कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तलेजु भवानी मन्दिरमा श्रद्धालुको भीड

तस्बिर : इलिट जोशी

काठमाडौँ — प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र खुला गरिने हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल नवमीअर्थात् महानवमीका दिनमात्र भक्तजनका लागि खुला गरिने सो मन्दिरमा हजारौँ भक्तजनको भीड लागेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए । महानवमीमा मात्र खुल्ने मन्दिर भएकाले लाम बस्ने जतिलाई दर्शन गराइने कार्यालयले जनाएको छ ।

यसैबीच तलेजु भवानीलाई नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतअनुसार आइतबार बिहान १०:०५ बजे हनुमानढोका दरबार क्षेत्रको मूलचोकमा यात्रा गराइएको छ । तलेजु भवानीलाई त्यसै दिन बिहान ११:३५ बजेको साइतमा स्थिरासनमा राखिएको उनले बताए ।

तलेजु भवानीलाई मूलचोकमै राखेर महाअष्टमी सोमबार राति कालरात्रि पूजाका साथ ५४ बोका र ५४ राँगाको बलिसहित पूजा आराधना गरिएको थियो । विजयादशमीसम्म तलेजु भवानीलाई यहीँ राखेर पूजा आराधना गरिन्छ । विजयादशमीका दिन बिहान समितिले दिएको साइतअनुसार बिहान ७:३५ बजे यात्रा गराइने छ । बिहान ८:४७ बजे तलेजु भवानीलाई मूल मन्दिरमा स्थिरासन गराइने छ ।


प्रकाशित : आश्विन १८, २०७९ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्