कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इन्द्रजात्राको उल्लास

तस्बिर : इलिट जोशी

काठमाडौँ — काठमाडौं उपत्यकाको विशेष पर्व इन्द्रजात्राको मुख्य दिन शुक्रबार कुमारी घरबाट काठमाडौंको तल्लो टोलमा कुमारी, गणेश र भैरवको रथयात्रा गरिएको छ । यस अवसरमा राष्ट्र प्रमुखको रुपमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासहित सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र मन्त्रीहरूले बसन्तपुर पुगेर जात्रा अवलोकन गरे ।

साथै महानगरका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल लगायत अन्य जनप्रतिनिधि र कर्मचारीहरू पनि जात्रामा उपस्थित थिए । यस अवसरमा विभिन्न देवी–देवताको गण, पुलुकिसी, सवःभक्कु, महाकाली, लाखे, झ्यालिञ्चा आदिले पनि तिनै देवी–देवताको रथसँगै सहर परिक्रमा गरेका थिए । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धर्मतः इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवी–देवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ । यसरी लिङ्गो ठड्याइने प्रक्रियालाई ‘इन्द्रध्वजोत्थान’भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ ।

शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा पनि इन्द्रजात्रा मनाउने गरिएको प्रचलन छ । साथै इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा इन्द्रजात्रालाई लिइन्छ । इन्द्रको पूजा आराधना गरी काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत जिल्लामा धुमधामसाथ इन्द्रजात्रा मनाइन्छ । यस जात्रामा आम समुदायको ठूलो भीड लाग्नुका साथै पर्यटकहरू समेत खुबै रमाउने गर्छन् । बुधबार महानगरका प्रमुख बालेन्द्र शाहले इन्द्रजात्राको महत्त्वबारे चर्चा गर्दै यस जात्रालाई उपत्यका मात्रै नभएर विश्वव्यापी बनाउने बताएका थिए ।


प्रकाशित : भाद्र २४, २०७९ २१:३२
प्रतिक्रिया
पठाउनुहोस्