कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एक्स्काभेटरको बकेटमा राखेर सुत्केरीको उद्धार

अनिश तिवारी

सिन्धुपाल्चोक — अघिल्लो रातिदेखि नै परेको वर्षाका कारण शुक्रबार अबेरसम्म अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे बजारको साँधीखोल्सा उर्लिएर सडकसहित केही घर पनि ध्वस्त बनायो ।

यहाँ माथिल्लो भेगबाट भास्सिरहेको पहिरो मिसिएको साँधीखोल्साको बाढीले खुर्सानीबारी र बाह्रबिसे बजारलाई सम्पर्क टुटाएपछि स्थानीय र यात्रुहरू सडकछेउमा नै रोकिएका थिए । वरपर अलपत्र परेका त्रसित स्थानीय र रोकिएका सवारीका लस्कर, बीचमा उर्लँदो खोला तल भोटेकोसी । त्यसैबेला हतारमै बाह्रबिसे नगरले एक्स्काभेटर प्रयोग गरेर धमाधम अस्थायी सडक बनाउन थाल्यो ।

त्यसबेला पारि एउटा एम्बुलेन्स देखिन्थ्यो । उक्त एम्बुलेन्सभित्र आफ्नो शिशुसहित थुनिएकी थिइन् २३ दिने सुत्केरी समीक्षा तामाङ । बाह्रबिसे नगर ५ की २८ वर्षीया समीक्षमा जन्डिसले सिकिस्त बिरामी छोरालाई काभ्रेको धुलिखेल अस्पताल पुर्‍याउन आतुर थिइन् । साथै उनी स्वयं पनि स्वासप्रश्वास समस्याले तनाबमा थिइन् ।

तर बाढीले सडक अवरुद्ध भएपछि उनीसँग कुनै उपाय भएन । यतिन्जेलसम्म यहाँ स्थानीयहरूको घुइँचो लागिसकेको थियो । कोही बाटो अवरुद्ध भएर आत्तिँदै थिए । कोही रमिता हेरिरहेका थिए ।

यस्तैमा अचानक जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ एक्स्काभेटरको छेउमा आइपुगेर केही इसारा गरे । त्यहीबीच बाह्रबिसे नगरका मेयर बालकृष्ण बस्नेतको गाडी अवरुद्ध सडकको पारिपट्टि रोकिएको मेयर बस्नेतले नै भने । तर खोला पार गर्न मुस्किल थियो । मेयर बस्नेतले नै सुत्केरी तामाङलाई भने ,‘सडक बन्न अझै दुई घण्टा लाग्छ, उता पारि नगरकै सवारी कुरिरहेको छ आउनुहोस् ।’

तब सुत्केरी र उनीसँगै आएका आफन्तहरू हतारहतार निस्किएर झोला समाउन थाले । फेरि उपाय निकालियो, एक्स्काभेटरको बकेटबाट सुत्केरीको उद्धार गर्ने । मेयर बस्नेतले एक्स्काभेटर चालकलाई बोलाएर सुत्केरीको परिवारलाई बकेटमा राख्न लगाए र आफू पनि त्यसैमा चढे ।

यसरी एक्स्काभेटरको बकेटबाट शिशुसहित सुत्केरीको उद्धार भएको देखेर स्थानीयहरू दंग थिए । यस्तो हेर्न यहाँ ठूलो भीड नै लागेको थियो । सुत्केरी तामाङ भने असम्भव जस्तै अवस्थाबाट उद्धार भएकोमा अचम्मित हुँदै खुसी भइन् ।

‘बिहानदेखि यहाँ आएर कुरेको झण्डै ६ घण्टा भयो, कसैले हाम्रो पीडा देखेको थिएन । उहाँले देख्नुभएछ, मन साह्रै खुसी भयो, ’ सुत्केरी तामाङले भनिन् । मेयर बस्नेतले भने उपचारका क्रममा अन्य समस्या परेमा आफूलाई खबर गर्न भन्दै सुत्केरीको परिवारलाई सुरक्षित रुपमा अस्पतालसम्म पठाइदिए ।

वर्षा र पहिरोका कारण बाह्रबिसे नगरको वडा नं ९ का विभिन्न स्थानमा ग्रामीण सडक ठप्प भएका छन् । सडक अवरुद्ध हुँदा आवतजावत गरिरहेका वृद्धवृद्धा, बालबालिका र बिरामीहरू बढी प्रभावित बनेका छन् ।

गम्भीर प्रकृतिका बिरामीलाई अस्पताल लैजान समस्या देखिएपछि शुक्रबार नगरबाट दुई वटा एक्स्काभेटर प्रयोगमा ल्याइएको पनि मेयर बस्नेतले बताए ।

प्रकाशित : श्रावण २०, २०७९ १८:५१

प्रतिक्रिया
पठाउनुहोस्