कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अनि निष्प्राण बन्यो पीपल

तस्बिर : अंगद ढकाल

काठमाडौँ — चराहरू कावा खाँदै आउँथे र हाँगा–हाँगामा बस्थे । छेउछाउका स्थानीय शीतलमा बस्न यही पीपलको छहारीमा आइपुग्थे । तीन वर्षअघिसम्म मध्यपुर थिमि कमेरोटारमा ठिंग उभिएको पीपलको रूखले सक्दो अक्सिजन दिइरहेकै थियो । तर, सहरीकरणले यो रूख निष्प्राण भइसकेको छ । रूखलाई कंक्रिटमा कैद गर्न खोज्दा यहाँको सौन्दर्य उजाडिएको छ ।

सामाजिक सञ्जालमा समेत यो ठाउँ ‘वान ट्री हिल’ का नामले चिनिन्थ्यो । काठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय भक्तपुर र मध्यपुर थिमि नगरपालिकाअन्तर्गत कमेरोटार जग्गा एकीकरण आयोजनाले अवैज्ञानिक कंक्रिट निर्माण गरेपछि पीपलको रूख नै सुकेको हो । ‘भिरालो थुम्कोमा अवैज्ञानिक र अव्यावहारिक संरचना निर्माण गर्दा यस्तो अवस्था आयो,’ स्थानीय राजकृष्ण श्रेष्ठले भने, ‘पानी सोस्न नपाएर पीपल मर्‍यो ।’

स्थानीयका अनुसार करिब डेढ वर्षअघि पीपल सुकेको हो । आयोजनाले यो ठाउँलाई खुला, हरियाली क्षेत्र व्यवस्थापनअन्तर्गत वृक्षरोपणस्थल तोकेको छ । दुई वर्षमा सक्ने गरी प्राधिकरणले २०५८/०५९ बाट आयोजनाको काम सुरु गरे पनि पूरा हुन सकेको छैन । नगरपालिकाका अनुसार १ हजार ४८६ रोपनी क्षेत्रमा सञ्चालित आयोजनामा ७५ प्रतिशत स्थायी लालपुर्जा वितरण गरिएको छ भने करिब ८३ प्रतिशत सेल्स प्लट सकिएको छ ।


प्रकाशित : श्रावण २७, २०७९ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्