कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२७

विराटनगरमा राधाकृष्ण रथयात्रा [तस्बिरहरु]

देवनारायण साह

मोरङ — विराटनगरमा दुई वर्षपछि शनिबार ५४ औं राधाकृष्ण रथयात्रा निकालिएको छ । कोरोना महामारीले दुई वर्षदेखि रोकिएको रथयात्रालाई यस वर्ष निकालिएको हो । भगवान श्रीकृष्ण जन्मिएको उपलक्ष्यमा श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट रथयात्रा निकाल्ने प्रचलन छ । राधाकृष्ण आरुढ खटलाई नगर परिक्रमा गराउने चलन १९८८ सालदेखि सुरु भएको हो । खटयात्राबाट सुरु भएको राधाकृष्णलाई नगर परिक्रममा गराउने चलन २०२५ सालदेखि रथयात्रामा परिणत भएको हो ।

विराटनगर १ स्थित राधाकृष्ण मन्दिरबाट अपराह्न ३ बजे रथयात्रा नगर परिक्रमापछि पुनः उक्त मन्दिरमा पुगेर टुंगिने परम्परा छ । रथको डोरी तानेर मनोकांक्षा पूर्ण हुनुका साथै पुण्य प्राप्त हुने जनविश्वास रहेको छ । रथयात्राले पूर्वकै साँस्कृतिक महत्व बोकेको हो । रथयात्राको डोरी तान्न यसअघि प्रदेश १, मधेस प्रदेश र भारतका भक्तजनहरुसमेत आउने गरेका थिए । तर यस वर्ष कोरोना महामारीले रथयात्राको प्रचारप्रसार नगर्नुका साथै स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउने भनिएकाले भक्तजनहरुको उपस्थिति कम भएको आयोजक बताउँछ । रथयात्रामा यसअघि प्रदर्शन गरिँदै आएको विभिन्न जातजाती, धर्म, समुदायको झाँकी यस वर्ष कोरोना महामारीले प्रदर्शनमा रोक लगाएको थियो ।

१८ फिट चार इन्च उचाई, ११ फिट दुई इन्च चौडाई र १४ फिट लम्बाई भएको रथमा राधाकृष्णलाई राखेर तिनपैनीस्थित राधाकृष्ण मन्दिरबाट रथयात्रा प्रारम्भ गरिएको थियो । तिनपैनीस्थित राधाकृष्ण मन्दिरबाट सुरु भएको रथयात्रा शनिहाट चोक, गोल्छा चोक, जलजला मोड, बुधहाट चोक, ट्राफिक चोक, रोडशेष, महेन्द चोक र शनिमन्दिर चोक, भृकुटी चोक, वरगाछी हुँदै पुनः राधकृष्ण मन्दिरमा गएर समापन भएको थियो ।

रथलाई तान्नका लागि नेपाल प्रहरीको तालिममा रहेका सय प्रहरी जवान परिचालन गरिएको थियो । यस वर्ष रथसँगै ऐतिहासिक खटयात्रा समेत निकालिएको थियो । रथलाई डोरीले तानिएको र खटलाई गाडीमा राखेर सर्वसाधारणका लागि प्रदर्शन गरिएको आयोजक समितिका कृष्ण कार्कीले बताए । रथलाई विभिन्न २२ स्थानमा रोकेर श्रद्धालुहरुलाई रथ यात्राको दर्शन गराउने व्यवस्था मिलाइएको उनले बताए । रथयात्रामा युवायुवतीको सहभागिता धेरै थियो । यसैबीच, दुई वर्षपछि भएको राधाकृष्ण रथयात्राका सहभागी भक्तजन र रथ यात्राका सहभागीहरुलाई हेल्पिङ हृयाण्डस् राधे राधे समूहले ३२ क्विन्टल उखुको जुस र २ सय लिटर दुधको खिर बनाएर खुवाएको कार्कीले बताए ।


प्रकाशित : भाद्र ४, २०७९ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्