कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालुवाटारमा बलात्कारविरुद्ध प्रदर्शन

तस्बिर : इलिट जोशी

काठमाडौँ — आठ वर्षअघि भएको एउटा सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेसँगै बालुवाटारमा बलात्कारविरुद्धको प्रदर्शन भएको छ ।

सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी उनलाई आयोजकले होटलमा बोलाएर पहिलोपटक बलात्कार गरेको र त्यहाँ खिचेको फोटो र भिडियोले ‘ब्ल्याकमेल’ गर्दै निरन्तर ६ महिनासम्म यौन शोषण गरेको विषय सार्वजनिक भएसँगै बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि बलात्कारविरुद्ध प्रदर्शन भएको हो ।

प्रदर्शनकारीहरूले बलात्कार र अन्य यौनजन्य हिंसासम्बन्धी उजुरी गर्ने हदम्याद हटाउनुपर्ने‚ बलात्कार र यौनजन्य हिंसाका मुद्दाहरूको निर्णय गर्न ‘फास्ट ट्र्याक’ अदालतको स्थापना गर्नुपर्नेलगायत माग गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरूले ‘बलात्कार पीडितलाई न्याय दे’‚ ‘दोषीलाई सजाय दे’ लगायत नारा लगाएका थिए । मुलुकी ऐनमा बलात्कारविरुद्ध उजुरी गर्न एकवर्षे हदम्याद तोकिएको छ ।

बुधबार टिकटक र बिहीबार इन्स्टाग्रामबाट भिडियोमार्फत पीडित युवतीले आफूमाथि भएको घटनाको विस्तृत खुलासा गरेसँगै उनको समर्थन र बलात्कारविरुद्धको प्रदर्शन भएको हो ।


प्रकाशित : जेष्ठ ६, २०७९ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्

मतदान स्थल र केन्द्र बनाउन भ्याइनभ्याइ

तस्बिर : इलिट जोशी

काठमाडौँ — शुक्रबार देशभरका ७५३ वटा स्थानीय तहमा नयाँ जनप्रतिनिधि चयनका लागि मतदान हुँदैछ । यसका लागि मतदानस्थल र मतदान केन्द्र बनाउन थालिएको छ । बिहीबार देशैभर मतदानस्थल र केन्द्रलाई अन्तिम रुप दिन थालिएको छ ।

स्थानीय तहको निर्वाचनमा १० हजार ७ सय ५६ वटा मतदान स्थल निर्धारण गरिएको छ । यी स्थलमा २१ हजार ९ सय ५५ मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार सबैभन्दा बढी मतदान स्थल मधेस प्रदेशमा २ हजार १ सय ६३ मतदान स्थल र ४ हजार १ सय ८९ मतदान केन्द्र निर्धारण गरिएको छ । मधेस प्रदेशका आठ जिल्लामा ३३ लाख ३१ हजार १ सय ७० मतदाता छन् ।

यस्तै प्रदेश १ मा १ हजार ८ सय ७७ मतदान स्थल तय गरिएको छ । यसमा ४ हजार ५१ मतदान केन्द्र निर्धारण गरिएको छ । प्रदेश १ मा ३३ लाख ४७ हजार ३ सय ८४ मतदाता छन् ।

वाग्मतीमा १ हजार ७ सय ९२ मतदान स्थल र ४ हजार ९५ मतदान केन्द्र निर्धारण गरिएको आयोगले जनाएको छ । वाग्मतीमा सबैभन्दा बढी ३४ लाख १२ हजार ८ सय ६९ मतदाता छन् ।

गण्डकीमा १७ लाख ८९ हजार ४ सय ११ मतदाताको लागि १ हजार २ सय ५३ मतदान स्थल तय गरिएको छ । लुम्बिनीमा ३२ लाख १९ हजार ४ सय ५७ मतदाताको लागि १ हजार ६ सय २९ मतदान स्थल, कर्णालीमा १० लाख १ हजार २ सय ८२ मतदाताको लागि ९ सय ७ मतदान स्थल तोकिएको छ । यस्तै सुदूरपश्चिम प्रदेशमा १६ लाख ३२ हजार १ सय ५० मतदाताका लागि आयोगले १ हजार १ सय ३५ मतदान स्थल तय गरेको छ ।


प्रकाशित : वैशाख २९, २०७९ १४:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×