असनका अनधिकृत संरचनामा महानगरको घन र खन्ती
काठमाडौँ — काठमाडौं महानगरपालिकाले असनमा रहेका अनधिकृत संरचना हटाउन थालेको छ । नगर प्रहरीको टोलीले असन क्षेत्रमा नियमविपरीत बनाइएका संरचना र पसललाई मंगलबारदेखि हटाउन सुरु गरेको हो । साँघुरो गल्ली‚ मान्छेको भीडका कारण डोजर असन छिर्न नसकेपछि महानगर कर्मचारी र प्रहरीले खन्ती‚ घनलगायत औजार प्रयोग गर्दै ती संरचनाहरू भत्काएका हुन् ।
महानगरको टोलीले फुटपाथ मिचेर सञ्चालन गरिएका ती पसलका सामग्रीहरू नियन्त्रणमा लिएको छ भने । यसैबीच अनधिकृत संरचना भत्काउँदै गर्दा व्यवसायीहरूले भने महानगरको विरोध गरेका थिए । उनीहरूले अनुमति लिएर व्यवसाय सञ्चालन गर्दा पनि महानगरको टोलीले आफूहरूले निर्माण गरेको संरचना हटाएर ज्यादती गरेको आरोप लगाएका छन् ।