कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रमणीय राराताल आसपासका बस्ती [तस्बिरहरु]

शब्द/तस्बिर : हरिहरसिंह राठौर

मुर्मा (मुगु) — कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारातालमा चहलपहल बढ्न थालेको छ । हिउँ बिलाउन साथ सडकमार्ग पनि सञ्चालनमा आएपछि फागुन पहिलो सातादेखि रारामा दैनिक पर्यटकको संख्या बढ्दै गएको हो । रारा घुम्ने मौसमको सुरुवातसँगै आन्तरिक पर्यटक रारा आउन थालेको घोडामा पर्यटक ओसार्दै आएका युवा कमल रावल बताउँछन् । उनका अनुसार हवाईमार्गबाट दैनिक ५० देखि ६० जना आन्तरिक पर्यटक रारा घुम्न आइरहेका छन् ।

पर्यटकहरुको आपतकालीन उद्धारका लागि पनि निकुन्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको विशेष टोली तयार रहेको मेजर क्षेत्रबहादुर लामाले बताए । मुर्मा गाउँका होमस्टे संचालक रहेका शिक्षक रत्नबहादुर रावलले मुर्मामा अहिले ८० घर होमस्टे व्यवस्थापन गरिएको बताए । ‘रारा घुम्ने मौसम सुरु भएपछि होटलमा खानपिनका लागि खाद्यान्न जोहो र कोठा व्यवस्थापन गरिसकेका छौं,’ उनले भने, ‘पर्यटकलाई कोसेली दिन विभिन्न स्थानीय उत्पादन पनि होमस्टेमा ल्याइएको छ।’ अब रारा वरिपरिका जंगलमा काफल पाक्ने, विभिन्न रंगका गुराँसहरु फुल्ने र वन जंगलमा गुच्ची च्याउ उम्रिने भएकाले पनि पर्यटकले फरक आनन्द लिन सक्ने उनको भनाइ छ । अहिले रारामा असला माछाहरू पनि तालको छेउछाउमा प्रशस्त देखिने गरेको उनले बताए ।

मुर्मा, झयारी, पिना, कोटिल्ला, तलितुमलगायत बस्तीका स्थानीयले पर्यटकलाई रारा आसपासका ठाउँमा घुमाउने गरी झन्डै १ सय ५० वटा घोडा पालेका छन् । कोरोना महामारीका कारण शिथिल बनेको राराको पर्यटन क्षेत्र फागुन दोस्रो सातादेखि उकालो लागेको पर्यटन व्यवसायीको भनाइ छ ।जेठसम्म हवाई र सडकमार्गबाट जतिसक्दो बढी पर्यटक भित्र्याउने तयारी थालिएको भिजिट कर्णाली टुर एन्ड ट्राभल्सका प्रबन्धक राजु कार्कीले बताए । उनका अनुसार पर्यटकको संख्या बढ्न थालेपछि नेपालगन्ज र सुर्खेतबाट उडान हुने निजी हवाई कम्पनीले उडान बढाउन थालेका छन् । राराताल मात्रै हैन मुगु सदरमुकाम गमगढी, तुमा, भामवाडा, छत्यालवाडालगायत बस्तीहरु घुम्नलायक छन् ।


प्रकाशित : चैत्र ९, २०७८ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्

कर्णालीको दामनमा हिउँ खेल्नेको घुइँचो

शब्द/तस्बिर : हरिहरसिंह राठौर

गुराँसे (दैलेख) — सुर्खेत-दैलेख सडक खण्डको छेडादेखि रातानाङ्‌लासम्म १५ किलोमिटर उकालो मोडमा शनिबार दिनभर सवारी जाम भयो । प्रदेश ट्राफिक प्रहरीलाई जाम व्यवस्थापन गर्न हम्मे हम्मे परेको थियो । उक्त अवस्था आउनुको कारण थियो गुराँसे लेकमा हिउँ खेल्न पुगेका सयौं मोटरसाइकल, निजी कार, भाडाका जीपहरु । कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट सबैभन्दा नजिकै हिमपात हुने करिब २ हजार मिटर उचाईको दैलेख सिमानाको गुराँसे लेक नै हो ।

यस वर्ष बिहीबार रातिदेखि शुक्रबारसम्म हिमपात भएको थियो । विगत १० वर्षकै ठूलो हिमपात भएको गुराँस गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिपक आचार्यले बताए । तराईका जिल्ला नेपालगन्ज, बर्दिया र भारतको रुपैडिया नाकाबाट पनि सबैभन्दा हिमपात हुने नजिकै पर्ने यही लेक हो । शनिबार हिमपातमा मनोरन्जन लिन सुर्खेतमात्रै हैन नेपालगन्ज, रुपैडियाबाट समेत गाडी रिजर्भ गरेर युवा, युवतीहरु आएका थिए ।

सबैका हात हातमा मोबाइल र सडकमा टिकटक बनाउनेहरुको भिड देखिन्थ्यो । कतिपयले त विभिन्न पहिरनमा टिकटक बनाउन विभिन्न पोसाक पनि लिएर आएका थिए । पर्यटकका कारण लादे र सिद्धपाइलाका साना होटलहरु भरिभराउ थिए । रातानाङ्ला र गुराँसेका होटलहरुलाई खाना र खाजा बनाउन भ्याइनभ्याइ थियो । हिउँ खेल्न पुग्ने सवारी साधनका कारण सार्वजनिक यातायात समेत अवरुद्ध बनेको थियो ।


प्रकाशित : माघ २२, २०७८ २०:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×