'स्काउटले सम्झौताअनुसारका काम गर्न व्यवधान पुर्‍यायो'- अन्य - कान्तिपुर समाचार

'स्काउटले सम्झौताअनुसारका काम गर्न व्यवधान पुर्‍यायो'

कान्तिपुर संवाददाता

काठमाडौँ — लैनचौरस्थित नेपाल स्काउटको जग्गा भाडामा लिई व्यवासाय सञ्चालन गरिरहेको खड्काल्याण्ड प्रालिले सम्झौता अनुसार काम गर्न नपाएको दाबी गरेको छ । नेपाल स्काउटको नयाँ तदर्थ समिति आएदेखि सम्झौता अनुसार काम गर्न व्यवधान भएको उल्लेख गरेको छ ।

यो कम्पनीले स्काउट परिसरमा लैनचौर बाङ्क्वेट संचालन गर्दै आएको छ । उक्त बाङ्क्वेटले गत शुक्रबार प्रहरी प्रयोग गरेर स्काउटको गेटमा लगाएको ताल्चा फोडेको थियो । कम्पनीले आइतबार पत्रकार सम्मलन गर्दै विगतदेखिका घटनाक्रम उल्लेख गरी स्काउटको नेतृत्वले काम गर्ने नदिएको दाबी गरेको हो ।

'सम्झौता बमोजिम आफ्नो व्यवसाय सञ्चालन गर्दै आएपनि नेपाल स्काउटको वर्तमान नेतृत्वले आफ्नो व्यक्तिगत स्वार्थका लागि हामीले सञ्चालन गर्दै आएको कामप्रति अवरोध पुर्याफउँदै आएको कुरा यसअघिका घटनाक्रम बाट पनि छर्लङ्गै छ' कम्पनीले जारी गरेको विज्ञप्तिमा छ,'निश्चित समयका लागि सञ्चालन गर्न बनाईएका संरचनालाई विना सूचना भत्काउन खोज्ने, भाडामा बस्नेलाई धम्क्याउने, तर्साउने, दुःख दिने, हाम्रा कर्मचारीलाई दुःख दिने, ढल,पानी बत्ती काटी दिने तथा मुल गेटमा तालाबन्दी गरीदिने जस्ता अमानवीय कार्यहरु गर्दा समेत यस प्रा.लि.ले सम्झौता अवधिभर निर्वाध ढङ्गले व्यवसाय गर्न दिन पटक–पटक स्काउटसँग अनुरोध गर्दै आएको छ यद्यपी हाम्रो अनुरोध कहिल्यै सुनिएन ।'

स्काउटले गरेका कामहरुबारे अदालतमा न्यायिक निरुपणका लागि निवेदन दिएको र त्यो निवेदन विचाराधिन रहेको अवस्थामा त्यसलाई प्रभावित पार्ने काम भएको कम्पनीले उल्लेख गरेको छ ।


प्रकाशित : मंसिर २५, २०७९ १५:०२
प्रतिक्रिया
पठाउनुहोस्

महिला हिंसाविरुद्धको अभियान कोठाभित्र होइन, सडक र गाउँमा लैजानुपर्‍यो : मन्त्री रेग्मी

कान्तिपुर संवाददाता

काठमाडौँ — महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिला हिंसा विरुद्धको अभियान सडकबाट सुरु गर्नुपर्ने बताएकी छन् । आइतबार नेपाल प्रेस युनियनले आयोजना गरेको 'कार्यस्थलमा हुने लैंगिक हिंसा र न्यूनिकरणका उपाय' विषयक अन्तरक्रियामा मन्त्री रेग्मीले यस्तो प्रतिक्रिया दिइन् ।

अभियानको रुपमा बन्द कोठाभित्र कार्यक्रम गर्दा प्रभावकारी हुन नसकेको भन्दै उनले समाजलाई महिला हिंसाको सम्बन्धमा सचेत गराउन सडक र गाउँगाउँमा अभियान लिएर जानुपर्ने बताइन् । उनले महिला हिंसा गाउँघरमा मात्रै नभई सहरी क्षेत्रमा पनि उत्तिकै भएको पनि बताएकी थिइन् । मन्त्री रेग्मीले समाजलाई सचेत नगराइ महिला हिंसाको अन्त्य नहुने पनि तर्क गरेकी थिइन् ।

‘यो समाजलाई सचेत नगरी महिला हिंसाको अन्त्य सरकारले गरेर मात्रै पनि भएन । समाजलाई पूरै सचेत गराउन अभियान गर्नुर्‍यो । अब कार्यक्रम होइन । महिला हिंसाविरुद्धको कार्यक्रम कोठाभित्र होइन अभियानको रुपमा लैजानुर्‍यो । सहरी क्षेत्रमा पनि छ महिला हिंसा । जति पढेलेखेको भए पनि हिंसा भएकै छ । त्यसैले दूरदराजको कुरा मात्रै होइन । जान्नेसुन्ने उच्च ओहोदाका मान्छे भएको ठाउँमा पनि हिंसा भएकै छ । हामीले अब अभियानको रुपमा सडकमा गर्ने हो कार्यक्रम । अब कोठाभित्र कार्यक्रम गरेर हुँदैन । सडकमा हिंसा विरुद्धको अभियानको रुपमा सडक नाटक होस् । कानुन हुँदाहुँदै पनि अपराधीले हातमा कानुन लिएर अपराध गरिरहेको छ । त्यसैले हामी सबै सचेत हौँ । समाजलाई सचेत नगराइकन यो हिंसा अन्त्य हुँदैन । राजनीतिक दलले अभियानको रुपमा लिनैपर्छ । घोषणापत्रमा मात्रै लेखेर पुग्दैन । अभियानको रुपमा राजनीतिक दलले यो समस्यालाई लिएको खण्डमा मात्रै न्यूनिकरण हुनसक्छ,’ मन्त्री रेग्मीले भनिन् ।

मन्त्री रेग्मीले महिला हिंसा महिलाको मात्र समस्या नभई समाज, राजनीतिक दल र सिङ्गो राष्ट्रको समस्या भएको भन्दै चिन्ता व्यक्त गरेकी थिइन् । घर, राजनीतिक दल र राज्यसत्ता सबैतिर महिला हिंसा हुने गरेको उनको भनाइ थियो । साथै महिला हिंसाको समस्या समाधानका लागि सबैले सामूहिक प्रयास गर्नुपर्नेमा उनले जोड दिइन् ।

हिंसा अन्त्य गर्ने मोडालिटीमा नै परिवर्तन गर्नुपर्ने पनि उनको तर्क थियो । हिंसाको जरो घरभित्रै रहेको र घरभित्रै महिला सुरक्षित नरहेको भन्दै यो समस्या महिलाले मात्र समाधान गर्न नसक्ने उनले बताइन् । 'राज्यले मात्रै पनि समस्या समाधान गर्न सक्दैन । सबै सरोकारवाला घरभित्र चुल्हो चौकोदेखि समाजसम्म । नागरिक समाजदेखि राजनीतिक दलसम्म, राज्यसत्तासम्म, सरकारसम्म सबै लाग्न सक्यौं भने मात्र महिला हिंसा अन्त्य हुन्छ,’ उनले भनिन् ।

प्रकाशित : मंसिर २५, २०७९ १४:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×