कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दोलखामा खड्ग जात्राको रौनक [तस्बिरहरु]

केदार शिवाकोटी

दोलखा — विजया दशमीको भोलिपल्ट बिहीबार सेतो दौरा, जामा र फेटा गुथेर जमराको माला लगाएका खड्गधारीहरु नाच्दै मन्दिर र मूर्तिहरुको प्राचीन सहर घुम्ने परम्परागत खड्ग जात्रा हर्सोल्लासका साथ दोलखा बजारमा मनाइएको छ । प्राचीन सहर दोलखाका मन्दिर, टोल र डबलीहरुमा टोलटोलबाट निस्केर खड्गधारीहरुले दानवहरुसँग युद्ध गरेको अभिनय गर्दै देखाइने खड्ग जात्रा विजया दशमीको भोलिपल्ट दिनभर प्रदर्शन गरिने चलन छ ।

आ–आफ्नै भूमिकाअनुसार नाच्दै अघि बढेको रोचक दृश्य र प्राचीन युद्धको कलाकौशल हेर्न बाक्लै चहलपहल छ । जात्रामा अभियनयकर्तामध्ये मूल खड्गधारी र उनका अंगरक्षक अघिअघि हुन्छन् । त्रिपुरा सुन्दरी भगवतीले नाबालक छोरा बटुक भैरवलाई घण्ट, डमरु, खड्ग थमाई राँगोको आन्द्राको माला लगाएर युद्धमा सामेल गराएको रोचक नाच पनि जात्रामा देखाइन्छ ।

नवमीका दिन भीमेश्वर र त्रिपुरा सुन्दरीमा बली दिएर लगिएको राँगाको टाउकोलाई राजकुलेश्वर भगवती र बटुक भैरवले खड्ग प्रहार गरेपछि युद्ध जितेको परम्परा छ । त्यसपछि सगुनबाजा बजाउँदै बजार परिक्रमा गरी दिनभर नाचेर विजयउत्सव मनाउने प्रचलन छ । जात्रा सकिएपछि बेलुकीपख त्रिपुरासुन्दरी र राजकुलेश्वरका पुजारीले राजकुलेश्वर मन्दिर अगाडि बसेर खुसियालीमा टीका लगाइदिनुका साथै सामूहिक भोज खाने चलनले अहिलेसम्म निरन्तरता पाएको छ ।


प्रकाशित : आश्विन २०, २०७९ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्