कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

४ वर्षदेखि गाउँपालिकाको लाखौं बजेट ज्युँदा व्यक्तिको सालिक निर्माणमा [फोटोफिचर]

हरि गौतम

रुकुम पूर्व — भूमे गाउँपालिका–६, महतस्थित ठूलो स्यामाङपोमा ६ वटा सालिक छन् । स्थानीय सरकारले कालीगढ मार्फत् बनाएका ती सालिक कुनै सहिदको नभएर जीवित व्यक्तिका हुन् । ६ जनामध्ये ५ जना जीवित व्यक्तिहरूकै सालिक यहाँ बनाइएको छ । सालिक बनाइएकामध्ये १ जना चाहिँ माओवादी युद्धको क्रममा सहिद भएका तत्कालीन लडाकु हुन् । जीवीतमध्ये एक जना उप राष्ट्रपति नन्दबहादुर पुनको पनि सालिक बनाइएको छ ।

नन्दबहादुर पुनसहित रोल्पाका हरिबहादुर पुन, रुकुम पूर्वका होमप्रकाश श्रेष्ठ, कृष्ण रेग्मी, जितबहादुर बुढाको सालिक बनाइएको हो । यस्तै माओवादीका सहिद रुकुम पश्चिमका किशोर घर्तीमगरको पनि सालिक बनाइएको हो । किशोर दस वर्षे सशस्त्र युद्धको क्रममा मारिएका थिए । भूमे गाउँपालिकाले तत्कालीन माओवादी युद्ध स्मरणका लागि सालिक बनाइएको हो । २०५६ सालको असोज ६ गते महत प्रहरी चौकी तत्कालीन माओवादीका लडाकुले कब्जा गरेका थिए । नेपाल प्रहरीका तत्कालीन डिएसपी ठूले राई अपहरणमा परेको घटना यही थियो ।

सोही घटनामा आधारित युद्ध स्मारक बनाइएको हो । महत प्रहरी चौकी कब्जा गर्ने क्रममा प्रमुख भूमिकामा रहेका तत्कालीन माओवादी योद्धाहरूको सालिक बनाइएको हो । युद्ध स्मारक निर्माण उपभोक्ता समितिका अध्यक्ष कमल बुढा मगरका अनुसार प्रहरी चौकी कब्जाको क्रममा भूमिका निर्वाह गरेकाहरूको सालिक निर्माण गरिएको हो । युद्ध स्मारकले समग्र युद्ध र त्यसमा त्याग, योगदान गरेकाहरूको प्रतिनिधित्व गर्ने उनले बताए । युद्ध स्मारक भौतिक संरचनाको संग्रह मात्रै नभएर इतिहासको संरक्षण र सुरक्षित राख्ने प्रयास भएको उनको दाबी थियो । उक्त घटनाको कमाण्डर तत्कालीन माओवादी कमाण्डर नन्दबहादुर पुनको नेतृत्वमा थियो ।

यस्तै भूमे गाउँपालिकाले उक्त गाउँलाई युद्ध फिचर सहितको युद्ध पर्यटकीय क्षेत्र बनाउने तयारी गरेको बताइएको छ । यसका लागि हालसम्म गाउँपालिकाले यहाँ ६८ लाख ५० हजार रुपैयाँ खर्च गरेको छ । यसअघि नै यस ठाउँमा महत प्रहरी चौकी कब्जा गर्दाको दृश्यसहितको फिचर समेत राखिएको हो । आर्थिक वर्ष २०७४/०७५ देखि नै भूमेले यहाँ लगानी गर्न लागेको हो ।

उक्त आर्थिक वर्षमा २० लाख रुपैयाँ खर्च भएको थियो । आर्थिक वर्ष २०७५/०७६ मा १५ लाख, आर्थिक वर्ष २०७७/०७८ मा ३३ लाख ५० हजार रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ । भौतिक संरचना, डीपीआर, अवधारणा पत्र निर्माण लगायतमा उक्त बजेट खर्च भएको गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले बताए । बृहत योजना अनुसार केही काम भएको र अरु काम पनि विस्तारै गर्दै जाने उनको भनाइ छ ।

विशेषगरी पर्यटन प्रवर्द्धन र विगतको इतिहासलाई जोगाएर भावि पुस्तालाई यसबारे जानकारी गराउने उद्देश्य रहेको अध्यक्ष बुढाले बताए । युद्ध स्मारकाभित्र महिला छापामारको सालिक निर्माण र व्यवस्थित तारबार घेराउ गरी संरचना बनाउने योजना रहेको उनले बताए । साथै युद्ध गर्ने रहर भएका पर्यटकहरूलाई प्लाष्टिकका बन्दुक राखेर त्यसको अभ्यास पनि गराउने संरचना तयार पारिने अध्यक्ष बुढाले बताए ।


प्रकाशित : माघ ९, २०७८ १५:०७
प्रतिक्रिया
पठाउनुहोस्