कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

तस्बिर : दीपक केसी

काठमाडौँ — अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा मंगलबार भद्रकालीस्थित सैनिक मुख्यालयमा विशेष कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, शिक्षामन्त्री देवेन्द्र पौडेल, सहरी विकासमन्त्री रामकुमारी झाँक्री लगायतको सहभागिता थियो । कार्यक्रममा सर्वसाधारणहरुको पनि उल्लेखनीय सहभागिता थियो । हरेक वर्ष जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ ।


प्रकाशित : असार ७, २०७९ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्

साङ्लोमा घरभित्रै कैद

उपचार अभावमा विपन्न परिवारका मानसिक रोगीहरु नारकीय जीवन बिताउँदै
प्रदेश ब्युरो

काठमाडौँ — पर्वतको कुश्मा–९ कटुवाचौपारीकी देवी सुवेदीका आँखामा गहिरो पीडा देखिन्छ । लामो समयदेखि भारतमा रहेको र खासै सम्पर्कमा नआउने श्रीमान्को बानीले भन्दा मानसिक स्वास्थ्य समस्यासँग जुधिरहेकी १७ वर्षीया छोरी विमलाको पीरले उनलाई सताएको छ । हिंस्रक व्यहार देखाउने भएकाले विमलालाई खुट्टामा बाँधेर राखिएको छ । 

२०६३ मा विमला जन्मँदा सकुशल थिइन् । उमेर बढ्दै जाँदा उनले अनौठो क्रियाकलाप देखाउन थालिन् । ‘सुरुमा ठीकै थिई,’ हजुरआमा सुमित्राले भनिन्, ‘पछि बिस्तारै बिरामी पर्दै गई । धेरै ठाउँमा लगियो तर उपचार भएन ।’ आठ वर्षको उमेरदेखि अनौठो क्रियाकलाप देखाउन थालेकी विमलाले बिस्तारै आफ्नै शरीर टोक्ने, चिथोर्ने, भेटेका सरसामान छरपस्ट पार्ने, बेसुरले दौडिने गर्न थालिन् । आफैंलाई घाउचोट पार्ने व्यवहार देखाउन थालेपछि उनको हात र खुट्टा बाँधेर राख्नुको विकल्प नभएको परिवारका सदस्य बताउँछन् । ठूली छोरी बालिकाले खुलै छोड्दा बैनीले गाउँका जोकसैलाई आक्रमण गर्ने सक्ने डर भएकाले दुवै हात पछाडि लगेर बाँध्नुपर्ने भएको बताइन् । उनले भनिन्, ‘कानले त सुन्छिन् तर, कसले के बोलिरहेको छ बुझ्दिनन् ।’ विमलाले अपांगता भएकाहरूले सरकारबाट पाउने भत्ता पाउँछिन् । तर उपचारमा लाग्ने खर्च त्यसले नधान्ने बालिकाले बताइन् । भनिन्, ‘बैनीले खाएका सबै औषधिका खोल संकलन गरेर बोरामा राखिएको छ । मान्छेको तौलभन्दा धेरै औषधि खाए पनि उसको बिमार बीसको उन्नाइस भएको छैन ।’

विमलाको जस्तै अवस्था छ, कुश्मा–१२ ठूलीपोखरीका अमृत पौडेलको । उनलाई परिवारका सदस्यले दाम्लोले बाँधेर राख्न थालेको २२ वर्ष भइसक्यो । आमा सुमित्राले सानो उमेरदेखि नै शारीरिक रूपमा अशक्त अमृतले १० वर्षको उमेरदेखि असामान्य गतिविधि देखाउन थालेपछि दाम्लोले बाँध्नुपरेको बताइन् । ‘कतै लगेर उपचार गरे ठीक हुन्छ भन्ने सुनेको हो,’ उनले भनिन्, ‘कहाँ लगेर केका खर्चले उपचार गर्नु ?’ निम्न आर्थिक हैसियतको परिवार भएकाले सुमित्राले छोराको स्वास्थ्य सुधार्न सकेकी छैनन् । अमृतले १५ वर्षअघि पूर्ण अपांगताको परिचयपत्र पाएका छन् । बाबु देवेन्द्रले छोराले कति बेला दिसापिसाब गर्छ भन्ने पनि पत्तो नहुने बताए । उनले भने, ‘यसकै कारणले कतै मेलापात र मजदुरी गर्नसमेत जान पाउँदिनँ ।

मानसिक अवस्था सन्तुलित नहुँदा घरमा बाँधेर राखिएकाहरूमा अमृत र विमला प्रतिनिधि पात्र हुन् । यस्तो समस्या धेरै घरमा छ । मानसिक समस्या भएका छोराछोरीको उपचार गर्न नसकेका अभिभावकहरूले घरमै दाम्लोले बाँध्नेदेखि खोरमा थुन्ने आदि गर्दै आएको पाइएका छन् ।

ताप्लेजुङ फक्ताङलुङ–४ इखावुका १९ वर्षीय सरोज काम्बाङ लिम्बू घरमा साङ्लोले बाँधिएको अवस्थामा देख्दा जोकोही छक्कै पर्छन् । दिदी रीता लिम्बूका अनुसार नबाँधी छाड्दा मान्छेलाई आक्रमण गर्ला वा भीरपहरामा पुगेर लड्ला कि भन्ने डर छ । दुई वर्षअघि एसईई परीक्षालगत्तै सरोजमा मानसिक समस्या देखिन थाल्यो । परिवारले उनको उपचारमा प्रयत्न नगरेको होइन । आमाको गहना र बाबुको परिश्रमले भ्याउन्जेलसम्म उनीहरूले कहिले झापाको बी एन्ड सी त कहिले भारतको सिलिगुडीसम्म लगेर उपचार गराए । उपचारको यही दौडधुपमा उनीहरूले पाँच लाख रुपैयाँ सके । बीचको केही समय सरोज ठीक भएजस्तो पनि देखिएका थिए । तर फेरि उस्तै समस्या दोहोरियो । उनका बाबु फिपराजले सुनाए, ‘बिराम दोहोरियो अनि वैशाखदेखि खुट्टामा साङ्लोले बाँधेर राख्न थाल्यौं ।’ उनका अनुसार सरोज बेलाबेला मात्रै चेतका कुरा गर्छन् । बेहोसी उनी आफ्नै सुरमा गीत गाउॅछन्, दिसा–पिसाब कहाँ गर्ने भन्ने हेक्का राख्न सक्दैनन् ।

पाँचथरको तुम्बेवा–४ वलनेकी २९ वर्षीया राधा राई १२ वर्षदेखि कोठामा थुनिएकी छन । रुने, कराउने चिच्याउनेदेखि आफैंले लगाएका कपडा च्यात्ने गर्न थालेपछि सम्हाल्न नसकेर परिवारले थुनेर राखेका हुन् । लामो समयसम्म कोठाबाट बाहिर हिँडडुल गर्न नपाउँदा गोडा कुँजिएका छन् । ज्यान दुब्लो छ ।

नयाँ मान्छे भेटे कुट्ने र पिट्ने गर्न थालेपछि थुन्नुपरेको भाउजू लीला राईले बताइन् । राधालाई वर्षौंदेखि आमाले नै स्याहार्दै आएकी थिइन् । क्यान्सरपीडित उनको गत पुस १ मा मृत्यु भयो । त्यसपछि जिम्मा भाउजू लीलाको काँधमा छ । कमजोर आर्थिक अवस्थाकै कारण राधाको उपचार गराउन नसकिएको परिवारले जनाएको छ । राधाका लागि दिसापिसाब गर्न कोठाभित्रै चर्पी बनाइएको छ । सफा नभएकाले कोठामा दुर्गन्ध छ ।

लीलाको परिवारमा जस्तै समस्या छ, इलामको माई–७ कपरसुकाका गिरी परिवारमा पनि । ३५ वर्षीय राजेन्द्र गिरी १० वर्षअघिदेखि मानसिक बिरामी छन् । परिवारका सदस्यलाई आक्रमण गर्ने जस्ता हिंस्रक व्यवहार उनमा देखिन थाल्यो । केही महिनाअघि राजेन्द्रले भाइ रमेशको देब्रे हातको कान्छी औंला टोकेर चुँडाइदिएपछि उनीहरू आत्तिए । जेनतेन खर्च जुटाएर उपचारका लागि बिर्तामोडस्थित पुनर्जन्म सुधारगृह पुर्‍याए । ‘सुधारगृहमा राख्दा केही सहज त भएको छ तर खर्च थेग्नै नसक्ने अवस्थामा छौं,’ भाइ रमेशले भने, ‘मासिक १५ हजार रुपैयाँ बुझाउनुपर्छ ।’

परिवारका अनुसार राजेन्द्रको उपचारमा १२ लाख रुपैयाँभन्दा बढी खर्च भइसक्यो । सुरुमा धेरै बोल्ने, घरका सामान तोडफोड गर्ने जस्ता लक्षण देखिएका गिरी अहिले भने कम बोल्छन् । तर, उनलाई बिरामले च्यापेपछि भने भाग्ने, तोडफोड गर्ने, भेटेकालाई आक्रमण गर्ने जस्ता गतिविधि बढ्छ । त्यस्तो बेला उनीहरूले राजेन्द्रलाई साङ्लोले बाँधेर राख्छन् । यसअघि परिवारले ६ वर्षसम्म राजेन्द्रलाई बिर्तामोडकै लाइफलाइन सुधारगृहमा राखेका थिए । डेढ वर्षअघि ललितपुरको पाटन हस्पिटलमा लगेर पनि उपचार गरे । तर उपचारका सबै कदमबाट पनि उनको स्वास्थ्यमा उल्लेख्य सुधार भएन । राजेन्द्रमा मानसिक समस्या सुरु भएपछि उनकी श्रीमतीले पनि छोडिन् । उनका ८ वर्षका छोरा अहिले भाइ रमेशकै रेखदेखमा छन् ।

आफ्नो गच्छेअनुसार परिवारले मानसिक बिरामीको उपचार गराउँछन्, फलोअपमा लैजाँदैनन् । त्यसैले समस्या बल्झिएको पाइने बीपी प्रतिष्ठान धरानको मानसिक रोग विभागका डा. सञ्जीव शर्माले बताए । उनले भने, ‘समयमै सही उपचारको अभावमा पनि धेरैले दुःख पाएका छन् ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव तथा वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. रोशन पोखरेल भने सरकारले मानसिक समस्याका बिरामीको पनि उपचारको व्यवस्था गरेको बताउँछन् । उपचारका लागि जिल्ला अस्पताल र मेडिकल कलेजमा जानुपर्ने उनको भनाइ छ ।

जो जञ्जिरबाट बाहिरिए

दुई दशक फलामे जञ्जिरमै बाँधिएका झापा अर्जुनधारा–१ का रोशन ढुंगेललाई गत फागुन २५ नयाँ जीवन पाएजस्तो भयो । २ वर्षदेखि बिरामी उनको समयक्रममा मानसिक स्वास्थ्य बिग्रँदै गयो । अनि परिवारले कोठामा थुनेर राखेका थिए । बाबु दुर्गाप्रसादका अनुसार छोराको अवस्था नाजुक बन्दै गएपछि साङ्लोमा बाँधेर राख्नुपरेको थियो ।

उनी सामाजिक संस्था मेची अभियानको नजरमा परे । रोशनलाई धरानको बीपी प्रतिष्ठान पठाइयो । १५ दिनको उपचारपछि नै उनको स्वास्थ्यमा सुधार देखियो । नियमित औषधि सेवन गर्दै रोशन अहिले घरमै छन् । स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ । उपचारमा संलग्न डा. सञ्जीव शर्माका अनुसार उनलाई ब्रेन डेभलपमेन्ट प्रोब्लम भएको थियो । उनले भने, ‘यो रोग पूर्णरूपमा निको त हुँदैन । तर, नियमित औषधिको सेवनले असर कम गर्न सकिन्छ ।’

सामाजिक अभियन्ता कौशल भण्डारीको पहलमा फागुन १९ मा अर्जुनधारा–५ का ९ वर्षीय आकाश चौधरीलाई फलामे जञ्जिरबाट मुक्त गरी उपचारका लागि लगिएको थियो । रोशनकै जस्तो समस्यापछि यिनलाई परिवारले करिब २ वर्षदेखि बाँधेर बन्द कोठामा थुनेर राखेका थिए । ‘हामीले समयमै पत्ता लगाएपछि उद्धार भयो नत्र रोशनको झैं लामो समय साङ्लोमा बाँधिएर यिनको जिन्दगी बित्ने थियो’, उद्धारमा खटिएका भण्डारीले भने, ‘मानसिक समस्या बेहोरेर यसरी नै अमानवीय ढंगले थुनेर राखेका मान्छेहरूको खोजी गरी उद्धारको अभियान जारी छ ।’

अगन्धर तिवारी (पर्वत), आनन्द गौतम (ताप्लेजुङ), लक्ष्मी गौतम (पाँचथर), पर्वत पोर्तेल (झापा) र विप्लव भट्टराई (इलाम)


प्रकाशित : असार ७, २०७९ १०:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×