कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खोप कार्ड नभएका सर्वसाधारणले पाएनन् सिंहदरबार प्रवेश

तस्बिर : अंगद ढकाल

काठमाडौँ — शुक्रबारदेखि सरकारले सार्वजनिक स्थानमा कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गर्ने लागू गरेको जनाएको छ । सरकारको निर्णयअनुसार कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाई यात्रा, पार्कजस्ता सार्वजनिक स्थलमा खोप लगाएको कार्ड वा कार्डको फोटोका आधारमा मात्रै प्रवेश पाइन्छ ।

शुक्रबार संघीय सरकारको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा खोप कार्ड हेरेर प्रवेश दिइएको थियो । सिंहदरबारभित्र रहेका कार्यालयमा काम गर्ने सरकारी कर्मचारीले खोप कार्डबिना पनि प्रवेश पाएका थिए । तर खोप कार्ड नभएका सर्वसाधारणलाई भने फर्काइएको थियो ।

भेरोसेलको दुवै डोज लगाए पनि खोप कार्ड साथमा नभएका कारण पाँचथरका टेकेन्द्र लिम्बू भने फर्किनुपर्‍यो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा काम लिएर आएका उनी गेटबाटै फर्किए । त्यस्तै सिंहदरबार प्रवेश पास भए पनि खोप कार्ड नभएका कारण कैलालीको जोशीपुरका पृथ्वी चौधरीले पनि प्रवेश पाएनन् ।

सरकारले सर्वसाधारणलाई खोप लगाउन उत्प्रेरित गर्ने उद्देश्यले कार्ड अनिर्वाय गरेको दाबी गरे पनि उक्त निर्णय व्यवहारिक नभएको विज्ञहरूको भनाइ छ । सार्वजनिक ठाउँमा खोप कार्ड बाध्यात्मक बनाउँदा धेरैजना खोपको दायरामा आउने सरकारले लक्ष्य लिए पनि कार्यान्वयनमा जटिलता देखिने सम्बद्ध विज्ञहरु बताउँछन् । अहिले पनि कुल जनसंख्याको ४१.४ प्रतिशतले मात्र खोपको पूर्ण मात्रा लगाएका छन् भने ५३ प्रतिशतले कम्तीमा १ मात्रा लगाएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले बताउँछ ।

सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य भनेदेखि खोप केन्द्रमा थेगिनसक्नु भीड बढेको छ । खोप लगाउन जोखिम मोलेर ८ घण्टासम्म लाइनमा उभिनु परेको छ । खोप केन्द्र पर्याप्त नथपिँदा केन्द्र नै संक्रमणस्थल जस्तो बन्न थालेका छन् । जिल्लामा खोपको आपूर्तिका साथै सिरिन्ज अभाव हुन थालेका खबर पनि आइरहेका छन् ।


प्रकाशित : माघ ७, २०७८ १४:२२
प्रतिक्रिया
पठाउनुहोस्