कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

निक्षेप तथा लगानीमा ब्याजदरको प्रभाव 

निक्षेप ब्याजदर बढ्दा बचत अझ बढी हुनुपर्ने र कर्जाको ब्याजदर घट्दा ऋणको माग बढी भई कर्जा लगानीमा अझ वृद्धि हुनुपर्ने हो । तर त्यस्तो भएको देखिन्न ।
दुर्गा कँडेल

सर्वसाधारणसँग रहेको बचत रकमलाई एकत्रित गरी निक्षेपका रूपमा जम्मा गरिन्छ र आवश्यक पर्ने व्यक्तिलाई कर्जास्वरूप लगानी गरिन्छ, जुन मागेका बखत फिर्ता दिने सर्तमा नासोका रूपमा लिइएको हुन्छ । निक्षेपकर्ताले विश्वासका रूपमा बैंक तथा वित्तीय संस्थामा जम्मा गरेको बचत रकममा निश्चित प्रतिशत ब्याजदर कायम गरिएको हुन्छ ।

निक्षेप तथा लगानीमा ब्याजदरको प्रभाव 

बैंक तथा वित्तीय संस्थाले निक्षेपमा मात्रै ठूलो रकम ब्याजस्वरूप खर्चिएका हुन्छन् । बैंक तथा वित्तीय संस्थाको खर्चको सबैभन्दा ठूलो अंश निक्षेपमा दिने ब्याज नै हुन्छ । निक्षेपकर्ताले वित्तीय बजारको ब्याजदरलाई नियालिरहेका हुन्छन्; जहाँ बढी ब्याजदर पाइन्छ, त्यहीँ बचत गर्न चाहन्छन् ।

बढी ब्याजदरको चाहनाका कारण सहकारीमा रकम राख्ने प्रवृत्तिले आज धेरै निक्षेपकर्ता मारमा परेका छन् । कतिपय सहकारी रातारात फरार भएका छन् भने कतिले घरजग्गामा अन्धाधुन्द लगानी गरेकाले निक्षेपकर्ताले मागेका बखत रकम पाउन सकिरहेका छैनन् । सामान्यतया जोखिम लिन नचाहने व्यक्तिहरूले निश्चित प्रतिशत ब्याज पाउने गरी बैंक तथा वित्तीय संस्थामा रकम राख्ने गरेका छन् । सामान्यतया ब्याजदर एउटा स्किम हो जसका आधारमा निक्षेप तथा कर्जा घट्ने–बढ्ने गर्छ ।

निक्षेपजस्तै लगानी तथा कर्जालाई पनि ब्याजदरले प्रभाव पार्छ । जुन संस्थामा लगानीको ब्याजदर कम छ, ऋणीहरू त्यतै पुग्छन् । बैंक तथा वित्तीय संस्थाको आम्दानीको मुख्य स्रोत भनेको कर्जा लगानीबाट प्राप्त ब्याज नै हो । साथै अन्य ट्रेजरी बिलमा गरिएको लगानी, क्रेडिट पर्चेज, कमिसन, सेवाशुल्क आदिबाट प्राप्त रकम पनि आयस्रोत नै हो । ब्याजदरलाई एउटा महत्त्वपूर्ण चरका रूपमा लिइन्छ, जसले पैसालाई चलायमान बनाउँछ । सामान्य सिद्धान्तअनुरूप बैंक तथा वित्तीय संस्थामा निक्षेपको ब्याजदर उच्च हुँदा सेयर, बन्ड तथा ऋणपत्रको लगानी कम हुन्छ । कर्जामा ब्याजदर कम हुँदा लगानीकर्ताले कर्जा लिएर सेयर तथा ऋणपत्रमा लगानी गर्ने, व्यवसाय गर्ने, निर्माणको काम हुने हुन्छ, जसले गर्दा पैसा चलायमान हुन्छ ।

२०६९ देखि २०८० सालसम्मको अवधिलाई हेर्दा, निक्षेप हरेक वर्ष बढिरहेको छ र लगानी पनि । तर लगानीको प्रभाव कहीँ परेको देखिँदैन । पछिल्लो समय अर्थतन्त्रमा देखिएको तरलताको संकुचनले लगानी साँघुरिएको छ । यति लामो समयसम्म लगानी बढिरहँदा पनि प्रभाव नदेखिनुलाई सकारात्मक मान्न सकिँदैन ।

२०७७ सालमा निक्षेप १९.७ प्रतिशत वृद्धि हुँदा कर्जा २७.७ प्रतिशतले बढेको देखिन्छ । आर्थिक वर्ष २०७९–८० को अन्तिम महिनामा ब्याजदर सामान्य घट्दा पनि कर्जाको वृद्धि मुस्किलले भयो । २०७१ सालदेखि बैंक तथा वित्तीय क्षेत्रमा निक्षेपका तुलनामा कर्जा लगानी बढ्दै गएको हो । २०७३ सालमा निक्षेप र कर्जा दुवैमा औसत ब्याजदर घट्यो । यसले गर्दा निक्षेप पनि घट्यो, जुन स्वाभाविक हो । तर आश्चर्य, कर्जा पनि घट्यो ! २०७५ मा ब्याजदरमा वृद्धि हुँदा निक्षेप र कर्जा दुवै बढ्यो । २०७८ मा पनि निक्षेप र कर्जामा ब्याजदर घट्दा कर्जा पनि घटेको देखियो । तसर्थ ब्याजदरको प्रभाव पूर्ण रूपमा न निक्षेपमा परेको छ न त लगानीमा । निक्षेप र लगानीको औसत ब्याजदर समयसमयमा तलमाथि भएको छ, २०७३ सालमा ३.०९ प्रतिशतदेखि २०८० मा पुग्दा ७.९९ प्रतिशतसम्म र २०७३ मा ८.८८ प्रतिशतदेखि २०६९ मा १४.२२ प्रतिशतसम्म । ब्याजदर ४ प्रतिशतभन्दा माथि घटबढ भइरहँदा निक्षेप र लगानीले आफ्नै गति लिएको देखिन्छ ।

ब्याजदरका कारण निक्षेप र लगानीमा सकारात्मक वा नकारात्मक सम्बन्ध मात्रै रहेको देखिन्न । यो प्रवृत्ति लगानी र ब्याजदरमा मात्रै होइन, निक्षेप र ब्याजदरमा पनि उस्तै छ । जुन गतिमा निक्षेप बढिरहेको छ, त्यसको औसत ब्याजदर त्यही हिसाबले निकै तलमाथि भएको छ । पछिल्लो समय निक्षेपको ब्याजदर १२.१३ प्रतिशतसम्म पुग्दा पनि वित्तीय बजारमा पर्याप्त तरलता आउन सकेन । ब्याजदर एउटा महत्त्वपूर्ण तत्त्व हुँदो हो त यसको प्रभाव देखिनुपर्थ्यो । यसबाट के स्पष्ट हुन्छ भने, ब्याजदरले निक्षेपको वृद्धि तथा ह्रासमा खासै फरक पार्दैन ।

निक्षेपकर्तालाई ब्याजदरको मतलब नभएर यस्तो भएको हो ? कि, वित्तीय साक्षरताको अभाव हो ? निक्षेपकर्ताहरूको ब्याजदरमा चासो नभई साउँ रकम मात्र सुरक्षित होस् भन्ने चाहनाका कारण यस्तो भएको हो भने यो गम्भीर विषय हो । देशमा रोजगारी छैन, श्रम गर्ने युवाहरूले विदेशलाई गन्तव्य बनाउँदै छन्, उत्पादन ठप्पप्रायः छ, आयातको बढ्दो छ, देश रेमिट्यान्समा अडेको छ । यस्तो अवस्थामा ब्याजदरले निक्षेपमा कुनै असर परेको नदेखिनु सोचनीय छ ।

निक्षेपको औसत ब्याजदर जति बेला बढेको हुन्छ, त्यो समय कर्जाको औसत ब्याजदर पनि उकालो लागेको देखिन्छ । तरलतामा संकुचन आउँदा ब्याजदर, निक्षेपको होस् कि कर्जाको, बढेको पाइन्छ । तर निक्षेप ब्याजदर बढ्दा बचत अझ बढी हुनुपर्ने र कर्जाको ब्याजदर घट्दा ऋण लिनेको माग बढी भई कर्जा लगानी अझ बढी हुनुपर्ने हो । तर त्यस्तो भएको देखिन्न ।

बैंक तथा वित्तीय संस्थाको लगानी उत्पादन क्षेत्र, पर्यटन, पूर्वाधार निर्माण, सेवा क्षेत्रमा हुने; देशमा रोजगारी हुने; मानिसको आय र क्रयशक्ति बढ्दो अवस्थामा हुने; निर्यातले आयात प्रतिस्थापन भई व्यापार घाटा नभई नाफाको स्थिति हुने; रेमिट्यान्स देश विकासमा लगाउने वातावरण हुने; आयातले निर्यात क्षमता वृद्धिको अवस्था हुने भएमा मात्र निक्षेप तथा लगानी ब्याजदरको प्रभाव सकारात्मक हुन सक्छ । र, समग्रतामा आम्दानी बढ्न गई देश आफ्नो खर्च धान्न सक्ने हैसियतमा पुग्नेछ ।

निक्षेप तथा लगानीमा ब्याजदरको सम्बन्ध सकारात्मक नदेखिनुका प्रमुख कारण—

१. निक्षेप संकलनको स्रोत के हो ? रकम कहाँबाट आइरहेको छ ? वैधानिक हो कि होइन ? हेर्नुपर्ने हुन्छ । बैंक तथा वित्तीय संस्थामा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा संकलन भएको निक्षेपको वास्तविक स्रोत खोज्नुपर्छ । बैंक तथा वित्तीय संस्थाहरूबीच अस्वस्थ प्रतिस्पर्धा हुनु, प्रविधिको राम्रो प्रबन्ध नहुनु, नियामक निकायले चाल्ने कदमहरू परीक्षणको फेजमा रहनु र नियमनको दायरा फराकिलो बनाउन नसक्नुजस्ता पक्षहरूले निक्षेपको मुख्य स्रोत पहिचान हुन सकेको पाइँदैन । यसले गर्दा ब्याजदरले निक्षेप वृद्धिमा प्रभाव पारेको देखिन्न ।

२. लगानीको सदुपयोग तथा दुरुपयोग के भएको छ ? लगानीको क्षेत्र के हो ? यस्ता प्रश्नहरूबारे गम्भीर हुनुपर्छ । लगानी आयात प्रवर्द्धनमा लगाइनु, बजार मूल्य नियन्त्रण गर्ने संयन्त्र कमजोर भएर कालाबजारी बढ्नाले उपभोक्ता महँगीको मारमा पर्नु, मानिसमा श्रम गर्ने बानी हट्नाले साग–धनियाँ–खुर्सानीजस्ता भान्साका सामान्य आवश्यकताका लागि पनि आयातको भर पर्नु, स्वदेशको उत्पादन उचित बजार र मूल्य नपाउँदा खेर फाल्नुपर्ने अवस्था आउनु, मानिसहरूमा खर्च गर्ने प्रवृत्ति बढ्नु, नुनदेखि सुनसम्म आयात हुने हुँदा बैंक तथा वित्तीय संस्थाबाट गरिने लगानी आयातित सामानको भुक्तानीमा जानु र अनुत्पादक क्षेत्रमा लगानी भइरहनुजस्ता विविध पक्षले बैंक तथा वित्तीय संस्थाको लगानीमा कर्जाको ब्याजदरले सकारात्मक प्रभाव पार्न सकेन ।

३. सुपरिवेक्षण सबल हुन नसक्नु, धमाधम लाइसेन्स वितरण गर्नु र वितरण बन्द गरी मर्जरमा प्रोत्साहन गर्नुले नियामक निकायको अदूरदर्शिता र अक्षमतालाई स्पष्ट देखाउँछ ।

अन्त्यमा, कुनै पनि देशको अर्थतन्त्र सक्षम बन्नका लागि वित्तीय क्षेत्र सबल हुनुपर्छ । वित्तीय प्रणालीभित्रका संस्थाहरूको मुख्य औजार निक्षेप, लगानी र ब्याजदरको सम्बन्ध सबल नहुनुले हाम्रो देशमा बैंक तथा वित्तीय संस्थाको भूमिका प्रभावकारी हुन नसकेको स्पष्ट छ । यसतर्फ सरोकारवाला सबैको ध्यान जान ढिला भइसकेको छ ।

-कँडेल राष्ट्रिय वाणिज्य बैंककी उपकार्यकारी अधिकृत हुन् ।

प्रकाशित : कार्तिक १७, २०८० ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?