चोरी निकासी र भारतीय उत्पादनको चोरी पैठारी नियमित हुने गरेको छ ।

भारतसँग करिब ६० किलोमिटर सीमा जोडिएको मोरङमा मायागञ्ज, रंगेली, डाइनिया, डोरिया, चुनीवारी, तरिगामा, मधुमल्ला, कदमाहा र चौकीघाट छोटी भन्सार छन् । तीमध्ये अहिले मायागञ्ज, रंगेली र डाईनिया छोटी भन्सार मात्र सञ्चालनमा छन् ।

छोटी भन्सारलाई पछिल्लो समय १५ हजार मूल्य वरावरको निकासी पैठारीका सामानको मात्र भन्सार महसुल लिने अधिकार छ । सञ्चालनमा रहेका छोटी भन्सारले प्याज, आलु, खुर्सानी, माछाको मात्र भन्सार काटेको पाइएको छ । भन्सार अधिकृत तिवारीले भने, ‘ट्रेडिङका अरु सामान पनि छोटी भन्सारबाट आयात हुन्छ तर आयात कर्ताले भन्सार काट्दैनन् ।’

प्रकाशित : पुस २०, २०७८ १३:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?