कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पन्ध्र असारको हिलोमा रमाउँदै पर्यटक

दीपक परियार

पोखरा — झण्डै १० रोपनी खेत खनजोत गरेर धान रोप्न ठिक्क पारिएको छ । खेतको वरपर आँठोमाथि भीड छ । कोही पञ्चेबाजामा नाचिरहेका छन् । केही रोपाहारहरू असारे गीत गाइरहेका छन् । अर्को गरामा विदेशी पर्यटक एकअर्कालाई हिलो छ्यापाछ्याप गरेर रमाइलो मानिरहेका छन् । मध्य असारको हिलोमा बेपर्वाह रमाइरहेका छन् उनीहरू।

राष्ट्रिय धान दिवसको अवसरमा पोखरा पर्यटन परिषद्ले हरेक वर्ष आयोजना गर्ने रोपाइँ महोत्सव यस वर्ष पोखरा–२५ हेमजाको माइस्थान फाँटमा गर्‍यो । ‘पोखरा सबै मौसमका लागि’ भन्ने नाराका साथ १७ औं असारे रोपाइँ महोत्सव तथा दोस्रो राष्ट्रिय हेमजा हिले महोत्सव बुधबार भएको हो । महोत्सवमा विदेशी पर्यटकको उत्साहजनक उपस्थिति थियो ।

महोत्सवमा हिलो खेलेर स्वदेशी र विदेशी पर्यटकहरू रमाए । हल गोरु दौडाउने प्रतियोगिता, साउने असारे गीत गाउँदै धान रोप्ने प्रतियोगिता, हिलोमा माछा समात्ने प्रतियोगिता, पर्यटक दौड, रस्सी तान्ने प्रतियोगिता महोत्सवको आकर्षण बने । हिलो दौड प्रतियोगितामा विदेशी पुरुष एवं महिलाहरू पनि सहभागी भएका थिए । परिषद्‍का अध्यक्ष गोपीबहादुर भट्टराईले कृषि पर्यटनमार्फत् पोखराको प्रवर्द्धन गर्नु महोत्सवको मुख्य उद्देश्य भएको बताए । महोत्सवले खेतीयोग्य जमिनको संरक्षण, कृषिलाई व्यवसायीकरण गर्दै कृषकलाई आफ्नो पेसाप्रति अभिप्रेरित गर्न सहयोग पुर्‍याउने उनले जनाए ।

यस अवसरमा हेमजाका उत्कृष्ट कृषकलाई परिषद्‍ले सम्मानसमेत गरेको छ । स्थानीय रामबहादुर कुंवर, तुलसी पौडेल, अग्निधर पौडेल, डिल्लिराम नेपाली, कृष्णबहादुर कुंवर, मैना केसी र प्रकाश पौडेलको १० रोपनी खेतमा महोत्सव गरिएको थियो ।


प्रकाशित : असार १५, २०७९ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्