कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निकुञ्जमा घडियालका बच्चाको बथान

मनोज पौडेल

बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जस्थित गोही प्रजनन् केन्द्रमा तीन साताअघि जन्मिएका घडियाल (गोही)का ५० वटा बच्चा दिनभर पोखरीमा सुस्ताइरहेका हुन्छन् । संसारमै दुर्लभ मानिने घडियालका यी बच्चाको बथानले पोखरीकै सौन्दर्य बढाउँछ । राष्ट्रिय निकुञ्जको प्रजनन केन्द्रमा पुग्दा कतिपय बच्चा पोखरीमा खेलिरहेका र केही आहारा खान सिक्दै गरेका देखिन्छन् ।

केही बच्चा पोखरीको डिलमा सुस्ताइरहेका हुन्छन् । पोखरीमा माउभन्दा बच्चा धेरै छन् । पोखरीमा ठूला घडियाल मात्रै ४२ वटा छन् । ०७३ सालपछि सबैभन्दा धेरै बच्चा यस वर्ष जन्मिएको बर्दिया राष्ट्रिय निकुञ्जका वार्डेन विष्णु श्रेष्ठले बताए । घडियालकै लागि दुई जना प्राविधिक खटिएर उनीहरूको रेखदेख गरिरहेका छन् । घडियालका बच्चा हुर्किने दर भने अति न्यून छ । वार्डेन श्रेष्ठका अनुसार घडियालका बच्चाको हुर्किने दर एक/दुई प्रतिशत मात्रै हुन्छ । यसैले पनि यी बच्चाको कडा निगरानी आवश्यक पर्ने वार्डेन श्रेष्ठ बताउँछन् ।

ओथारो बसेर ७५ दिनदेखि अधिकतम एक सय दिनमा गोहीले बच्चा कोरल्ने गर्छ । विज्ञहरूका अनुसार घडियाल गोही नेपाल र भारतमा मात्रै पाइन्छ । वन्यजन्तु ऐन अनुसार संरक्षित सूचीमा रहेको घडियाल ७० देखि ८० वर्षसम्म बँच्छ ।


प्रकाशित : असार ११, २०७९ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्