कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देशका विभिन्न स्थानमा भित्र्याइयो फूलपाती

कान्तिपुर संवाददाता

काठमाडौँ — आइतबार देशका विभिन्न कोत तथा दसैंघरमा फूलपाती भित्र्याइएको छ । विजया दशमीको सातौं दिन देशका विभिन्न शक्तिपीठ तथा मन्दिरहरूमा देवीको पूजाआजा गरी फूलपाती भित्र्याइएको हो ।

सिन्धुलीको कमलामाई नगरपालिका ४ को रक्तमाला मन्दिरको दसैंघरमा सामूहिक फूलपाती भित्र्याइएको छ । रक्तमाला मन्दिर परिसरमा सेना र प्रहरीले फूलपाती बढाइँ गरेका थिए । वाग्मती प्रदेशका संस्कृति‚ पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठ फूलपाती भित्र्याउने तथा बढाइँ कार्यक्रममा सरिक भएका थिए ।

नेपाली सेनाको ब्यारेकबाट गएको सेना र सशस्त्र प्रहरीको टोलीले जिल्ला प्रहरी कार्यालयबाट फूलपाती भित्र्याउँदै । तस्बिर : आनन्द गौतम/कान्तिपुर

यसैगरी ताप्लेजुङमा पनि नेपाली सेनाको ब्यारेकबाट गएको सेना र सशस्त्र प्रहरीको टोलीले जिल्ला प्रहरी कार्यालयबाट फूलपाती भित्र्याएको छ ।  प्रहरीले भने हाङदेवा, दोखु, फुङलिङलगायत स्थानबाट अघिल्लै दिन फूलपाती ल्याउने गरेको छ । 

बडादसैंको सातौं दिन सोमबार धनकुटामा आयोजना गरिएको विशेष फूलपाती बढाइँ । उक्त अवसरमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टुकडीले सलामी दिएको थियो । तस्बिर : रमेशचन्द्र अधिकारी/कान्तिपुर

आइतबार धनकुटामा पनि विशेष बढाइँ आयोजना गरिएको छ । प्रसिद्ध धार्मिकस्थल निशान भगवती मन्दिरबाट डोलीमा निशानलाई बोकेर बजार परिक्रमा गराई तल्लो टुँडिखेलमा विशेष पूजापछि फुलपाती बढाइँ गरिएको थियो ।

बडादसैंको सातौं दिन सोमबार धनकुटामा आयोजना गरिएको विशेष फूलपाती बढाइँ । तस्बिर : रमेशचन्द्र अधिकारी/कान्तिपुर


प्रकाशित : आश्विन १६, २०७९ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्