काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको परोपकारी राजदूतमा प्रमोद खरेल

कान्तिपुर संवाददाता

काठमाडौँ — वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको संस्थापक अध्यक्षतामा सञ्चालनमा आउने काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओएच, काठमाडौं बाल स्वास्थ्य संस्थान) को परोपकारी राजदूत (फिलान्थ्रोफिक एम्बासडर) मा गायक प्रमोद खरेल नियुक्त भएका छन् ।

बिहीबार चपलीहाइटस्थित उक्त बाल अस्पतालको कार्यालयमा आयोजित एक समारोहमा अस्पतालका प्रमुख डा. भगवान कोइरालाले गायक खरेललाई परोपकारी दूतको नियुक्ति पत्रसहित सम्मान गरे ।

उक्त अवसरमा डा.कोइरालाले लोकप्रिय गायक प्रमोद खरेललाई काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको परोपकारी दूत बनाउन पाउँदा आफू तथा आफ्नो संस्था हर्षित भएको बताए ।

‘हामी के कुरामा विश्वस्त छौं भने गायक खरेलको स्वदेश तथा विदेशको लोकप्रियता तथा पहुँचका कारण हाम्रो संस्थाले गरेका राम्रा कामहरुको प्रवर्द्धन हुनुका साथै हाम्रो संस्थाको लक्ष्य प्राप्तिमा थप सहयोग पुग्ने छ', डा. कोइरालाले भनेका छन् ।

अस्पतालको तर्फबाट गरिएको सम्मान ग्रहण गर्दै गायक खरेलले आफू यो पवित्र योजनामा जोडिन पाउनु गौरवको कुरा भएको बताएका छन् ।

‘बालबालिकाहरुका निम्ति आज जनताले थेग्न सक्ने गरी सुलभ उपचार सेवाको उदेश्यले सातै प्रदेशमा अस्पताल स्थापना हुने यो महान् अभियानमा मेरो साथ र सहयोग रहने छ, गायक खरेल भन्छन्, ‘काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको यो मिसनमा आवद्ध हुन पाउदा डा. भगवान कोइराला लगायत सम्पूर्ण टिमप्रति आभार व्यक्त गर्दछु ।’

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले नेपालमा गुणस्तरीय बाल उपचार सेवा उपलब्ध गराउने र नेपालको स्वास्थ्य पूर्वाधार विस्तार गर्ने कार्य गर्दै आइरहेको छ ।

प्रकाशित : वैशाख २२, २०८० १०:१९
प्रतिक्रिया
पठाउनुहोस्

अशोक स्तम्भको त्यो खोज

त्यसताका निग्लिहवामा स्तम्भलाई भीमसेनको पाइप भनिन्थ्यो । फ्युरर १८९५ मार्चमा त्यहाँ पुग्दा बाह्मी लिपिको अभिलेख देखे । यसले नै अन्ततः बुद्धको जन्मस्थल पत्ता लगायो ।
मनोज पौडेल

लुम्बिनी — भारतमा सन् १८६१ मा पुरातत्त्व विभाग स्थापना हुनुअगाडि बुद्धस्थलबारे अत्तोपत्तो थिएन । जनरल अलेक्जेन्डर कनिङघम उक्त विभागको प्रथम निर्देशक बने । उनी तत्कालीन ब्रिटिस सेनाका मेजर थिए ।

ईस्वी सातौं शताब्दीमा आएका चिनियाँ यात्री ह्वेङसाङले यात्रा गरेका स्थानको अलेक्जेन्डरले अन्वेषण गरेका थिए । पुरातत्त्व विभागको टिम नै परिचालन गरेर उनले ह्वेङसाङले यात्रा विवरणमा उल्लेख गरेका पुरातात्त्विक स्थल पत्ता लगाउने कार्यको थालनी गरे । ‘कतिपय ठाउँमा अलेक्जेन्डर आफैं पुगेको पाइन्छ,’ यहाँस्थित वरिष्ठ पुरातत्त्वविद् वसन्त बिडारीले भन्छन्, ‘उनको प्रयासले बौद्धगया, सारनाथ, कुशीनगर, संक्स्या, श्रावस्ती, नालन्दा र साचीसम्म पत्ता लाग्यो ।’

त्यसबेलासम्म कपिलवस्तु र लुम्बिनी गर्भमा रहेको बिडारीले बताए । ‘त्यसबेला पत्ता लाग्न सकेन,’ बौद्ध इतिहासका जानकार उनले भने, ‘ह्वेङसाङले श्रावस्तीबाट ९० माइल उत्तर पूर्वमा शाक्य वंशीय राजधानी प्राचीन कपिलवस्तु रहेको यात्रा वर्णनमा उल्लेख गरेका छन् । अलेक्जेन्डरले भारतीय टेरोटोरीभित्र त्यस्तो स्थल भेट्न सकेनन् ।’

उनका अनुसार नेपाल आएर अनुसन्धान गर्न तत्कालीन राणा सरकारले विदेशीलाई अनुमति दिएका थिएनन् । ‘सन् १८९३ मा भारतको बलरामपुरस्थित आर्मीका मेजर जस्करण सिंह नेपाली जंगलमा सिकार खेल्न आउँदा एक ठाउँमा ढुंगाको स्तम्भ र त्यसमा केही अभिलेख देखे,’ बिडारीले सुनाए, ‘लखनउबाट प्रकाशित हुने पायोनियर पत्रिकामा सिंहले लेखमार्फत उक्त जानकारी गराएको पाइन्छ ।’

उक्त लेख पढेपछि अलेक्जेन्डरलाई ती स्तम्भ चिनियाँ यात्रीले वर्णन गरेअनुसार लुम्बिनी, निग्लिहवा र गोटिहवाका हो वा हैनन् भनेर खुल्दुली जागेको बिडारीले सुनाए । ‘तर, विदेशीलाई मुलुकमा आउन प्रतिबन्ध थियो,’ उनले भने, ‘त्यसैले अलेक्जेन्डरले स्तम्भ के रहेछन् भनेर पत्ता लगाउन अध्ययन अन्वेषण अनुमति माग्दै राणा सरकारलाई पत्राचार गरे ।’ पत्र प्राप्त गरेपछि तत्कालीन राणा सरकारले अध्ययनका लागि सहमति दिएको पाइन्छ ।

ब्रिटिस शासनकालमा पुरातत्त्व हेर्ने नर्थ वेस्ट प्रोभिन्स इन अवधको कार्यालय लखनउमा थियो । बिडारीले थपे, ‘त्यहीं काम गर्ने जर्मन सर्भेयर एए फ्युरर ह्वेङसाङले यात्रा विवरणमा उल्लेख गरेअनुसारको तथ्य पत्ता लगाउन नेपाल आए ।’ अवध कार्यालयले भारत सरकारको परराष्ट्र मन्त्रालयमार्फत मे १२ र जुन २९ १८९६ मा अध्ययनका लागि अनुमति माग गर्दै पत्राचार गरेको थियो । भारत सरकारले पत्राचार गरेपछि ७ सेप्टेम्बर १८९६ मा राणा प्रधानमन्त्री वीरशमशेरले फ्युररलाई नेपाल आएर अन्वेषण गर्न अनुमति दिएका थिए । ‘फ्युरर लखनउबाट दुई रेलमा यात्रा गरेर सीमास्थित भारतीय उस्का बजार पुगेको इतिहास छ,’ बिडारीले भने, ‘त्यहाँबाट उनी सोधपुछ गर्दै हात्तीमा नेपालका गाउँमा आए ।’ बिडारीका अनुसार त्यही क्रममा उनलाई गाउँलेले निग्लिहवा पुर्‍याएका थिए ।

‘निग्लिहवामा रहेको स्तम्भबारे स्थानीयलाई थाहा थियो,’ बिडारी सुनाउँछन्, ‘तर, अशोक स्तम्भ हो/होइन भन्ने जानकारी थिएन ।’ त्यसबेला गाउँलेहरू स्तम्भलाई भीमसेनको पाइप भनेर चिनाउँथे । फ्युरर पहिलो पटक १८९५ मार्चमा निग्लिहवा पुगेका थिए । त्यहाँ उनले बाह्मी लिपिमा पाली भाषाको अक्षर देखे । उनी बाह्मी लिपिबारे अनभिज्ञ थिए । उक्त भाषा र लिपिका बारेमा अस्ट्रियाको भियनामा पढाउने उनका गुरु प्रोफेसर बुलर जानकार थिए । बिडारीले भने, ‘उनले बुलरलाई उक्त लिपि पठाए । बुलरले उक्त अक्षर पढ्दा दोस्रो लाइनमा ‘बुदस कोनक मानस थुबे द्वितीयम बढती’ लेखेको देखे । त्यो भनेको कनममुनि बुद्धको स्तूप डबल साइजमा बढाइयो भनेर लेखेको प्रतिउत्तर गरे ।’ यसले कोनक मानस भनेको कनकमुनि बुद्धको जन्मस्थल हो भन्ने कुरा प्रमाणित भएको बिडारीको भनाइ छ । त्यसपछि फ्युरर उत्साहित भए ।

चिनियाँ यात्री ह्वेसाङले निग्लिहवादेखि पूर्वतिर करिब २० किलोमिटर दूरीमा ला–फा–नी गार्डेन रहेको उल्लेख गरेका थिए । चिनियाँहरूले लुम्बिनीलाई ला–फा–नी भन्ने गरेको लुम्बिनीको मौन आह्वान पुस्तकमा उल्लेख छ । ह्वेसाङले यात्रा विवरणमा त्यहाँ एउटा पोखरी रहेको उल्लेख गरेका छन् । ‘पानी निश्छल र सफा छ । पोखरीदेखि २४/२५ पाइला उत्तरमा एउटा अशोक रूख छ,’ चिनियाँ यात्रीको विवरणमा उल्लेख छ, ‘जसको हाँगा समातेर मायादेवीले राजकुमार सिद्धार्थलाई जन्म दिएकी थिइन् ।’ ती चिनियाँ यात्रीले रूखको ठुटो छ भनेर उल्लेख गरेको पाइन्छ । ‘त्यसकै छेउमा अशोक स्तम्भ छ भनेर उल्लेख गरेका छन्,’ बिडारीले भने, ‘अशोक स्तम्भको माथि घोडा थियो । उक्त घोडा चट्याङ लागेर जमिनमा लडिरहेको र स्तम्भ बीचमा चिरिएको देखिएको उल्लेख गरेका छन् ।’

निग्लिहवा पत्ता लागेपछि उत्साहित फ्युररले चिनियाँ यात्री ह्वेसाङले उल्लेख गरेको लुम्बिनी पोखरी आसपास हुनुपर्ने अनुमान लगाए । ‘विवरणअनुसारका प्रमाण फेला पारेपछि उनी जन्मस्थान भेटियो भनेर खुसी भए,’ बिडारीले सुनाए, ‘उनलाई तिलौराकोट, निग्लिहवा आसपासबाहेक अन्वेषण गर्ने अनुमति राणा सरकारले दिएको थिएन । यसपछि उनलाई समस्या भयो ।’

त्यसपछि थप अनुन्धानका लागि तत्कालीन राणा सरकारसित अनुरोध गर्ने सोच बनाए । राणाहरूलाई कनकमुनि बुद्धको जन्मस्थान भेटिँदा खुसी मिलेको र बुद्धको जन्मस्थल लुम्बिनीको खोज अनुसन्धान गरेर विश्वलाई चिनाउनुपर्ने आवश्यकता रहेको जानकारी गराए । लुम्बिनी क्षेत्रमा अन्वेषणका लागि अनुमति माग्दै उनले राणा सरकारलाई पत्राचार पनि गरे ।

बिडारीका अनुसार पाल्पाका तत्कालीन बडाहाकिम खड्गशमशेरसित मिलेर लुम्बिनी खोज्न फ्युररले राणा सरकारबाट अनुमति पाए । दुवैबीच सन् १८९६ मा पत्राचार भएर काम गर्ने सहमति भयो । बडाहाकिम खड्गशमशेरले ‘१८९६ नोभेम्बर ३० मा तिमी निग्लिहवामा आएर पर्ख, म त्यहीं आउँछु’ भनेर पत्राचार गरेको पाइन्छ । ‘त्यसपछि ३० नोभेम्बरका दिन फ्युरर निग्लिहवा पुगेको देखिन्छ,’ बिडारीले भने, ‘तर, खड्गशमशेर पुग्न सकेनन् ।

पाल्पाबाट आफ्नो तहसिलमा पर्ने लुम्बिनी हुँदै जाँदै गर्दा खड्गशमशेरले बाटोमा ढिस्को देखे । स्तम्भ एक हात माथि निस्किएको थियो । उनले त्यही खनाउन थाले । निग्लिहवामा पूर्वनिर्धारित भेट हुन नसकेपछि फ्युरर पनि हात्तीमा लुम्बिनीतिर गएको इतिहासमा उल्लेख छ । डिसेम्बर १ मा दुवै जनाको लुम्बिनीमा भेट भयो । बिडारीले थपे, ‘फ्युरर पुग्नसाथ अशोक स्तम्भ नजिक ३ फुट खनेका के थिए, अभिलेख देखियो ।’ पाली भाषाको बाह्मी लिपिमा लेखिएको अभिलेखबारे बडाहाकिम खड्गशमशेर अनभिज्ञ थिए । उनले यसबारे कुनै मेसो पाएनन् । तर, फ्युरर भने निग्लिहवाको अभिलेखबारे धेरै शोधखोज गरेर अध्ययन अनुसन्धान गरेकाले थोरै जानकार थिए । उनले बाह्मी लिपिको अक्षर बुझ्न सक्थे । दोस्रो लाइनमा हिदबुद्ध जाते शक्यमुनि ते लेखेको देखे । फ्युररले ‘यो त शाक्यमुनि बुद्धको जन्मस्थान लेखिएको छ’ भन्दा खड्गशमशेर निकै खुसी भए ।

‘अशोक स्तम्भ पत्ता लगाउने ऐतिहासिक अवसर दुवैलाई जान्छ,’ तीन दशकदेखि लुम्बिनीको अध्ययन अनुसन्धान र अन्वेषण गर्दै आएका वरिष्ठ पुरातत्त्वविद् बिडारीले भने, ‘दुवैले निग्लिहवामा भेटेर लुम्बिनी खोज गर्ने विषयमा भएको पत्राचार नै अशोक स्तम्भ पत्ता लाग्ने आधार बन्यो ।’ अशोक स्तम्भ पहिलो पटक खड्गशमशेरले देखे । त्यसलाई प्रमाणित गर्ने काम फ्युररले गरे । बुद्ध दर्शनमा २९ वटा बुद्धको उल्लेख छ । तर, सम्राट् अशोकले शाक्यमुनि बुद्ध भनेर लेखेकै कारण पनि उक्त स्तम्भ रहेको ठाउँ राजकुमार सिद्धार्थ जन्मेको ठाउँ हो भनेर संसारले जानेको उनले बताए । त्यसअघि भारतमा शासन गरिरहेको ब्रिटिसले शाक्यवंशीय राजधानी तिलौराकोट र जन्मस्थान लुम्बिनी बस्ती, गोरखपुरतिर खोज्दै थिए ।

लुम्बिनी फेला पर्नुमा भारतीय पुरातत्त्व विभागका डाइरेक्टर जनरल कनिङ्घमलाई पनि सम्झनुपर्छ । उनकै अग्रसरतामा लुम्बिनी पत्ता नलाग्दै बुद्धले ज्ञान प्राप्त गरेको भारतको बौद्धगया, प्रथम देशना गरेको सारनाथ र महापरिनिर्माण प्राप्त कुशीनगर पत्ता लगाइसकेका थिए । तर, जन्मस्थल पत्ता नलाग्दा बुद्धको इतिहास र अध्ययन अपुरो थियो । उनी सैनिक भए पनि पुरातत्त्वमा रुचि थियो । बेलायतमा पुरातत्त्वको क्षेत्रमा काम गरेका थिए ।

यता जर्मन सर्भेयर फ्युररलाई खड्गशमशेरले भेटेपछि पुरातत्त्वमा अलि रुचि बढ्यो । उनले सोधखोज र अध्ययन गर्न थाले । सन् १९०४ मा बुद्धिस्ट आर्केलोजी अफ नेपाल तराई विषयमा भारतको लखनउबाट प्रकाशित हुने पायोनियर पत्रिकामा खड्गशमशेरले तीनवटा आर्टिकल लेखे । कपिलवस्तु, रूपन्देही र नवलपरासीमा भएका पुरातात्त्विक स्थलका बारेमा लेखेका थिए । यिनै लेखमार्फत यस क्षेत्रको पुरातात्त्विक महत्त्व बाहिर आएको हो । उनको लेखमा गोटिहवाको स्तम्भको माथिल्लो भाग निग्रोधारामको पोखरीको दक्षिण पूर्वी डिलमा लडिरहेको देखेको उल्लेख छ । तर, त्यहाँ त्यो फेला पार्न सकिएको छैन । उता फ्युररले पनि कपिलवस्तुमा १० पुरातात्त्विक स्थल अन्वेषण गरेर भारतीय पुरातत्त्व विभागलाई प्रतिवेदन बुझाए । तिलौराकोट नै शाक्यहरूको राजधानी हुन सक्ने प्रशस्त आधार देखाउँदै उनले प्रतिवेदन दिएका थिए ।

त्यसपछि १८९९ मा कपिलवस्तु लुम्बिनीको अध्ययन गर्न भारतीय पुरातत्त्वविद् पीसी मुखर्जी आए । लुम्बिनीमा उत्खनन गरे । ढिस्को खन्दा स्तूप फेला पारे । मायादेवी मन्दिर विभिन्न कालखण्डमा बनेको भनी पत्ता लगाए । मायादेवी मन्दिर सप्तरथ आर्किटेक्टमा बनेको हुनुपर्छ भन्ने बताए । मन्दिरमा रहेको मायादेवीले बुद्धलाई जन्म दिँदाको मूर्ति टाउकोविहीन थियो । टाउको पछाडिपट्टि थियो । त्यसलाई जोडेर सग्लो बनाएका थिए ।

मुखर्जी आउनुअघि १८९८ मा थाई राजकुमार जीनवर वंश र अनागरिक धर्मपाल आएर उक्त मूर्ति हेरेको पुस्तकमा पाइन्छ । १९३३ देखि १९३९ सम्म केशरशमशेरले ठूलो उत्खनन गरे । त्यसपछि १९६२ मा भारतीय पुरातत्त्वविद् देवला मित्र आइन् । उनले अशोक स्तम्भको जग पत्ता लगाउन पश्चिमी भागमा खाल्डो खनिन् । उनले नै मौर्यकाल (चौथो शताब्दीदेखि दोस्रो शताब्दी ईसापूर्व) को प्रविधिले पालिस गरेको बताइन् । उनले उत्खनन गर्दै गर्दा भैरहवाबाट घुम्न आएका बडाहाकिमले काम बन्द गराएको कुरा पुस्तकमा उल्लेख गरेको पाइन्छ ।

संरक्षण प्रयास

सन् १९७० देखि पुरातत्त्व विभागले लुम्बिनीमा संरक्षणको काम थालेको हो । पुरातत्त्वविद् बाबुकृष्ण रिजालले स्तम्भमा लेखिएको लुम्बिनी गामे पत्ता लगाए । २०१० देखि २०१२ सम्ममा जेफिड परियोजनाअन्तर्गत तीनवटा काम भए । जसअन्तर्गत पुरातात्त्विक वस्तुको संरक्षण पनि भएको थियो । त्यसैअन्तर्गत अशोक स्तम्भको पनि वैज्ञानिक तरिकाले संरक्षण गरिएको थियो । युनेस्को परामर्शदाता तथा स्टोन विशेषज्ञ इटालीका कन्स्टयान्टिनो म्युचीको नेतृत्वमा रहेको टोलीले स्तम्भको रासायनिक संरक्षण गरेको थियो । पहिले स्तम्भलाई बाँधेको फलामको पेटी निकालेर गन म्याटलले बाँधिएको छ । स्तम्भमै आईआर क्यामेरा र अत्याधुनिक उपकरण जडान गरेर उनले अनुसन्धान गरेका थिए ।

राम्रोसँग संरक्षण भएकाले अहिलेसम्म भेटिएका अशोक स्तम्भमध्ये सग्लो र नबिग्रिएको अभिलेख लुम्बिनीको मात्रै हो । यहाँ साढे ४ लाइन, ९० अक्षर र २६ शब्दको अभिलेख छ । शासक फिरोज शाहको पालामा निस्किएको एन ए अकबरी पुस्तकमा ४० पांग्रा भएको गाढालाई ५ सय घोडाले तानेको दृश्य छ । जसमा स्तम्भ लोड गरिएको छ ।

स्तम्भ १३ फुट ८ इन्च जमिनमुनि गाडिएको छ । माथिल्लो घोडाको भाग तल झरेको छ । तेस्रो शताब्दी ईसापूर्वमा यत्रो तौल भएको स्तम्भ कसरी ल्याइयो होला भन्ने पनि छ । एन ए अकबरी पुस्तकमा उल्लेख भएजस्तै यहाँ ल्याइएको हुन सक्ने पुरातत्त्वविद् बिडारीले बताए । अशोक स्तम्भको अभिलेख नै बुद्ध जन्मस्थलको अकाट्य प्रमाण हो । स्तम्भले नै सग्लो रूपमा लुम्बिनी विश्वभर चिनाएको छ । शान्तिको मुहान भनेर श्रद्धालु, उपासक, उपासिका, शुभेच्छुक, शुभचिन्तक र पर्यटकहरू आस्था र विश्वास राख्छन् । अहिले बर्सेनि स्वदेशी र विदेशी १६ लाख बढी पर्यटकले लुम्बिनीको भ्रमण गरिरहेका छन् ।

प्रकाशित : वैशाख २२, २०८० १०:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×