कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्णालीको दामनमा हिउँ खेल्नेको घुइँचो

शब्द/तस्बिर : हरिहरसिंह राठौर

गुराँसे (दैलेख) — सुर्खेत-दैलेख सडक खण्डको छेडादेखि रातानाङ्‌लासम्म १५ किलोमिटर उकालो मोडमा शनिबार दिनभर सवारी जाम भयो । प्रदेश ट्राफिक प्रहरीलाई जाम व्यवस्थापन गर्न हम्मे हम्मे परेको थियो । उक्त अवस्था आउनुको कारण थियो गुराँसे लेकमा हिउँ खेल्न पुगेका सयौं मोटरसाइकल, निजी कार, भाडाका जीपहरु । कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट सबैभन्दा नजिकै हिमपात हुने करिब २ हजार मिटर उचाईको दैलेख सिमानाको गुराँसे लेक नै हो ।

यस वर्ष बिहीबार रातिदेखि शुक्रबारसम्म हिमपात भएको थियो । विगत १० वर्षकै ठूलो हिमपात भएको गुराँस गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिपक आचार्यले बताए । तराईका जिल्ला नेपालगन्ज, बर्दिया र भारतको रुपैडिया नाकाबाट पनि सबैभन्दा हिमपात हुने नजिकै पर्ने यही लेक हो । शनिबार हिमपातमा मनोरन्जन लिन सुर्खेतमात्रै हैन नेपालगन्ज, रुपैडियाबाट समेत गाडी रिजर्भ गरेर युवा, युवतीहरु आएका थिए ।

सबैका हात हातमा मोबाइल र सडकमा टिकटक बनाउनेहरुको भिड देखिन्थ्यो । कतिपयले त विभिन्न पहिरनमा टिकटक बनाउन विभिन्न पोसाक पनि लिएर आएका थिए । पर्यटकका कारण लादे र सिद्धपाइलाका साना होटलहरु भरिभराउ थिए । रातानाङ्ला र गुराँसेका होटलहरुलाई खाना र खाजा बनाउन भ्याइनभ्याइ थियो । हिउँ खेल्न पुग्ने सवारी साधनका कारण सार्वजनिक यातायात समेत अवरुद्ध बनेको थियो ।


प्रकाशित : माघ २२, २०७८ २०:५५
प्रतिक्रिया
पठाउनुहोस्

तस्बिरमा हेरौं, सुर्खेत उपत्यका सेरोफेरो

शब्द/तस्बिर : हरिहरसिंह राठौर

काठमाडौँ — देशकै सबैभन्दा ठूलो ताल राराको प्रवेशद्वार सुर्खेतमा अहिले कर्णाली प्रदेशको राजधानी छ । राणाकालमा औंलोको निकै प्रकोप रहने भएकोले खासै बस्ती थिएन । बसोबास र सहरीकरण बढेसँगै यो उपत्यका अहिले सुन्दर बनेको छ । वीरेन्द्र नगरपालिका क्षेत्रमा पर्ने यस उपत्यकामा ब्राह्मण, क्षेत्री, मगर, थारु, कामी, सार्की, दमाई, दशनामी सन्यासी आदि प्रमुख जातिहरु बसोबास गर्छन् । विभिन्न जिल्लाहरुबाट बसाइँ सरी आएकाले यहाँको चालचलन, रीतिथिति/ संस्कृतिमा समेत विविधता पाइन्छ ।

कर्णाली प्रदेशका अधिकांश जिल्लामा उपभोग्य सामग्रीहरु वीरेन्द्रनगरबाट जाने हुँदा यो पश्चिम नेपालकै प्रमुख व्यापारिक एवं शैक्षिक पर्यटकीय केन्द्रसमेत बन्न पुगेको छ । देशको सन्तुलित विकासको निम्ति भन्दै तात्कालीक चार विकास क्षेत्रमा विभाजन गर्दा वीरेन्द्रनगर सुदूर पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम घोषणा गरिएको थियो । साविकको वीरेन्द्रनगरलाई नेपालकै व्यवस्थित गुरुयोजना भएको सहरका रुपमा चिनिएको छ । यस नगरपालिकाभित्र ईसं १२६८ मा निर्माण गरिएको काँक्रे विहार, बुलबुले ताल, देउतीवज्यै मन्दिर प्रशिद्ध छन् ।

प्रकाशित : भाद्र २९, २०७८ १७:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×