कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्ट्रेलियामा दसैंको रौनक [तस्बिरहरु]

नारायण खड्का

अस्ट्रेलिया — मेलबर्नका बिजन श्रेष्ठले ५ वर्षपछि बाआमाको हातबाट टीका लगाउन पाए । अस्ट्रेलिया आएदेखि नेपाल जान नपाएका उनले यस वर्ष भने बाआमालाई यहीं बोलाएर दसैंको टीका थापेका हुन् । त्यस्तै सिड्नीका मनोज राउतले समेत बाआमाको हातबाट ६ वर्षपछि अस्ट्रेलियामै टीका थापे ।

श्रेष्ठ र राउतमात्र हैन दुई वर्षसम्म कोरोनाका कारण दसैंलाई खुलेर मनाउन नपाएका नेपालीले यस वर्ष भने रम्न पाएका छन् । दसैं मनाउनकै लागि उल्लेख्य संख्यामा अभिभावक अस्ट्रेलिया आएका छन् भने अभिभावक नेपालमै हुने नेपालीले आफ्ना साथीभाइ तथा उनीहरुका अभिभावकबाट टीका थापेका छन् । यस वर्ष अस्ट्रेलियामा विद्यालय बिदा परेकाले नेपाली बालबालिकाले समेत खुलेर दसैं मनाउन पाएका छन् । परम्परागत लुगा र गहनामा सजिएका बालबालिकाले अस्ट्रेलियाको दसैंलाई विशेष बनाएका छन् । आफूभन्दा ठूलाबडा तथा मान्यजनबाट टीका, जमरा र डलरमै दक्षिणा थाप्न पाउँदा उनीहरु दंग थिए ।

अस्ट्रेलियाका सिड्नी, मेलबर्न, ब्रिसबनजस्ता ठूला सहरमात्र नभएर गाउँगाउँसम्म यस वर्ष दसैंको रौनक छाएको छ । हिन्दु मन्दिरहरुमा गएर बिहानैदेखि पूजाअर्चना गर्ने नेपालीसमेत उल्लेख्य थिए । ८ राज्य तथा टेरीटोरीमा फैलिएका नेपालीले दसैं मात्र मनाएनन् कि नेपालीको संस्कृति तथा परम्परा अस्ट्रेलियालीलाई चिनाउनसमेत भ्याए । सिड्नीमा त जमरा राख्न नजानेका वा नभ्याएकालाई नि:शुल्क जमरासमेत वितरण गरिएको थियो ।

यहाँ रहेका नेपालीमात्र नभएर विदेशी नागरिकले समेत दसैंको टीका लगाएका छन् । केही स्थानमा सामूहिक टीकासमेत आयोजना गरिएको थियो । अस्ट्रेलिया आएका अभिभावकले यहाँको दसैं मनाउने प्रचलन देखेर दंग थिए । पहिलोपटक दसैं मनाउन चितवनबाट दक्षिण अस्ट्रेलिया आएका मनहरि साउदले दसैंको रौनक नेपालमा भन्दा अस्ट्रेलियामा अझ बढी पाएको अनुभव सुनाए ।

नेपालीको जनसंख्या बढेसँगै अस्ट्रेलियाली राजनीतिमा समेत नेपाली चाडपर्वले विशेष स्थान बनाउँदै आएको छ । अस्ट्रेलियाका बहुसांस्कृतिक मन्त्री मार्क कुरले दसैं मनाइरहेका सबै नेपालीलाई शुभकामना दिँदै अस्ट्रेलियालाई पुर्‍याएको योगदानको प्रशंसा गरेका छन् । उनले दुर्गा सकारात्मक उर्जाको स्रोत, निष्पक्ष आचरणको प्रतिक भएको उल्लेख गर्दै उनी पूजाको योग्य भएको जनाएका छन् । यसका साथै अस्ट्रेलियाका अन्य राज्य तथा टेरीटोरीका मन्त्री तथा सांसदहरुले समेत यहाँ रहेका नेपालीलाई दसैंको शुभकामना दिएका छन् । केही राज्यका संसद् भवनमा समेत दसैं मनाउने कार्यक्रम तय भएको छ ।


प्रकाशित : आश्विन १९, २०७९ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्