कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाल्पामा पिङ संस्कृति जगेर्ना गर्दै युवा

युवापुस्ता गाउँमा नहुँदा पिङ हाल्ने मान्छेको अभाव हुने अवस्था
माधव अर्याल

पाल्पा — तानसेन नगरपालिका-७ का वडाध्यक्ष युवा हुन् । युवाको प्रतिनिधित्व गर्ने वडाध्यक्ष प्रदीप खनाल संस्कृति जगेर्नामा अघि बढेका छन् । वडाध्यक्ष नहुँदै पनि वंशगोपाल युवा क्लबका अध्यक्ष थिए । त्यसबेलामा पनि युवाहरूलाई संस्कृति संरक्षण गर्नका लागि विभिन्न योजना बनाए । काम गरेर युवाको मात्र होइन महिला, पुरुषको मन जितेकैले वडाध्यक्षसमेत जिते ।

वैशाख ३० गते निर्वाचन जितेका खनालले पछिल्लो २० वर्षयता हराउँदै गएको पिङ संस्कृति जोगाउन कस्सिएर लागेका छन् । टोल-टोलमा पिङ राख्नुपर्छ भनेर टोल विकासलाई जिम्मा दिएका छन् । ‘टोल विकास संस्थालाई पिङ राख्नुपर्छ भनेर भनेको छु,’ उनले भने, ‘सात ठाउँमा पिङ राख्ने योजना बनेको हो । अहिलेसम्म पाँचवटा राखिसकिएको छ ।’

कतिपय स्थानमा स्थानीय युवा नहुँदा पिङ भएर पनि झुन्ड्याउन समयमा नसकिएको उनले बताए । ‘युवाहरूको विदेश पलायन हुने क्रम नरोकिएकाले पिङ राख्ने मान्छेसमेत नपाइने अवस्था छ,’ उनले भने । पुराना पुस्ताका अनुसार २० वर्षअघिसम्म पहाडी जिल्लाका भन्ज्याङ, चौपारी, वर, पिपल, स्वामी, लाकुरी, देउराली, टोलबस्तीका अन्य रुखमा समेत पिङ हाल्न युवाहरू कस्सिएर लागिपर्थे । पछिल्ला वर्षमा भने यस्तो चलन हराउँदै गएको छ ।

पहिले-पहिले जतासुकै टोल, बस्तीमा सबै जना भेला भएर पिङ खेल्ने; गीत गाउने; रमाइलो गर्ने गरेको अनुभव तानसेन–७, प्रभासका हरि ढकालले सुनाए । रमाएर पिङ खेल्दै बडादसैं मनाउने चलन अहिले पछिल्ला वर्षमा हराएको छ । पछिल्लो पुस्ताले पिङप्रति खासै चासो राखेको पाइँदैन । पाल्पामा २०५५ सालतिरसम्म टोल, बस्तीपिच्छे पिङ हाल्ने चलन भए पनि गाउँका युवा विदेश पलायन हुने; समाजिक सञ्जाल र प्रविधिको विकास भएसँगै पछिल्लो पुस्तामा आकर्षण नै नभएको उनले बताए ।

गाउँका बुढापाकाहरू त्यसबेलाको पिङको रौनक अझै पनि सम्झन्छन् । तानसेन-७, ठाँटीकी तारा पृथी पहिले-पहिले पिङ खेलेर रमाएको अझै पनि सम्झिन्छिन् । ‘अहिले फेरि युवाहरूले पिङ लगाएको देख्दा साह्रै खुसी लागेको छ,’ उनले भनिन्, ‘गाउँमा घुम्न जाँदा मगर बस्तीमा अझ काठको रोटे पिङ खेलेको छु ।’ पछिल्लो समय त्यस्ता पिङहरू हराउँदै गएको उनले बताइन् ।


प्रकाशित : आश्विन १७, २०७९ १४:१८
प्रतिक्रिया
पठाउनुहोस्