हिउँ खेल्न क्रपु डाँडा

माघ २, २०७८

दीपक परियार

पोखरा — पछिल्लोपल्ट चर्चा कमाएको कास्कीको मादी गाउँपालिका–२ ताङतिङ गाउँ पुग्न पोखरा माटेपानीकी शर्मिला गुरुङलाई पहिल्यैदेखि रहर थियो । यसपल्ट पुसमा भएको बाक्लो हिमपातले उनलाई ताङतिङ मात्रै पुर्‍याएन, गाउँको शिर क्रपु डाँडासम्म पुर्‍यायो । उनी साथी लिएर हिउँ खेल्न क्रपु डाँडा पुगिन् ।

समुद्री सतहबाट ३ हजार १ सय मिटर उचाइमा रहेको क्रपु डाँडाबारे उनले साथीबाटै सुनेकी थिइन् । टिकटकमा समेत ‘भाइरल’ भएको देखेपछि उनले पढाउने विद्यालयका शिक्षिकाको समूह बिहीबार क्रपु डाँडा पुग्यो । बिहीबार अबेर पुगेका उनीहरु शुक्रबार हिउँ खेलेर पोखरा फर्किए । ‘पहिलो हामीले कालिञ्चोक जाने प्लान बनाएका थियौं,’ उनले भनिन्, ‘त्यहाँभन्दा यति नजिकै राम्रो ठाउँ छ, हिउँ पनि खेल्न पाइन्छ भनेर यहीँ आयौं ।’ उनले हिउँ छोएको यो पहिलो अनुभव हो । क्रपु डाँडा टिकटकमा देखेभन्दा रमाइलो पाइन् । ‘कस्तो होला, कस्तो होला, सोचेजस्तो नहुने हो कि भन्ने थियो,’ उनले भनिन्, ‘यहाँ आइसकेपछि सबै कुरा बिर्सिएर रमाइलो गर्‍यौं ।’ ८ जनाको समूहमा ४ जनाले पहिलोपल्ट हिउँ छोएका थिए ।

माटेपानीकै सुष्मा गुरुङ पदयात्रा गर्न रुचाउँछिन् । यसअघि घोरेपानी–पुनहिल पुगेकी उनलाई क्रपु डाँडाले उत्तिकै लोभ्यायो । रातमा टहटह जुन र जुनको उज्यालोमा टल्किएका हिमाल हेरेर उनी रोमाञ्चित भइन् । ‘एउटा छुट्टै खालको तरंग पैदा भयो,’ उनले भनिन्, ‘हामी घुम्नलाई विदेश जान्छौं तर पहिलो नेपाल नै घुम्नुपर्छ ।’ उनले पोखरा फर्किएर आफ्नो इन्स्टाग्राम, टिकटकमार्फत क्रपु डाँडाको प्रबर्द्धन गर्ने बताइन् ।

पर्यटकीय गाउँ ताङतिङ पुग्न पोखराबाट बसमा साढे २ घण्टा, जिपमा २ घण्टा र मोटरसाइकलमा साढे १ घण्टा लाग्छ । गुरुङ बस्तीमा १४ घरमा होमस्टे छन् । सात होटल छन् । केही वर्षयता आन्तरिक पर्यटकको आगमनमा वृद्धि भएपछि पोखराबाट गाउँ फर्किएर स्थानीय युवाले होटलमा लगानी गरेका छन् । ताङतिङको उत्तरपूर्व शिरानमा छ क्रपु डाँडा । डाँडाबाट अन्नपूर्ण र मनास्लु हिमशृंखला, माछापुच्छ्रे लगायत दर्जनौं हिमाल छर्लंग देखिन्छ । हिउँमाथि उभिएर आँखैअघि हिमाल देख्न पाउनु पर्यटकका लागि मनमोहक हुन्छ । बेलाबेलामा हिमपहिरो खसेको समेत देख्न सकिन्छ । पोखरा उपत्यका, लमजुङ, तनहुँ लगायत स्थानको दृश्यावलोकन क्रपु डाँडाबाट गर्न सकिन्छ ।

यसअघि ताङतिङ पुग्ने पर्यटक फाट्टफुट्ट क्रपु डाँडा पुग्थे । गत वर्ष कच्ची मोटरबाटो पुगेपछि पोखरा लगायत सहरबाट जिप र मोटरसाइकलमा पर्यटक पुग्न थाले । त्यतिबेला टेन्टमा बस्नुपर्ने बाध्यता थियो । पर्यटक बढ्न थालेपछि भने ताङतिङका स्थानीय युवाले क्रपु डाँडामा तीनवटा अस्थायी होटल तथा रेस्टुरेन्ट खोलेका छन् । दुई साताअघिदेखि सञ्चालनमा आएका ती होटलमा ४० जनासम्म बस्न मिल्छ । गाउँपालिकाले पाहुना राख्न धर्मशाला समेत बनाएको छ ।

ताङतिङ सामुदायिक होमस्टेमा बेलुकाको खाजा, खाना, विहानको खाजा र बसेको खर्चवापत एक हजार रुपैयाँ तिर्नुपर्छ । क्रपु डाँडामा उक्त प्याकेजको शुल्क १ हजार ५ सय छ । पोखराबाट फर्किएर क्रपु डाँडामा होटल चलाएका स्थानीय युवा हिमाल गुरुङ हिउँ खेल्न पर्यटक पुग्न थालेपछि हर्षित छन् । होटल सञ्चालनमा आएदेखि नै उनले सामाजिक सञ्जालमा क्रपु डाँडाको प्रवद्र्धन गरिरहेका छन् । उनले टिकटकमा राखेका भिडियो यतिबेला भाइरल छन् । ‘धेरै ठाउँ घुमफिर गर्दा व्यवसाय गर्न सकिने रहेछ भन्ने लाग्यो,’ उनले भने, ‘आफ्नै ठाउँमा केही गर्नुपर्छ, पर्यटकलाई सुविधा पनि दिनुपर्छ भनेर यहीँ फर्किएँ ।’ उनी ताङतिङ युवा क्लबका अध्यक्ष पनि हुन् ।

कोभिडको महामारीकै बीच गण्डकी प्रदेशका धेरै गाउँ पर्यटकका लागि बन्द हुँदा ताङतिङ खुल्लै थियो । गाउँपालिकाले निषेध गरेको बाहेक अन्य समयमा ताङतिङका स्थानीयले आन्तरिक पर्यटकलाई स्वागत गरे । ताङतिङमा रहेको हिमालय मिलन माविका प्रधानाध्यापक एवं सामाजिक अगुवा ओमप्रकाश गुरुङका अनुसार अहिले पनि बिदाको दिनमा एकै दिन एक सयदेखि डेढसयसम्म पर्यटक गाउँमा भित्रिन्छन् । अन्य दिन ४०–५० जना पर्यटक ताङतिङ पुग्छन् । एकै दिन ४ सयजनासम्म पाहुनाको व्यवस्थापन ताङतिङले गरेको छ । ताङतिङ पुग्ने पर्यटकलाई क्रपु डाँडासम्म पुर्‍याउन सके बसाइँ लम्ब्याउन सकिने उनी बताउँछन् । ‘पहिलो दिन ताङतिङ आएर बस्ने, भोलिपल्ट दिनभर गाउँ घुमेर बेलुका क्रपु बस्न पुग्ने गरी पर्यटक बोलाउन सकिन्छ,’ उनले भने, ‘त्यसो गर्न सके सामुदायिक होमस्टे र स्थानीय होटल व्यवसायी दुवै लाभान्वित हुन्छन् ।’ पोखराबाट हिउँ खेल्ने र हिमशृंखलाको अवलोकन गर्ने यत्तिको नजिकको गन्तव्य अन्त नभएको उनी थप्छन् ।

शनिबार क्रपु डाँडाको अवलोकनमा गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकीको टोली क्रपु डाँडा पुगेको थियो । भिटोफ गण्डकीका अध्यक्ष उदय सुवेदीले पोखरा, ताङतिङ र क्रपु डाँडा समेटेर पर्यटकमा नयाँ गन्तव्य थप गर्न सकिने बताए । उनले ३ रात ४ दिन वा ४ रात ५ दिनको भ्रमण प्याकेज बनाउन भिटोफले तयारी गर्ने सुनाए । ‘पहिलोदिन पोखराबाट ताङतिङ आएर बस्ने, दोस्रो दिन गाउँको संस्कृति, स्थानीय जनजीवनको अवलोकन गर्ने,’ उनले भने, ‘त्यस दिन बेलुका पदयात्रा गर्दै क्रपु डाँडा उक्लिएर बास बस्ने, तेस्रो दिन ३ हजार ३ सय मिटर अग्लो चोंरो डाँडा पुगेर बास बस्ने । चौंथो दिन ताङतिङ फर्किने र पाँचौं दिन पोखरा फर्किने गरी प्याकेज बनाउन सकिन्छ ।’ क्रपु डाँडालाई हिउँ खेल्ने स्थलको रुपमा प्रवद्र्धन गर्न सके पोखरा नजिकका अन्य सहरबाट पनि पर्यटकको आगमन बढ्ने उनी बताउँछन् । भन्छन्, ‘हिउँ नै नछोएकाहरुका लागि क्रपु डाँडा उत्तम गन्तव्य हो ।’

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully