कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोरखा संग्रहालयमा भेटिन्छन् 'पृथ्वीनारायण', फोटो खिचेको पैसा लाग्ने

संग्रहालयमा दिनभर बस्ने 'दुरुस्त पृथ्वीनारायण शाह'ले अब पृथ्वीनारायण शाहका दिव्योपदेश पनि घोकेर कण्ठस्थ पार्ने छन् ।
हरिराम उप्रेती

गोरखा — कालो दौरा-सुरुवाल, कम्मरमा खुकुरी र ढाल, टाउकोमा श्रीपेचसहित पृथ्वीनारायण शाहको पहिरनमा सजिएर गोरखा नगरपालिका–६ का ओमबहादुर श्रेष्ठ अब दिनहुँ संग्रहालय परिसरमा भेटिने भएका छन् । संग्रहालय पुगेका आगन्तुकले शाहको दुरुस्त वेषमा सजिएका श्रेष्ठसँग साक्षत्कार गर्दै तस्बिर पनि लिन सक्नेछन् । ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिले श्रेष्ठलाई गोरखा संग्रहालयमा राख्ने व्यवस्थापन मिलाएको हो ।

‘प्रतिबिम्बमा श्री ५ पृथ्वीनारायण शाह’को बुधबारबाट आरम्भ भएसँगै अब संग्रहालय पुग्ने आगन्तुकले श्रेष्ठसँग तस्बिर र सेल्फी खिच्न पाउने छन् । पृथ्वीनारायण शाहको वेषमा दुरुस्त बनेर सजिएका श्रेष्ठ सँग तस्बिर लिँदा भने शुल्क तिर्नुपर्ने हुन्छ । समितिले विद्यार्थी र स्थानीयलाई २० रुपैयाँ, पर्यटकलाई ५० रुपैयाँ साथै सामूहिक तस्बिर लिएको १०० रुपैयाँ शुल्क तोकेको छ ।संग्रहालयलाई पर्यटकको आकर्षक गन्तव्य बनाउन शाहको प्रतिबिम्बले सघाउने समितिका सल्लाहकार तथा स्थानीय राजुबाबु श्रेष्ठले बताए । ‘यसलाई हामी सबैले अपनत्व लिनुपर्छ, पर्यटकलाई आकर्षित गर्नका लागि यो कार्यको आरम्भ भएको हो,’ उनले भने । पर्यटक भुलाउन पनि सघाउ पुग्ने विश्वास लिइएको छ ।

अब श्रेष्ठलाई दिव्योपदेश घोकेर कण्ठस्थ पार्न लगाउने तयारी गरिएको पनि उनले बताए । पर्यटन प्रतिबिम्बलाई स्थानीयवासी र गोरखालीले अपनत्व लिनुपर्ने श्रेष्ठ बताउँछन् । इतिहासलाई जोडेर पर्यटन प्रवर्द्धनको सुरुआत भएको गोरखा नगरपालिकाका प्रमुख कृष्ण रानाले बताए । ‘इतिहाससँग जोडेर पर्यटन प्रवर्द्धनको अन्य गतिविधि पनि सञ्चालन गर्दैछौं,’ उनले भने ।


प्रकाशित : भाद्र १, २०७९ १४:५०
प्रतिक्रिया
पठाउनुहोस्