कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

जुम्लाको स्याउ महोत्सव

डीबी बुढा

जुम्ला — जुम्ली स्याउको बजारीकरण गर्न आयोजित दोस्रो स्याउ महोत्सव तथा स्याउ प्रदर्शनी प्रतियोगिता सम्पन्न भएको छ । महोत्सवमा ५० जनाभन्दा बढी किसानले स्याउका स्टल राखेका थिए । गोल्डेन, रेड, जोनाथन, चक्लेटी र स्पर जातको स्याउ स्टलमा राखिएको थियो । स्याउको गुणस्तर वृद्धि र बजारीकरणलाई लक्षित गर्दै किसानलाई स्याउ खेतीमा आकर्षित गर्न महोत्सव आयोजना गरिएको बताइएको छ ।

जिल्ला समन्वय समितिका उपप्रमुख जनक थकालीले जुम्ली स्याउको बजारीकरणका लागि स्याउ महोत्सव एक कोसेढुंगा बन्ने बताए ।‘जुम्ला स्याउको भण्डारण जस्तै हो । किसान स्याउ खेतीमा निकै आकर्षित छन् । तर बजार अभावले स्याउ घरमै थन्किएर कुइन्छ । जुम्ली स्याउको प्रचारप्रसार गर्न आयोजित यो महोत्सवले किसानको मेहनतको कदर गर्ने विश्वास छ,’जिल्ला समन्वय समितिका उपप्रमुख थकालीले बताए ।

महोत्सवमा स्याउको अवकलोन गर्दै उनले किसानको मेहनतको कदर गर्ने बताए ।‘आकारमा ठूलो, स्वादिलो र रसिलो स्याउ महोत्सवमा आएको छ । अब यो स्याउ हरेक किसानको बगैंचामा फलाउनुपर्छ । यो स्याउ बजारमा लैजान सकेको खण्डमा जुम्लाले मनग्य आम्दानी गर्ने निश्चित छ ।’ यस्तै प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले जुम्ली स्याउ एक ब्राण्ड भएको बताए । तर स्याउ नपाक्दै बजार लैजानु, ग्रेडिङ र प्रशोधनको स्रोत साधन नहुनु, किसानमा व्यवसायिकताको अभाव देखिनुले गुणस्तरीय उत्पादन हुन नसकेको बताए ।‘जुम्लाको आर्थिक समृद्धि स्याउमै छ । स्याउ हरेक किसानको व्यवसायिक खेती बन्नुपर्छ । स्याउ पनि फलाउने, पहिचान पनि बचाउने तरिकाले कडा मेहनतपूर्वक खेती प्रणाली अपनाउनुपर्छ,’ केसरीले भने ।

महोत्सवमा स्याउखेती सम्बन्धी जानकारी मुलक पर्चा, पुस्तक पनि राखिएको थियो । तातोपानी, चन्दननाथ, पातारासी, गुठीचौर र तिलाका किसानले प्रर्दशनीका लागि स्याउ राखेका थिए । यससँगै किसानले उत्पादन गरेका विभिन्न प्रजातिका स्याउबीच प्रतिस्पर्धा पनि गराइएको थियो । काञ्जिरोवा टाइम्सले आयोजना गरेको महोत्सवमा स्याउका दाना, जाम, जुस, जेली, मदिरादेखि स्याउका चानासमेत स्टलमा राखिएको थियो । जुम्लामा ४ हजार २ सय हेक्टर जमिनमा स्याउ उत्पादन भएकोमा यस वर्ष ५० करोडको स्याउ उत्पादन हुने आकलन गरिएको छ ।

प्रकाशित : भाद्र २८, २०७९ २१:३०
प्रतिक्रिया
पठाउनुहोस्