गुम्बामा एलिजाबेथको श्रद्धाञ्जली सभा

दीपक केसी

काठमाडौँ — बेलायती महारानी एलिजाबेथ द्वितीयाको सोमबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ । उनको निधन भएको ११औं दिनमा बेलायत मात्रै नभएर विभिन्न देशमा उच्च सम्मानसाथ महारानी एलिजाबेथको श्रद्धाञ्जली सभा गरिँदैछ । यसै क्रममा काठमाडौंको बौद्धस्थित सेतो गुम्बामा महारानी एलिजाबेथ द्वितीयाको तस्बिर राखेर बौद्ध संस्कार तथा परम्परा अनुसार श्रद्धाञ्जली सभा गरिएको छ ।

गुम्बाभित्र भिक्षुहरूसहित नेपालस्थित बेलायती राजदूतावासका उच्चपदस्थ कर्मचारीहरू उपस्थित भएर महारानी एलिजाबेथप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । सोमबार नै लन्डनस्थित वेस्टमिन्स्टर हलमा सार्वजनिक श्रद्धाञ्जलीको कार्यक्रम गरिएको छ । बेलायतमा सात दशकभन्दा लामो समय शासन गरेकी महारानी एलिजाबेथ द्वितीयाको सेप्टेम्बर ९ (भदौ २३) मा ९६ वर्षको उमेरमा निधन भएको हो । स्कटल्यान्डस्थित बालमोरल दरबारमा उनको निधन भएको थियो। महारानी एलिजाबेथको निधनप्रति दु:ख व्यक्त गर्दै नेपालमा पनि तीन दिन शोक मनाइएको थियो ।


प्रकाशित : आश्विन ३, २०७९ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्

अब मुलुक आर्थिक क्रान्तिमा होमिन्छ : अर्थमन्त्री शर्मा

भानुभक्त निरौला

सोलुखुम्बु — अर्थमन्त्री जनार्दन शर्माले संविधानको रक्षामार्फत अब मुलुक आर्थिक क्रान्तिमा होमिने बताएका छन् । सोमबार सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा निर्मित भौतिक संरचनाको उद्घाटन कार्यक्रममा शर्माले माओवादीकै कारणले परिवर्तन सम्भव भएको दाबी गर्दै औद्योगीकरणमार्फत समाजवादी दिशामा अगाडि बढ्ने बताए । 

‘मैले कृषि र औद्योगिक विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छु,’ अर्थमन्त्री शर्माले भने, ‘अब मुलुकमा रोजगारी सिर्जना हुन्छ, स्थानीय तहहरु सम्पन्न हुने छन् र विकासले नयाँ गति लिने छ ।’ अबको अन्तिम लक्ष्य समाजवादी मुलुक निर्माण रहेको भन्दै सोहीअनुसार मुलुकको अर्थतन्त्र चलायमान हुने अर्थमन्त्री शर्माको दाबी छ ।

उनले कार्यक्रममा अध्यक्ष दाहालको समेत प्रशंसा गरे । ‘प्रचण्डको नै नेतृत्वमा देशले आमूल परिवर्तनसम्भव भयो, अब प्रचण्डकै नेतृत्वमा मुलुकको मुहार फेरिन्छ ।’

यहाँ आयोजित कार्यक्रममा एकै साथ ५० शय्याको दूधकोशी सामुदायिक अस्पताल, बहुप्राविधिक शिक्षालय र गाउँपालिकाको भवनको पार्टी अध्यक्ष दाहालले उद्घाटन गरेका छन् । दूधकोशी सामुदायिक अस्पताल १५ करोड, बहुप्राविधिक शिक्षालय ५ करोड र गाउँपालिकाको प्रशासनिक भवन पौने ७ करोडको लागतमा निर्माण सम्पन्न भएको गाउँपालिका अध्यक्ष असिम राईले बताए ।

‘जिल्लामै पहिलो पटक सुविधासम्पन्न अस्पताल जनताबाट चन्दा उठाएर बनाएका हौँ,’ पालिका अध्यक्ष राईले भने, ‘महायज्ञ लाएर जनताको एकताको बलले करोडौँको अस्पताल बनाउन सफल भएका छौँ ।’ पछिल्लो समय आस्था, जाति र लिंगको आधारमा विभक्त भएको समाजमा यी सबै कुराको एकताका कारण मात्रै भौतिक स‌ंरचना निर्माण सम्पन्न भएको अध्यक्ष राईको भनाइ छ ।

कार्यक्रममा सोलुखुम्बुका निवर्तमान प्रतिनिधिसभा सदस्य हेमकुमार राई, प्रदेश १ का आर्थिक मामिलामन्त्री ईन्द्र आङ्बो, प्रदेश १ मा पूर्वराज्यमन्त्री उत्तम बस्नेत, स्थानीय सरकारका प्रमुखहरूको सहभागिता थियो । सो अवसरमा पालिकालाई २५ रोपनी नि:शुल्क जग्गा दिने स्थानीय समाजसेवी बलराम गुरुङलगायतलाई सम्मान गरिएको छ ।

प्रकाशित : आश्विन ३, २०७९ १५:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×