१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

अद्‍भुत ओलाङचुङगोला

शब्द/तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — कञ्चनजंघा हिमालको फेदबाट बगेको तमोर नदीको किनारैकिनार इलाडाँडाबाट ६ देखि ७ घण्टा हिँडेपछि पुगिन्छ फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङचुङगोला । समुन्द्री सतहबाट ३१ सय मिटरको उचाइमा रहेको ओलाङचुङगोलामा जम्मा ६४ घरधुरी रहेका छन् । यो प्रसिद्ध आँखा सर्जन डा. सन्दुक रूइत र पहिलो महिला पर्यटनमन्त्री यांकिला शेर्पाको गाउँ हो ।

ताप्लेजुङबाट ओलाङचुङगोला जाने राष्ट्रिय महत्त्वको, राष्ट्रिय सरोकारको बाटो बन्न ढिलाइ हुँदा विकासको सूचकांकमा नै पछि परेको छ । वनले १२ सय मिटरको चटटानी बाटोमा विस्फोट गर्न नदिएपछि बाटोको काम अगाडि बढ्न सकेको छैन ।

‘पर्यटकको प्रचुर सम्भावना भएको तर सडक सञ्जाल नजोडिँदा आन्तरिक तथा बाह्य पर्यटक आउन नसकेको ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन वलुङ (शेर्पा) बताउँछन् । उनी भन्छन्‚ ‘अहिलेसम्म यहाँ केन्द्रीय स्तरका नेता कोही पनि आएका छैनन् ।’ यस क्षेत्रको प्रमुख आयस्रोत भनेको गलैंचा, जडीबुटी, पशुपालन (चौंरी, याक) हो । तर कोभिडपछि चीनले टिप्ताला नाका बन्द गरेपछि यहाँका स्थानीयको आय स्रोत खुम्चिएको छ, जुन नाका अहिलेसम्म खुलेको छैन । ओलाङचुङगोलाबाट २५ किलोमिटरको दुरीमा टिप्ताला पुगिन्छ जुन चीन र नेपालको सिमाना पर्दछ ।

‘तिब्बती नाका बन्द भएपछि यस क्षेत्रको व्यापार हुन छाडेको स्थानीय महिला पेम्बा भुटिक शेर्पा बताउँछिन् । पहिला टिप्ताला नाका खुला हुँदा गलैंचाको मूल्य ८० हजार आउँथ्यो भने अहिले फुङ्लिङ बजारमा ३० हजार मात्रै आउँछ । ‘चीन र भारत जोड्ने बाटो चीनको टिप्ताला नाका र भारतको जोगबनी नाकालाई जोड्नेगरी झन्डै २५० किलोमिटरको राजमार्ग खुलेमा राजनीतिक, सामाजिक, आर्थिक स्थिति कायपलट हुने विश्वास स्थानीयको रहेको छ ।


प्रकाशित : पुस १, २०७९ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्