कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माउ घडियालको ढाडै ढाकेर बसेका बच्चाहरू

रमेशकुमार पौडेल

चितवन — लोप हुने खतरामा पुगेको दुर्लभ जीव हो घडियाल गोही । पानी र जमिन दुवैमा बस्न सक्ने यो जीवले प्रायः घाम ताप्न र अन्डा पार्नका लागि पानी बाहिर निस्केर बालुवामा गुँड बनाउँछ । खाल्डो खनेर अन्डा पारेपछि पुरेर राख्छ तर माउले नियमित निगरानी गरिरहन्छ । बच्चा निस्केपछि पनि दुईदेखि आठ हप्ता आफूसँगै राख्छ । यो बच्चाहरूको हुल सौराहा खोरसोरदेखि दक्षिण दुधौरा राप्ती किनारको हो ।

दुधौरामा चार-पाँच वर्षयता घडियालले प्रशस्तै गुँड बनाउने र बच्चा कोरल्न थालेको छ । घडियाल गोहीको विषयमा अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधी (पीएचडी) गर्दै गरेकी बेलायतकी विद्यार्थी फिबी ग्रिफिथ यो गुँड भएको ठाउँमा प्रायःजसो पुग्छिन् । अहिले यहाँ घडियालका ११० बच्चा छन् तर यी एउटै गुँड र माउका भने होइनन् । माउमध्ये जो अलि बलियो र आक्रामक छ, बच्चाहरूको नियमित रेखदेख गर्ने जिम्मा उसैको हुन्छ ।

‘चरा, ठूला माछा, मगर गोहीले घडियालका साना बच्चा खाने गर्दछन्; त्यसैले अलि राम्रोसँग हेर्न; बच्चालाई उनीहरूको आहारा हुनबाट जोगाउन बलियो, छरितो, फुर्तिलो र आक्रामक माउ चाहिन्छ; त्यस्तो काम एउटाले गर्दछ । वरपर अरु एक दुई माउ पनि रहन्छन्‚’ फिबिले भनिन् । तर‚ सानै छँदा बाढी आएर बगाए जोगाउन गाह्रो हुन्छ ।

नेपालमा ८० भन्दा पनि कम घडियाल भएका कारण यसको संरक्षण गर्न वि.सं. २०३५ सालमा चितवन राष्ट्रिय निकुञ्जको कसरा नजिक घेडियाल गोही संरक्षण तथा प्रजनन केन्द्र खुलेको थियो । प्राकृतिक बासस्थलमा गोहीले गुँड लगाएर पारेको अन्डा संकलन गरेर केन्द्रमा ल्याइन्थ्यो । केन्द्रमा प्राविधिकहरूको रेखदेखमा कोरलेको अन्डाबाट निस्केका बच्चाहरू हुर्किएपछि नेपालका विभिन्न नदी र खोलाहरूमा लगेर छाडिन्छ ।

हालसम्म १६ सय ९२ वटा गोही केन्द्रबाट विभिन्न नदी र खोलामा लगेर छाडेको घडियाल कोही प्रजनन केन्द्रका प्रमुख रहेका सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए । तर‚ ६ वर्षअघि भएको देशव्यापी सर्वेक्षणमा नेपालभर १९८ वटा मात्रै घडियाल फेला परेका थिए । त्यसैले प्राकृतिक बासस्थलमा गोही जोगिन निकै गाह्रो छ । दुधौराको जस्तो गुँड २०/२२ ठाउँमा छन् । वर्षमा कम्तीमा दुई सय बच्चा प्राकृतिक गुँडबाटै निस्कन्छन् ।

तर‚ यीमध्ये एक प्रतिशत र बढीमा १० प्रतिशत मात्रै जोगिएको हुन सक्ने गोही विज्ञहरू बताउँछन् । ‘भेलमा बग्दैमा पनि मरि त हाल्दैनन् तर माउको रेखदेखबाट छुटेका बच्चाहरू अरुको आहारा बन्ने गर्दछन्‚’ गोही प्रजनन केन्द्रका पूर्वप्रमुख वेदबहादुर खड्काले बताए । घडियाल गोही सफा पानीमा मात्रै बस्छ । प्रदूषणका कारण यसको बासस्थलमा असर परेको छ । घडियाल जोगिनु वातावरण ठिक भएको संकेत हो भन्छन् खड्का ।


प्रकाशित : असार ८, २०७९ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्

भारतमा एक दशकमा १८६ हात्ती मारिए

असम, पश्चिम बंगाल र उत्तराखण्डमा रेलको ठक्करबाट सबैभन्दा धेरै हात्तीको मृत्यु
पर्वत पोर्तेल

सिलिगुडी — यो एक दशकमा रेलको ठक्करबाट भारतमा १ सय ८६ वटा हात्तीको मृत्यु भएको छ । पूर्वोत्तर भारतको असम, पश्चिम बंगाल र उत्तराखण्डमा सबभन्दा धेरै हात्ती रेलको ठक्करबाट मारिएको भारतको केन्द्रीय वातावरण मन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यम द हिन्दुले जनाएको छ । 

रेल दुर्घटना न्यूनीकरणका लागि भारतको केन्द्रीय वातावरण र रेल मन्त्रालयले नयाँ योजनाको तयारी गरिरहेको छ । असम, पश्चिम बंगाल र उत्तराखण्डका राज्य सरकारहरू पनि यसबारे गम्भीर बन्दै दुर्घटना कम गर्ने दिगो उपायको खोजीमा छन् ।

भारतीय वन्यजन्तु संस्थानले पर्यावरण मन्त्रालय र भारतीय रेल्वेका अधिकारीहरूसँग प्रारम्भिक चरणको छलफल गरिसकेका छन् । वन्यजन्तु संस्थानका वैज्ञानिक र परियोजनाका एक नेता बिलाल हबिबले भने, ‘दुर्घटना कम गर्ने खाकासहितको मस्यौदा कागजात अर्को महिना तयार हुनेछ ।’ वन्यजन्तु संस्थानले गरेको प्रारम्भिक अध्ययनअनुसार असम, पश्चिम बंगाल र उत्तराखण्ड सबैभन्दा धेरै हात्ती संख्या भएका राज्यहरू हुन् । ‘तर, अहिले यी राज्यहरू सबैभन्दा बढी मृत्यु हुने राज्यहरू बन्दै जानु दुर्भाग्य हो,’ हबिबले भने ।

रेल लिकका ढलानहरू हात्तीहरूका लागि कठिन क्षेत्र मानिन्छन् । जब जनावरहरूले रेलको लिक पार गर्ने प्रयास गर्छन्, तब लिकमा खड्किएर पासोमा परेझैं हुन्छन् । पासोबाट उम्किन नसक्दा तीव्र गतिमा आएको रेलले ठक्कर दिने गरेको छ । जसकारण हात्ती घटनास्थलमै मारिने गरेका धेरै उदाहरण भारतमा छ । हात्ती ६ वटा औंला भएको एक मात्र स्तनधारी प्राणी हो । हात्तीलाई लिक पार गरेपछि ओर्लन धेरै समय लाग्ने गर्छ । जसका कारण रेलले ठक्कर दिने जोखिम बढेको विज्ञहरूको भनाइ छ ।

सन् २०१३ मा भारत पश्चिम बंगालको नगरकट्टा क्षेत्रमा रेलको ठक्करबाट ७ वटा हात्ती मारिएका थिए । असमको गुवाहाटीतिर आएको तीव्र गतिको रेलले ठक्कर दिँदा ती हात्ती मारिएका थिए । त्यसअघि सन् २००४ मा डुवर्समै रेलको ठक्करबाट ४० हात्ती मारिएका थिए ।

‘वर्षमा एक या दुई हात्ती त रेल ठक्करबाट मारिएकै हुन्छन्,’ भारत पश्चिम बंगालका एक वन अधिकारीले भने । रेलको ठक्करबाट हात्ती धमाधम मारिन थालेपछि भारतको लोकसभामा सम्बद्ध राज्यहरूका सांसदहरूले प्रश्न उठाएका थिए । संसद्मा उठेका प्रश्नहरूको जवाफमा सरकारले सम्भावित जोखिम क्षेत्रहरूको पहिचान गरी बार लगाउने, हात्ती करिडोरका बारेमा चेतावनी दिन संकेत बोर्ड राख्ने, रेल चालक दल र स्टेसन मास्टरहरूलाई संवेदनशील बनाउने जस्ता उपायहरू सुझाएको थियो ।

प्रकाशित : असार ८, २०७९ १०:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×