२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९२

हिउँले छोपियो गोसाइँकुण्ड [फोटोफिचर]

शब्द/तस्बिर : बलराम घिमिरे

रसुवा — पटक-पटकको हिमपातले गोसाइँकुण्ड पुरिएको छ । हिउँले पुरिएको कुण्डको बीचसम्म पुगेर भक्तजन फोटो खिच्दै रमाइरहेको देख्न सकिन्छ । मंगलबार शिवरात्रिका दिन घुम्न र धर्मकर्म गर्न काठमाडौंबाट हेलिकप्टरमार्फत गोसाइँकुण्ड पुगेका तीर्थयात्री उत्साहित देखिन्थे । हेलिकप्टरलाई भक्तजन ओसार्न भ्याइ नभ्याइ थियो । मौसम सफा भएकाले पैदलयात्राबाट कुण्ड पुग्ने आन्तरिक पर्यटकसमेत बढ्न थालेका छन् ।

कोरोना भाइरस महामारी अघि पनि हिउँ परेर मौसम खुलेपछि पर्यटकहरूको भीड लाग्ने गर्दथ्यो । गोसाइँकुण्ड समुन्द्र सतहदेखि ४ हजार ३ सय ८० मिटरको उचाईमा रहेको छ । यो प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको छ । पौराणिक कथनअनुसार परापूर्वकालमा देवता र दानववीच समुन्द्र मन्थन हुँदा उत्पन्न कालकुट विष सेवन गरेका शिव शंकरले विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा आई आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काउँदा भिताबाट गंगाजल अर्थात् त्रिशूल धाराको उत्पत्ति भई उक्त धाराको पानीबाट गोसाइँकुण्डको बनेको किम्बदन्ती छ ।

कुण्डमा स्नान गरी भगवान् शिव शंकरको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुको साथै मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ । त्यसैले बर्सेनि हजारौं भक्तजनहरू कुण्डमा स्नानका लागि पुग्छन् । धार्मिक पर्यटनका हिसाबले गोसाइँकुण्ड स्वदेश तथा विदेशमा समेत प्रख्यात छ । यी तीर्थस्थल रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्छ । गोसाइँकुण्डमा प्रत्येक वर्ष गंगादसहरा र साउन शुक्ल पूर्णिमा अर्थात् (जनैपूर्णिमा) गरी वर्षको २ पटक विषेश मेला लाग्छ ।


प्रकाशित : फाल्गुन १७, २०७८ २१:०४
प्रतिक्रिया
पठाउनुहोस्