२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

संकल्प यात्रामा जे देखियो

नीति, विचार, सिद्धान्त, उद्देश्य र कार्यक्रम नभएकाहरूले एकछिन त जनतालाई भ्रमित गर्लान् तर उनीहरूबाट देशको नेतृत्व सम्भव छैन भन्ने कुरा स्वयम् जनताले महसुस गरेको अनुभूति भयो ।
खिमलाल भट्टराई

नेपाली राजनीतिमा तरंग पैदा गर्ने लामो यात्रा यस पटक नेकपा एमालेले तय गर्‍यो । मुलुकको पश्चिमी भूभाग बैतडीको झुलाघाटबाट उक्त यात्रा आरम्भ भएको हो । २०८० मंसिर १४ देखि लगातार उन्नाइस दिनसम्म चलेको यात्रा पुस १ गते पूर्वी भूभाग पाँचथरको चिवाभन्ज्याङमा गएर समापन भएको थियो ।

संकल्प यात्रामा जे देखियो

यसको विशेषता राष्ट्रिय चरित्रको थियो । पार्टीविशेषले आयोजना गरेको यस अभियानमार्फत राष्ट्रिय झन्डाको सम्मान र प्रयोग गरेर दलहरू राष्ट्रका लागि हुन् भन्ने मानक मुलुकको राजनीतिमा नेकपा एमालेले स्थापित गर्‍यो ।

यो लम्बेयात्राका नेतृत्वकर्ता केपी शर्मा ओलीले यात्रा क्रममा आयोजित सभाहरूमा देशको अवस्था, अर्थतन्त्र, विकास र राष्ट्रियताका बारेमा सम्बोधन गरेका थिए । कटाक्ष र विरोध थिएन । मूलतः परिवर्तनको संस्थागत विकास, जनताको जीवनमा कसरी बदलाव ल्याउन सकिन्छ, देशलाई कसरी विकासको बाटोमा हिँडाउन सकिन्छ र राष्ट्रियतालाई कसरी बलियो बनाउन सकिन्छ भन्नेमै अध्यक्ष ओलीको सम्बोधन केन्द्रित थियो । यस अभियानमा भएका सम्पूर्ण भेटघाट, अन्तरक्रिया वा स–साना कोणसभाहरूमा पनि छलफलका विषयवस्तु यिनै थिए । समग्रमा यो यात्रा राष्ट्रिय मुद्दाहरूमा केन्द्रित थियो ।

यस अभियानमा प्रस्ट भयो— जनमत लोकतान्त्रिक गणतन्त्रको पक्षमै छन् । पछिल्लो समय देशमा जनता परिवर्तनको पक्षमा छैनन् अर्थात् गणतन्त्रको पक्षमा छैनन् भन्ने पार्न खोजिएको थियो । जनता पछाडि फर्किन चाहन्छन्, राजतन्त्र वा राजसंस्था अपरिहार्य भइसकेको छ, देश जोगाउने, विकास गर्ने र जनताको जीवन बदल्ने राजाले नै हो भन्ने मिथ्या प्रचार प्रतिगामी प्रतिक्रियावादी व्यक्ति, समूह वा कतिपय ससाना दलबाट गैरसंवैधानिक रूपमा भइराखेको थियो । गठबन्धन सरकारको अयोग्यता र अक्षमताका कारण कतै उनीहरूको कुरा सही हो कि जस्तो पनि हुन लागेको थियो । सडकहरूमा उनीहरूकै कर्कश आवाज गुन्जिरहेको थियो ।

जब एमालेको यो यात्रा आरम्भ भयो र अध्यक्ष ओलीको सम्बोधनमार्फत पार्टीले राजनीतिक परिवर्तनले स्थापित गरेका मूल्य र उपलब्धिहरूमाथि स्पष्ट विचार अगाडि सार्दै प्रतिगामी कित्ताका नाजायज कदमहरूको भण्डाफोर सुरु गर्‍यो, प्रतिगामी खेमाका सबै कुप्रचार निस्तेज बन्न पुगे । तिनीहरूको चुरीफुरी ठाउँको ठाउँ सेलाउन पुग्यो । यस यात्राको महत्त्वपूर्ण राजनीतिक उपलब्धि र सन्देश यही हो ।

जनता भिजन, मिसन र लक्ष्य केन्द्रित दलकै साथमा छन् भन्ने कुरालाई पनि यस यात्राले स्पष्ट पारेको छ । एमालेलाई समेत एउटै डालोमा हालेर भूमिका र योगदान भएका दलहरूविरुद्ध नयाँ हौं भन्नेहरूले विषवमन गरिरहेका थिए । रवि लामिछाने र त्यही प्रवृत्ति बोक्नेहरूले एक हदसम्म जनतालाई भ्रमित गर्न खोजेकै हुन् । यस यात्रामा उर्लिएको जनताको पंक्तिले उनीहरूलाई पनि निष्प्रभावी तुल्याइदिएको छ । यद्यपि संसद्, सडक र सरकार तीनै ठाउँमा उनीहरूका पछिल्ला गतिविधिले उनीहरूप्रति जनविश्वास कमजोर हुँदै गएकै थियो । नीति, विचार, सिद्धान्त, उद्देश्य र कार्यक्रम नभएकाहरूले एकछिन् त जनतालाई भ्रमित गर्लान् तर यस यात्राका क्रममा उनीहरूबाट देशको नेतृत्व सम्भव छैन भन्ने कुरा स्वयम् जनताले महसुुुस गरेको अनुभूति भयो ।

राजनीतिक परिवर्तनपश्चात् सफलतापूर्वक निर्माणकालको नेतृत्व लिन र आफूलाई एकताबद्ध गर्न नसकेकामा ठूला राजनीतिक दलहरूसँग जनताका गुनासाहरू छन् । यसको अर्थ जनताले उनीहरूसँग सम्बन्ध तोडिसके भन्ने किमार्थ होइन । यस यात्राका क्रममा एमालेलाई जनताले जुन स्वागत र सत्कार गरे, जुन किसिमको आस्था र विश्वास एमालेप्रति प्रकट गरे, यसबाट मौका पाउँदा एमालेले मुलुकको विकास र समृद्धिका निम्ति लिएको विशेष पहलकदमी र परिणामको छाप जनतामा छ भन्ने स्पष्ट देखिएको छ । र, स्टन्टबाजी, सामाजिक सञ्जालको महामारीका पछाडि होइन, स्पष्ट नीति, कार्यक्रम, लक्ष्यसहित सक्षम नेतृत्वसहितको पार्टीकै साथमा जनता छन् भन्ने प्रस्ट भएको छ ।

यो यात्राको अर्को सन्देश साझा पहिचानकै पक्षमा जनमत छ भन्ने हो । एकल जातीय पहिचानवादीहरूले यस यात्रालाई अवरोध सिर्जना गर्न अनेकौं हतकण्डा अपनाए । खास गरी कोशी प्रदेशमा उनीहरूले यो हर्कत गरे । सडकमा रूख ढालेर बाटो छेक्न खोजे । प्रदेश बन्दको आह्वान गरेर जनतालाई विरोधमा लैजाने कोसिस गरे । धाकधम्की दिए, आतंक सिर्जना गरे । यद्यपि यी सबैका बाबजुद यात्रा सानदार रूपमा अगाडि बढ्यो । जनताले उनीहरूका ती हर्कतहरूलाई वास्ता गरेनन् । आयोजित सभा र कार्यक्रमहरूमा जनसहभागिता व्यापक भयो ।

ओखलढुंगाको हर्कपुर, तेह्रथुमको वसन्तपुर र पाँचथरको फिदिममा आयोजित सभाहरूमा उर्लिएको जनसागरले यस कुरालाई प्रमाणित गरेर देखाइदिए । जनता मिलेर बस्न चाहन्छन् । मुलुकको बहुजातीय सामाजिक संरचनामा एकल जातीय पहिचान सम्भव छैन । साझा पहिचानको आवश्यकताको बोध जनतामा देखिनु देशकै लागि सुखद पक्ष हो । कोशी प्रदेशमा जनताले स्वयम् उपस्थित भएर त्यसको सन्देश दिए । माथि उल्लिखित राजनीतिक सन्देशहरूका अलावा अरू केही महत्त्वपूर्ण उपलब्धि र दृश्यहरूसमेत यस यात्राका क्रममा प्रकट भए ।

यस यात्राबाट जनतामा व्यापक आशा र उत्साहको सञ्चार भएको छ । यस सिलसिलामा मुलुकको सर्वाधिक लोकप्रिय पार्टी र त्यसको समग्र शीर्ष नेतृत्व पंक्तिलाई आफ्ना आँखैअगाडि भेट्न, देख्न, सुन्न र सुनाउन पाउँदा जनतामा अपार हर्षको अनुभूति प्रकट भएको सहजै देख्न सकिन्थ्यो । नेताहरू चुनावमा बाहेक गाउँ फर्किन्नन् भन्ने कुरालाई यस यात्राले खण्डन गरिरहेको थियो ।

स्थानीय समस्याहरूलाई जनताले धक फुकाएर राखिरहेका थिए । सडक, पुलपुलेसा, खानेपानी, स्कुल, अस्पताल, सिँचाइ, कृषि बजार, रोजगारी आदि समस्याहरू लिखित तथा मौखिक रूपमै पनि राखिरहेका थिए । आफ्ना दुःख बिसाउन पाउँदा उनीहरूमा छाएकोे हर्षको अनुभूति अनुहारमा पढ्न सकिन्थ्यो । बडो धैर्यपूर्वक जनताका कुरा र समस्यालाई अध्यक्ष ओलीले सुनिरहेका थिए र ग्रहण गरिरहेका थिए । यात्राले गाउँबस्तीहरूलाई उल्लासमय बनाएको थियो ।

यस यात्राको अर्को महत्त्वपूर्ण उपलब्धि, मध्यपहाडी पुष्पलाल लोकमार्गको बाँकी निर्माण कार्य सम्पन्न गर्न जबर्जस्त दबाब पैदा भएको छ । पहाडी भूभाग र जनजीवनको विकासको मेरुदण्डका रूपमा रहेको यो राजमार्ग विभिन्न खण्डमा सामान्य ट्र्याक मात्रै खुलेको अवस्था छ । बसाइँसराइ र अविकासको चपेटामा परेको मुलुकको पहाडी भूभागका लागि यस सडकको महत्त्व कति छ, सहजै अनुमान गर्न सकिन्छ । तर पनि सडक निर्माणको गति असाध्यै धीमा छ ।

यस सडकमा एमालेको यात्रा हुने भएपछि सरकार र सम्बद्ध अधिकारीहरूलाई दबाब परेको होला, कम्तीमा एउटा गाडी गुड्न मिल्ने गरी भए पनि पूर्वपश्चिम सडक खुलेको थियो । १८ सय ७९ किलोमिटरको यात्रा गर्दैगर्दा सडकको अझै धेरै भाग कच्ची नै देखियो । यात्राको सन्देश र जनताको आवाज छ— सरकारले छिट्टै सडक निर्माण सम्पन्न गरोस् ।

यसका अलावा एमालेको आन्तरिक जीवनका लागि पनि सन्देशस्वरूप जनताले सडक र बस्तीहरूमा जम्मा भएर भनिदिए— हामी साथ दिन तयार छौं तर आफैंभित्र अन्तरविग्रह र घात–अन्तर्घात गरेर हाम्रो साथलाई कमजोर र असफल नबनाइदिनू । यात्रामा उपस्थित भएर जनताले एमाले पंक्तिलाई दिएको सल्लाह र चुनौती यही हो । जनताको आवाजलाई एमालेजनले ध्यान दिनु आवश्यक छ ।

अभियानका क्रममा मुलुकको वर्तमान अवस्थाको चर्चा गरियो । गठबन्धन सरकारको निकम्मापन, अक्षमताका कारण मुलुकको राजनीतिक, सामाजिक, आर्थिकसहित हरेक क्षेत्र कमजोर हुँदै गएको छ । संसदीय गणित र कांग्रेसको कमजोर राजनीतिले गर्दा भर्खरै राजनीतिक अवस्थामा बदलाव आइहाल्ने स्थिति देखिएको छैन । त्यसैले अवस्था बिग्रिँदाबिग्रिँदै पनि सुधार र परिवर्तनको बाटो खोज्न आगामी निर्वाचन कुर्नैपर्ने हुन सक्छ । त्यो राष्ट्र र जनताका लागि बाध्यात्मक परिस्थिति हो ।

आगामी निर्वाचन मुलुक र जनताका लागि असाध्यै पेचिलो छ । जनता अलमलमा पर्नु हुँदैन । सही नीति र कार्यक्रमसाथ मुलुकको गतिशील नेतृत्व एमालेबाहेक अरूबाट सम्भव छैन । त्यसैले ‘मिसन ८४’ एमालेको मात्रै होइन, देश र जनताको पनि मिसन बन्नुपर्छ । देशी–विदेशी तत्त्वहरूका अनेकन् घेराबन्दीलाई तोड्नुपर्छ । राष्ट्रिय शक्ति मजबुत बनाउन एमालेको अगुवाइमा जनताको पंक्ति एकजुट हुनुपर्छ । यस यात्राका क्रममा जनताले अनुमोदन गरेको एमालेको अपिल यही हो ।

यति बेला लोकप्रिय र सबैका साझा नेता ‘केपी बा’ भएका छन् । यस यात्राका सिलसिलामा देखिएको एउटा गज्जबको दृश्य हो— अध्यक्ष ओलीप्रति जनताको प्रेम र स्नेह । हाम्रो मुलुकमा यस स्तरमा जनताले मन पराएको सामाजिक–राजनीतिक नेतृत्व तहको व्यक्ति सायदै अर्को होला । त्यहाँ कुनै राजनीतिक आस्थाले बाँधेको छैन । उमेर समूहको सीमाबन्दी छैन । ‘सबैका बा केपी बा’ । बच्चाबच्ची, युवायुवती सबैका प्रिय बा । हुँदाहुँदै आफ्नै उमेर समूहकाले पनि बा भनेको सुनियो । बाजागाजा, विभिन्न संस्कृति झल्किने झाँकीहरू, फूलमाला र सजिएका घडा आदिले हार्दिकतापूर्वक स्वागतसत्कार गरेको देखियो । घरका कौशी र बार्दलीमा बसेर ‘केपी बा आई लभ यु’ भन्दै चिच्याइरहेको पनि देखियो, सुनियो । सडकमा बसेर हेरिरहेका, पर्खिरहेकाहरू कतिपयले ‘केपी बालाई देख्नै पाइएन’ भन्दै दुःखेसो पोखेको पनि सुनियो । भेटघाटहरूमा कसैले आफ्ना घरेलु उत्पादनहरू उपहार दिइरहेका थिए त कसैले आफ्नो संस्कृति झल्किने पोसाक लगाइदिइरहेका थिए ।

यात्राका क्रममा यसरी नै वडा, पालिका र जिल्लास्तरमा भएका अन्तरक्रियाहरू अधिकांशमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सामूहिक रूपमा सहभागी भएर छलफल गरिरहेका थिए एवं माग र अवधारणा पत्र हस्तान्तरण गरिरहेका थिए । सडकमा जे देखियो, त्यसको संश्लेषण गर्दा यो यात्रा फगत यात्रा मात्रै थिएन, यो एउटा उत्सव थियो । विकासको बहस थियो र जागरण थियो ।

यात्रामा जनताबाट प्रकट भएको अपार श्रद्धा, स्नेह, प्रेम र विश्वासले अध्यक्ष ओलीलाई ‘केपी बा’ बनाइदिएको छ । अर्थात्, यतिखेर उनी एउटा दलका नेता मात्रै रहेनन्, देश र जनताका अभिभावक बन्न पुगेका छन् । निश्चित रूपमा यसले उनीमाथि दायित्व र अभिभारा पनि थपिदिएको छ । उनलाई सफलता मिलोस्, यसैमा देश र जनताको भलो छ !

अन्त्यमा, झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा सफलतासाथ सम्पन्न भएको छ । ‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ भन्ने यसको उद्देश्य थियो । सोही उद्देश्यबमोजिम स्थानीय जनतासँग सम्बन्ध स्थापित गर्न र राष्ट्रिय सन्देश प्रवाह गर्न यात्रा सफल छ ।

-भट्टराई एमालेका पोलिटब्युरो सदस्य हुन् ।

प्रकाशित : पुस ५, २०८० ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?