कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोखरामा ट्होटेंको रौनक [तस्बिरहरु]

दीपक परियार

पोखरा — गुरुङ समुदायको मौलिक पर्व ट्होटें मंगलबार पोखरामा मनाइएको छ । हरेक वर्ष साउन र चैतको अन्तिम मंगलबार यो पर्व मनाइन्छ । यो पर्वले नकारात्मक उर्जालाई हटाइ सकारात्मक उर्जा दिने काम गर्दछ भन्ने जनविश्वास रहीआएको छ । आफ्नो गाउँठाउँ, बस्तीमा भूतप्रेत, रोगव्याधी र अनिकाल हटाउन वर्षमा २ पल्ट यो पर्व मनाइन्छ ।

ट्होटेंकै अवसरमा मंगलबार तमुधिं नेपालले विशेष समारोह आयोजना गर्‍यो । तमुधिंकै अगुवाइमा तमु संघसंस्थाले विसं २०५२ देखि साउन र चैतको अन्तिम मंगलबार सामूहिक रूपमा धुमधामका साथ यो पर्व मनाउँदै आएका छन् । यसपल्टको महेन्द्रपुलमा पूजाआजा गरी उधौली ट्होटें खेल्दै नयाँबजारस्थित तमुधिंको केन्द्रीय कार्यालय परिसरमा पुगेको थियो । र्‍यालीमा विभिन्न हातहतियार, बाजा, झ्याली, चोपडी, सुलाची, चिम्तालगायत ऐतिहासिक सामग्री प्रदर्शनसमेत गरिएको थियो । समारोहलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गरेकी थिइन् । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, सभामुख नेत्रनाथ अधिकारीलगायतले पनि ट्होटेंमा सहभागी भए । समारोहमा गुरुङ समुदायको मौलिक संस्कृतिहरु ट्होटें, घाँटु, सोरठी, झोरा, चुट्का, कृष्ण चरित्र प्रदर्शन गरिएको थियो । ट्होटेंमा कास्कीका ५० भन्दा बढी तमु समाजमा आबद्ध हजारौं तमुहरु सहभागी थिए ।

भूतप्रेत भागोस् र रोगव्याधी नलागोस् भन्ने विश्वाससहित गुरुङ समुदायले ट्होटें पर्व मनाउँदै आएका थिए । पछिल्लो समय विकृति, विसंगतिको विरोध गर्दै आफ्नो पहिचान स्थापित गर्न यो पर्व मनाउन थालिएको छ । ‘ट्होको अर्थ राज्य, गाउँ, बस्ती र टें को अर्थ बैरी, विकृति, विसंगति, अन्याय, अत्याचर र विभेद धपाउने भन्ने बुझिन्छ । यो पर्व गण्डकी प्रदेशमा छरिएर रहेका गुरुङ समुदायले भव्यरुपमा मनाउने गर्छन् ।

काठमाडौं, चितवन, बुटवललगायत ठूला सहरमा बसोबास गर्ने गुरुङ समुदायले पनि ट्होटें मनाउँदै आएका छन् । ट्होटें पर्व मनाउन मंगलबार कास्कीका पोखरा महानगरपालिका र अन्नपूर्ण गाउँपालिकाले शिक्षण संस्थामा बिदा दिएका थिए ।


प्रकाशित : श्रावण ३१, २०७९ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्

नीलबाराही नाच : जहाँ नाच्नेहरू चार दिनसम्म खाँदैनन्, बोल्दैनन्

दिपेन्द्र रोक्का

भक्तपुर — भक्तपुरको मध्यपुर थिमिस्थित बोडेमा प्रत्येक वर्ष मनाइने 'नीलबाराही नाच' मंगलबार समापन हुँदैछ । यस नाचलाई नेपाल भाषामा नीलबाराही प्याखँ भनिन्छ ।

नीलबाराही नाच विशेषगरी १९ जना 'देवी देउताहरू'को मुकुन्डो लगाएर नाचिने पौराणिक नाच हो । यस नाचमा भैरव, बाराही, कुमारी, सिंह, द्वारपाल र गणेशको मुकुन्डो लगाइन्छ । यो नाच ४ दिन र ३ रातसम्म चल्छ । बोडेवासीहरूका अनुसार यो कठोर र पवित्र नाच पनि हो । जसमा 'देवी देउताहरू'को मुकुन्डो र पहिरन लगाउनेले खाना पनि नखाइकन ४ दिनसम्म नाच्ने गर्छन् । यतिसम्म कि नाच नसकुन्जेल उनीहरूका परिवारजनले पनि केही खाँदैनन् । साथै उनीहरू ४ दिनसम्म केही बोल्दैनन् । बरु सहयोगीलाई हातले इशारा मात्रै गर्छन् । नाचेर थकित भएमा सहयोगीको घुँडा वा काखमा आराम गर्छन् । स्थानीयवासीहरूले एक दिन दक्षिणा दिएर देउताहरूको पूजा गर्नुपर्ने हुन्छ । यस वर्ष नाचमा ८५ जना सहभागी रहेको स्थानीय श्रीकृष्ण खम्बु श्रेष्ठले बताए । यस नाचमा मादल, ता:, प्वङ्गगा, भुस्याय लगायत बाजाहरू प्रयोग गरिन्छ । नाच लाछीटोल, लायकु, विष्णुघाट, महालक्ष्मीस्थान, नीलबाराहीस्थानमा देखाइन्छ ।

प्रकाशित : श्रावण ३१, २०७९ १८:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×