कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आदेश त दियो प्रशासनले, तर रोक्न सकेन भीड [तस्बिरहरू]

राजकुमार कार्की

सिन्धुली — सिन्धुली–जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा कोरोना संक्रमणको पर्वाह नगरीकन नागरिकता, राहदानी सिफारिस र राष्ट्रिय परिचयपत्र लगायतका काम गर्न आउने सेवाग्राहीको घुइँचो लागेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि ९ बुँदे आदेश जारी गरेको जिल्ला प्रशासन कार्यालयमा नै सेवाग्राहीको चाप बढेपछि संक्रमणको थप जोखिम बढेको छ।

राहदानीका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि प्रशासन कार्यालयमा यतिबेला ठूलो संख्यामा सेवाग्राहीहरू घण्टौंसम्म लाइन बसेका छन् । नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी सिफारिस र मतदाता नामावलीमा नयाँ नाम समावेश गर्न समेत सेवाग्राहीको भीड बढेपछि जोखिम बढेको कर्मचारीहरू बताउँछन् । जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरू भने संक्रमित भई घर बस्ने क्रम बढ्दो छ । प्रशासनका आधाजसो कर्मचारीहरू संक्रमित भएपछि घरमै बसेका छन् । ‘सेवाग्राहीलाई नआउनुस् पनि भन्न नमिल्ने, डरमाथि डर थपियो,’ एक कर्मचारीले भने । संक्रमण नियन्त्रणका लागि सरकारी मापदण्ड लागू गर्ने कार्यालयमा नै भीड बढेपछि प्रशासनले पालिका अनुसार क्लस्टर छुट्याएर सेवाग्राहीको काम गर्न लागेको जनाएको छ ।

सेवाग्राहीको चाप कम गर्न सातामा ६ दिन ९ पालिका विभाजन गरी दुई दिनको पालो लगाइएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए । साताको आइतबार र सोमबार कमलामाई नगरपालिका, गोलन्जोर र फिक्कल गाउँपालिका, मंगलबार र बुधबार दुधौली नगरपालिका, तीनपाटन र सुनकोसी गाउँपालिका, बिहीबार र शुक्रबार घ्याङलेख, मरिण र हरिहरपुरगढी गाउँपालिकाका सेवाग्राहीको मात्र काम हुने प्रजिअ न्यौपानेले बताए ।

तर सेवाग्राहीलाई कार्यालयको मूल गेटमै खोप कार्ड अनिवार्य देखाएर मात्र भित्र आउन अनुमति दिइएको प्रशासनले जनाएको छ । सिन्धुलीमा तीन सयको हाराहारीमा कोरोना संक्रमित रहेका छन् । चेकजाँच नगराएका घरैपिच्छे बिरामी रहेकाले यो संख्या ठूलो हुनसक्ने आकलन गरिएको छ । सिन्धुली अस्पतालको मूल गेटमा पहिलो र दोस्रो डोज खोप तथा अग्रपंक्तीमा खटिनेहरूलाई बुस्टर डोज खोप दिन थालिएको छ ।

प्रकाशित : माघ ७, २०७८ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्