रमणीय राराताल आसपासका बस्ती [तस्बिरहरु]

शब्द/तस्बिर : हरिहरसिंह राठौर

मुर्मा (मुगु) — कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारातालमा चहलपहल बढ्न थालेको छ । हिउँ बिलाउन साथ सडकमार्ग पनि सञ्चालनमा आएपछि फागुन पहिलो सातादेखि रारामा दैनिक पर्यटकको संख्या बढ्दै गएको हो । रारा घुम्ने मौसमको सुरुवातसँगै आन्तरिक पर्यटक रारा आउन थालेको घोडामा पर्यटक ओसार्दै आएका युवा कमल रावल बताउँछन् । उनका अनुसार हवाईमार्गबाट दैनिक ५० देखि ६० जना आन्तरिक पर्यटक रारा घुम्न आइरहेका छन् ।

पर्यटकहरुको आपतकालीन उद्धारका लागि पनि निकुन्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको विशेष टोली तयार रहेको मेजर क्षेत्रबहादुर लामाले बताए । मुर्मा गाउँका होमस्टे संचालक रहेका शिक्षक रत्नबहादुर रावलले मुर्मामा अहिले ८० घर होमस्टे व्यवस्थापन गरिएको बताए । ‘रारा घुम्ने मौसम सुरु भएपछि होटलमा खानपिनका लागि खाद्यान्न जोहो र कोठा व्यवस्थापन गरिसकेका छौं,’ उनले भने, ‘पर्यटकलाई कोसेली दिन विभिन्न स्थानीय उत्पादन पनि होमस्टेमा ल्याइएको छ।’ अब रारा वरिपरिका जंगलमा काफल पाक्ने, विभिन्न रंगका गुराँसहरु फुल्ने र वन जंगलमा गुच्ची च्याउ उम्रिने भएकाले पनि पर्यटकले फरक आनन्द लिन सक्ने उनको भनाइ छ । अहिले रारामा असला माछाहरू पनि तालको छेउछाउमा प्रशस्त देखिने गरेको उनले बताए ।

मुर्मा, झयारी, पिना, कोटिल्ला, तलितुमलगायत बस्तीका स्थानीयले पर्यटकलाई रारा आसपासका ठाउँमा घुमाउने गरी झन्डै १ सय ५० वटा घोडा पालेका छन् । कोरोना महामारीका कारण शिथिल बनेको राराको पर्यटन क्षेत्र फागुन दोस्रो सातादेखि उकालो लागेको पर्यटन व्यवसायीको भनाइ छ ।जेठसम्म हवाई र सडकमार्गबाट जतिसक्दो बढी पर्यटक भित्र्याउने तयारी थालिएको भिजिट कर्णाली टुर एन्ड ट्राभल्सका प्रबन्धक राजु कार्कीले बताए । उनका अनुसार पर्यटकको संख्या बढ्न थालेपछि नेपालगन्ज र सुर्खेतबाट उडान हुने निजी हवाई कम्पनीले उडान बढाउन थालेका छन् । राराताल मात्रै हैन मुगु सदरमुकाम गमगढी, तुमा, भामवाडा, छत्यालवाडालगायत बस्तीहरु घुम्नलायक छन् ।


प्रकाशित : चैत्र ९, २०७८ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्

शिक्षा सुधार गर्न सके अन्य क्षेत्रको सुधार हुन्छ : शिक्षामन्त्री पौडेल

कान्तिपुर संवाददाता

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालको शिक्षालाई सुधार गर्न सके मात्रै अन्य क्षेत्रहरुमा सुधार आउने बताएका छन् ।

बुधबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन)को १५ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री पौडेलले शिक्षा क्षेत्रको सुधार गर्न सकेमा अन्य क्षेत्रमा स्व: सुधार हुने बताए ।

उनले देशको समृद्धिको लागि शिक्षा पहिलो ढोका भएको बताए । शिक्षामा सुधार गर्ने देशहरुले मात्रै अन्य क्षेत्रमा प्रगति गर्न सकेको सन्दर्भ जोड्दै उनले शिक्षालाई देशको समृद्धिको निम्ति प्रयोग गर्नुपर्ने बताएका थिए ।

‘हामी नेपालीहरु भौतिक समृद्धि र आत्मिक समृद्धिको खुसीमा अगाडि बढ्नु छ र त्यसको निम्ति पहिलो ढोका भनेको शिक्षा हो । खुसी हुने ढोका । शिक्षा भएन भने देशको अरु कुराको सुधारको सम्भावना छैन । जुन देशले शिक्षामा सुधार गर्‍यो त्यो देशले अरु क्षेत्रमा प्रगति गरेको हामी पाउँछौं । देशको समग्र समृद्धिको निम्ति सक्षम इन्जिनियर, सक्षम डाक्टर, सक्षम शिक्षक, सक्षम प्राध्यापक चाहियो । सक्षम व्यक्ति र व्यक्तित्वहरुको आवश्यकता हुन्छ । र हामी भौतिक समृद्धिको बाटोतर्फ अगाडि बढ्न सक्छौं । त्यो भौतिक समृद्धि प्राप्त गर्न शिक्षा नभइ नहुने महत्वपूर्ण विषय हो,' मन्त्री पौडेलले भने ।

यस्तै देशलाई सक्षम जनशक्ति उत्पादन गर्ने शिक्षा आवश्यक रहेको मन्त्री पौडेलले बताएका थिए । साथै शिक्षालाई सीपमा बदल्दै रोजगारसँग जोड्ने शिक्षा आवश्यक रहेको उनको भनाइ छ ।

प्रकाशित : चैत्र ९, २०७८ १६:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×