यसरी तयार पारिँदैछ मतदान केन्द्र

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभर १० हजार ८९२ मतदान स्थल र २२ हजार २२७ वटा मतदान केन्द्र तोकिएको छ। यसका लागि निर्वाचन कर्मचारीहरू मतदानको अघिल्लो दिन शनिबार दिनभर मतदान केन्द्र निर्माण गर्नुका साथै अन्य तयारी गरिरहेका छन् ।

सहज रुपमा मतदातान गर्ने वातावरण मिलाउन देशभर कर्मचारीहरू केही दिन अघिदेखि नै तयारीमा जुटेका हुन् छन् । यसैबीच, काठमाडौंको बसन्तपुर दरबार स्क्वायर, बागबजारको पद्मकन्या क्याम्पस र बालमिकी क्याम्पसलाई पनि सरकारले मतदान केन्द्रको रुपमा तोकेको छ । कर्मचारीहरूले भने शनिबार ती स्थानमा बुथ निर्माणको काम गरिरहेका छन् । साथै उनीहरूले मतदान केन्द्रको सुरक्षाको क्षेत्रमा पनि काम गरिरहेका छन् । अघिल्ला निर्वाचनमा पनि बसन्तपुर क्षेत्र, पद्मकन्या क्याम्पस र बालमिकी क्याम्पसलाई मतदान केन्द्र तोकिएको रुपमा तोकिएको थियो ।


प्रकाशित : मंसिर ३, २०७९ १५:२३
प्रतिक्रिया
पठाउनुहोस्

कर्मचारीलाई मर्यादा कायम राखेर काम गर्न आयोगको निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौँ — निर्वाचन आयोगले देशभर निर्वाचनका लागि खटिएका कर्मचारीहरुलाई मर्यादा कायम राखेर काम गर्न निर्देशन दिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार मतदान हुँदैछ । मतदान हुनुपुर्व शनिबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान तथा मतगणना कार्यमा खटिएका कर्मचारीलाई जिम्मेवारीको गरिमा र मर्यादालाई कायम राखेर काम गर्न निर्देशन दिएका छन् । 

प्रमुख आयुक्त थपलियाले मतदान अधिकृत, मतगणना अधिकारी र कर्मचारीको जिम्मेवारी, पाउनु गर्वको विषय रहेको भन्दै जिम्मेवारीको गरिमा र मर्यादालाई कायम राखेर मतदान र मतगणनाको काम मर्यादित र व्यवस्थित बनाउन निर्देशन दिएका छन् ।

'व्यक्तिगत, संस्थागत एवं पदीय रूपमा स्वतन्त्र र निष्पक्ष रही कुनै राजनीतिक दल वा उम्मेदवारप्रति झुकाव नराखी मतदान तथा मतगणना सम्बन्धी कार्य सम्पादन गर्नुहोस्,' थपलियाले निर्देशन गरेका छन्, 'निर्वाचनको कार्य सम्पादन गर्ने सिलसिलामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभाव, दबाब, भनसुन, धम्की, आदि आउन सक्छन् । तर कुनै आग्रह, पूर्वाग्रहबाट प्रेरित वा प्रभावित नभई निष्ठापूर्वक निर्वाचन सम्पन्न गर्न र गराउन प्रतिबद्ध भएर लाग्नोस् ।'

उनले निर्वाचनमा प्रयोग गरिएका मतपत्र, मतपेटिका वा अन्य निर्वाचन सामग्रीको दुरूपयोग नगर्न र गर्न नदिन निर्देशन दिएका छन ।

आयोगले राजनीतिक दल वा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिको स्वार्थ वा प्रभावमा परेर कुनै काम नगर्न समेत आग्रह गरेका छन् ।

'तपाईंको नैतिक आचरण, व्यवहार र कार्यशैलीले निर्वाचनको स्वच्छता र स्वतन्त्रताको मापन हुन्छ । त्यसैले कुनै पनि काम गर्दा आफूले आफूलाई सोध्नुहोस्, छातीमा हात राखेर निर्णय गर्नुहोस् । तपाईंको कामले तपाईं आफैं लज्जित हुनुपर्ने अवस्था आयो भने हामी सबैको दुर्भाग्यको विषय हुनेछ,' उनले भनेका छन्, 'तपाईं जे काम गर्दै हुनुहुन्छ, निर्वाचन आयोग भएर गर्दै हुनुहुन्छ । म तपाईहरु सबैलाई विश्वास सुम्पन चाहन्छु र सम्पूर्ण सफलताको कामना गर्दछु ।'

प्रकाशित : मंसिर ३, २०७९ १५:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×