यसरी मनाइयो भक्तपुरमा घण्टाकर्ण पर्व [तस्बिरहरु]

तस्बिर: अंगद ढकाल, संजोग मानन्धर

भक्तपुर — भक्तपुरको दत्तात्रय मन्दिर परिसरमा गठेमंगल नाम गरेको राक्षसको पुत्ला दहन गरेर घण्टाकर्ण पर्व मनाइएको छ । यो पर्व साउन कृष्ण चतुर्दशीका दिन उपत्यकाभरि मनाइन्छ । घण्टाकर्ण चतुर्दशीलाई गथामुंगः च:हे भनेर चिनिन्छ। साउन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्व परापूर्वकालदेखि नेवार समुदायले मनाउँदै आएका छन् । गोपाल वंश अनि लिच्छवि वंशदेखि यो पर्व मनाइँदै आइएको हो ।

यो पर्व गठेमंगल नाम गरेको राक्षस मारिएको खुसियालीमा हरियो नर्कट, निगालो, गहुँको छ्वाली मिसाएर घण्टाकर्णको स्वरुप बनाइ दोबाटो र चौबाटोमा उभ्याउने चलन छ । अन्त्यमा घण्टाकर्णको प्रतिमालाई आगोले जलाइन्छ या खोलामा लगेर बगाइन्छ । मानिसहरु बिहान स्नान पूजापाठ गरी घर, आँगन सफा गर्छन्, केटाकेटीहरू बाटोमा डोरी टाँगेर पैसा माग्छन् । यस दिनमा नराम्रा तत्त्व र दुर्भाग्यबाट गठेमंगलको औंठीले सुरक्षा दिने जनविश्वासका कारण धातुको औंठी लगाउने चलन पनि छ ।

यसदिन बालबालिकाहरुले घण्टकर्णको प्रतिमा बनाइ बटुवाहरुसँग दान लिन्छन्, दिन नमानेका बटुवाहरुलाई घण्टाकर्णको नाति भनेर जिस्काउँछन् । गठेमंगल नामको राक्षस मारेपछि भूतप्रेतले पिछा छोड्ने जनविश्वास छ ।


प्रकाशित : श्रावण १०, २०७९ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्