खाल्डाखुल्डीजस्तै दैनिकी
काठमाडौँ — पूर्व–पश्चिम राजमार्गभन्दा तल पूर्व–पश्चिम नै जोड्छ हुलाकी सडकले । खासगरी तराई र मधेसका वस्तीहरूमा यातायातको सहज पहुँच पुर्याउने लक्ष्यका साथ सरकारले करिब डेढ दशकअघि देखि हुलाकी सडकको अवधारणा अघि सारेको हो ।
राणाकालीन समयदेखि यो बाटोबाट चिट्ठीपत्र ओसारपसार हुने भएकाले हुलाकी नामकरण भएको हो । तराई–मधेसका जिल्लाहरू जोड्ने पहुँचमार्ग पनि हो हुलाकी सडक । तत्कालीन भारतीय प्रधानमन्त्री चन्द्रशेखरले २०४७ सालमा नेपाल भ्रमणका क्रममा हुलाकी राजमार्ग निर्माणमा सहयोग गर्ने प्रतिबद्धता गरेका थिए ।
मेचीको झापादेखि महाकालीको कञ्चनपुरसम्म जोड्ने करिब ४ हजार ७ सय २७ करोड लागतको हुलाकी सडक १ हजार ६ सय ६३ किलोमिटर लामो छ । १ सय २५ वटा पुलपुलेसाहरू यसै सडकअन्र्तगत पर्छन् ।
मूलत: भारत सरकारको लागतमा हुलाकी सडक सुरु भएको हो । निर्माण सुरु भएको डेढ दशक बित्दा पनि सडक निर्माण अधकल्चोमात्रै छ । कतै पुल अलपत्र छन् त कतै सडक हिलाम्मे । पूर्वकै झापा, मोरङ र सुनसरीका कतिपय स्थानका हुलाकी पुल अझै बेवारिसे छन् । ‘बर्खामा सडक हिँडिसक्ने अवस्था हुँदैन,’ मोरङको रतुवामाईका स्थानीय युवा किशोर विश्वकर्माले थपे, ‘हिउँदमा धुलो उडेर हैरान ।’
हुलाकी सडक छेउछाउको जनजीवन पनि सडकका खाल्डाखुल्डी झैं अस्तव्यस्त छ । हुलाकी आसपास मधेसी, आदिवासी र दलित समुदायको बसोबास छ । उनीहरूको दु:खको कथा बेग्लै छ । नागरिकविहीनता, भूमिविहीनता र विभिन्न विभेदको शिकार छन् हुलाकी सडक छेउछाउका सर्वसाधारण । सुनसरीको बर्जु गाउँपालिका आसपास भेटिएका सद्धाम हुसेनले भने, ‘मुस्लिम समुदायको हाल पनि उस्तै छ ।’
हरेक चुनावमा दलका नेताहरूले गरेको अनेकौं वाचा अहिलेसम्म पूरा नभएको हुसेनको भनाइ छ । ‘विभिन्न वाचा लिएर आउँछन् । चुनाव जितेका नेता कहाँ पुगिसके हामी जनता उस्तै ।’