२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७५

राष्ट्रनिर्माताको जन्ममितिमै अन्योल

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका बारेमा स्वदेशी तथा विदेशी शीर्षस्थ इतिहासकारहरूले मनग्गे लेखेका छन् । उनै राष्ट्रनिर्माताको जन्ममिति भने पुस्तक तथा शोध–अनुसन्धानपिच्छे फरक–फरक छ ।

राष्ट्रनिर्माताको जन्ममितिमै अन्योल

सही र गलत छुट्याउनका लागि जन्ममितिमा रुजुसम्म हुन सकेको छैन । जस्तो-

- इतिहासकार लुडविग एफ स्टिलर एसजेको पुस्तकमा पृथ्वीनारायणको जन्ममिति भनेर इस्वी १७२२ डिसेम्बर २७ लेखिएको छ ।

- इतिहासशिरोमणि बाबुराम आचार्यको पुस्तकमा पृथ्वीनारायणको जन्म इस्वी १७२३ जनवरी ७ मा भएको हो भनिएको छ ।

- दिनेशराज पन्तको ‘गोरखाको इतिहास, तेस्रो भाग’ मा दिइएको पृथ्वीनारायणको चिनाको नक्कलमा लेखिएको छ- कलिगत वर्षणि ४८२३ श्री संवत् श्री शालीवाहनीय शाके १६४४ मासे ९ तिथौ १ बारे ५ नक्षत्रै राशौ अंशके योगे लग्न ....पौष मासे दिन २७ गते ।

- योगी नरहरिनाथको ‘सन्धिपत्र संग्रह’ मा दिइएको पृथ्वीनारायणको चिनाको नक्कलमा लेखिएको छ— शालिवाहन शाके १६४४ संवत् १७७९ चान्द्रेण पौष मासे कृष्ण पक्षे अमावश्या तिथेर्घट्यः ४ पले २ तदुपरि शुक्ल पक्ष प्रतिपदि तिथौ गुरुवासरे ।

उपर्युक्त चारै जन्ममितिमा एकरूपता छैन । यद्यपि यसमा इतिहासकारहरूले अहिलेसम्म अपेक्षित चासो देखाएको पाइएको छैन । राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायणको जन्ममितिबारे कसैले सरोकार नराख्नु अनौठै हो ।

लुडविगको मत र खण्डन

लुडविग एफ स्टिलर एसजेले पृथ्वीनारायणको जन्ममिति भनेर दिएको समय, १७२२ डिसेम्बर २७ का दिन आइतबार पर्छ । जबकि चिना अनुसार उनको जन्म बिहीबार (गुरुबार) भएको हो । अर्को कुरा, डिसेम्बर २७ मा कहिल्यै पौष २७ गते पर्दैन; त्यस्तो एउटै क्यालेन्डर देखिएको छैन । पृथ्वीनारायणको चिनामा दिइएको शाके १६४४ लाई लुडविगले शक संवत् सम्झेर मोटामोटी पाराले मात्र मिति तोके । यही उनको गल्ती भयो ।

बाबुराम आचार्यको मत र खण्डन

इतिहासशिरोमणि आचार्यले दिएको पृथ्वीनारायणको जन्ममितिमा बार भने खुलाइएको छैन । उनको पुस्तकमा संकलित चिनामा पौष कृष्ण अमावश्या उप्रान्त प्रतिपदा छोएको बार बिहीबारको संकेत पाइन्छ । फेरि यो इस्वी १७२३ जनवरी ७ चिनामा दिइएको कुनै पनि संकेतसँग तालमेल देखिन्न । किनकि इस्वी १७२३ तदनुसार विक्रम संवत् १७७९ पनि होइन, शक संवत् १६४४ पनि होइन, कलिगत ४८२३ पनि हुँदैन । यसरी तालमेल नमिलेको र सबै दृष्टिले अस्वीकृत ठहरिएकाले यो मिति पनि अमान्यसिद्ध छ ।

दिनेशराज पन्तको मत र खण्डन

पन्तले ‘गोरखाको इतिहास’ मा दिएको पृथ्वीनारायणको चिना तात्कालिक नभई पछि सृजना गरिएको हो भनी औंल्याउने आधारहरू प्रशस्तै छन् ।

पहिलो कुरा, १६४४ यदि शक संवत् हो भने मासे ९ भनेको मंसिर पर्न आउंछ, किनकि शक संवत् चैत्रादि हो । अर्को, तिथौ १ भनेपछि कृष्ण पक्षको १ हो या शुक्ल पक्षको १, प्रस्ट छैन । शाह राजाहरूले पूर्णिमान्त मान अवलम्बन गर्थे कि अमान्त मान, त्यसबारे यकिन ज्ञान नभएको व्यक्तिले पृथ्वीनारायणको चिना बनाएको प्रस्ट हुन्छ ।

दोस्रो कुरा, शाके १६४४ भनेपछि कार्तिकादि वर्ष हुन्छ । कार्तिकादि वर्ष १६४४ र नेपाल संवत् ८४२ समकालीन वर्ष हुने र यी दुई एउटै दिन फेरिने भएकाले मासे ९ बाट पौष जनिने हुँदैन । यो पनि सन्देहास्पद छ ।

तेस्रो कुरा, कलिगत वर्ष ४८२३ जनिएपछि त्यसको समानान्तर शक १६४३ मात्र हुनुपर्ने तर १६४४ कल्पना गरिएको छ । यसमा कि कलिगतको मिति मिलेन या शक संवत्‌को ।

चौथो कुरा, १६४४ लाई शाके माने पनि शक संवत् माने पनि तिथिमिति गणना हुने हो भने यसमा दिइएको तिथिमितिमा बिहीबार कुनै हालतमा आउने देखिन्न ।

पाँचौं कुरा, पृथ्वीनारायणका पालामा गते लेख्ने गरेको उदाहरण कहीँ पनि छैन । यो चिनामा विक्रम संवत्को उल्लेख पनि छैन । यी सबै त्रुटिलाई ख्याल गर्दा पृथ्वीनारायणको चिना काल्पनिक धरातलमा टेकेर कुनै ज्योतिषीले कालान्तरमा तयार गरेको ठहर हुन्छ ।

नेपालमा गते लेख्ने चलन विक्रम संवत् १९६० देखि मात्र सुरु भएको चर्चा कतिपय इतिहासकारले गर्ने गरेका छन् । ‘गोरखाको इतिहास’ मा दिइएको चिनामै पौष २७ गते लेखिएको बारे इतिहासकारहरूले ध्यानै दिएका छैनन् ।

योगी नरहरिनाथको मत र खण्डन

‘सन्धिपत्र संग्रह’ मा दिइएको पृथ्वीनारायणको चिनामा तिथि र बारको उल्लेख स्पष्ट छ । त्यस दिन शुक्ल पक्षको प्रतिपदा सुरु भएको संकेत छ । तथापि बार भने अमावश्याकै बिहीबार भनिएको छ । यसमा पनि शाके १६४४ लाई शक संवत् मानिएकाले जन्ममितिमा विक्रम संवत् १७७९ दिइएको छ । यो चिनामा कलिगत वर्ष उल्लेख छैन । यहाँ १६४४ लाई नै शक संवत् मानिए पनि शक १६४४ र विक्रम संवत् १७७९ लाई आधार मानेर पौष कृष्ण अमावश्याको दिन तिथि–बार गणना गर्दा कुनै तथ्यसँग तालमेल हुने देखिन्न ।

शाके संवत् भनेको शक संवत् होइन, नेपाल संवत्सँग हरहमेसा ८०२ वर्षको अन्तर कायम रहने लिच्छवि संवत् हुन्छ । लिच्छवि संवत्लाई नै कतिपय इतिहासकारले शाके संवत्को संज्ञा पनि दिएका हुन् । यहाँसम्म त गलत भएन तर शाके संवत्लाई शक संवत् मान्नुमा भूल अवश्य हुन पुगेको छ । १६४४ लाई शाके संवत् मान्दा पौष कृष्ण अमावश्या शनिबार हुन्छ, १६४४ लाई शक संवत् मान्दा त्यो आइतबार हुन्छ; चिनामा उल्लेख भएझैं बिहीबार कुनै हालतमा आउँदैन ।

‘गोरखाको इतिहास’ र ‘सन्धिपत्र संग्रह’ मा दिइएका दुइटै चिना वास्तविक होइनन्, ज्योतिषीहरूका परिकल्पना हुन् । तापनि केही न केहीको सहारा लिनैपर्ने हुँदा ती दुई चिनामा समानता भएको शाके १६४४ पौष कृष्ण अमावश्यालाई आधार बनाउनुपरेको छ । पृथ्वीनारायणको सक्कली चिनाको प्रतिलिपि नभेटिएसम्म यसैलाई आधार बनाउनुबाहेक अर्को उपाय पनि छैन ।

अर्कातिर, शाके १६४४ भनेको शक १६४२ को कार्तिकदेखि १६४३ को आश्विनसम्मको अवधि हो । महिना र तिथि पौष कृष्ण अमावश्या भएकाले त्यो कालखण्ड शक १६४२ को पौषकृष्ण अमावश्या पर्छ । शक १६४२ को वर्षमा अधिमास छैन । तिथिमिति अमान्त मानको पद्धति अनुसार चलाइएको छ ।

गणनाको परिणाम

शाके १६४४ पौष कृष्ण अमावश्या भनेको शक १६४२ पौष कृष्ण अमावश्या हो । चिनामा दिइएको औंसीको बार बिहीबार दिइएको छ । तारिख गणनाले इस्वी १७२१ जनवरी ११ पर्ने देखिएको छ । तदनुसार विक्रम संवत् १७७७ पौष २७ गते शनिबार पर्छ । यसमा बिहीबार आउने गुन्जाइस नै देखिन्न ।

एउटा चिनामा विक्रम संवत् १७७९ को उल्लेख छैन भने अर्को चिनामा कलिगत ४८२३ को । त्यस्तो किन भएको होला ? एकै व्यक्तिका यसरी दुई थरी चिना किन बनाइएका होलान् ? यसबारेमा कसैले चासो राखेको देखिन्न । एउटा चिनामा ‘कलिगत ४८२३ शाके १६४४ मासे ९ तिथौ १ बारे ५’ भनिएको छ भने अर्को चिनामा लेखिएको छ- शाके १६४४ संवत् १७७९ चान्द्रेण पौष मासे कृष्ण पक्षे अमावश्या तिथेर्घट्यः ४ पले २ तदुपरि शुक्ल पक्ष प्रतिपदि तिथौ गुरुवासरे ।

यसबाट थुप्रै सन्देह उत्पन्न भएका छन् । पहिलो सन्देह, माथि नै भनियो, यी चिनाहरू सक्कली होइनन् । सक्कली चिना पृथ्वीनारायणको दाहसंस्कार गर्दा नै जलाइसकिएको हुन सक्ने हुँदा, पछि एक थरी ज्योतिषीले एउटा र अर्का थरी ज्योतिषीले अर्को बनाएको प्रस्ट हुन्छ ।

अर्को नमिल्दो कुरा, शाके १६४४ को शुरुको दिन चैतमा पर्छ कि वैशाखमा भन्ने प्रश्न उठ्छ । यो चैत्रादि शक संवत् हो भने चैतबाट पौषसम्म महिना गन्दा दसौं हुनुपर्नेमा किन ‘मासे ९’ लेखियो ?

तिथौ १ भनेको माघ शुक्ल प्रतिपदा हो कि पौष शुक्ल प्रतिपदा, स्पष्ट छैन । चिनामा महिना, तिथि, बार स्पष्ट उल्लेख हुनुपर्छ । माघ भए माघ र पौष भए पौष नै लेखिन्छ, यहाँ द्विविधा हुने गरि किन लेखियो ? शंका उत्पन्न हुन्छ ।

त्यति बेला पूर्णिमान्त मानको मास पद्धति थियो वा अमान्त मानको भन्ने एकीन हुनुपर्ने हो । इतिहासकारहरूले अमान्त मानबाट बार आएन भने पूर्णिमान्तबाट गणना गर्नेजस्तो विषय होइन यो । संशोधन मण्डलको प्रकाशन ‘पूर्णिमा’ का अंकहरू हेर्दा पूर्णिमान्त मान र अमान्त मानलाई खेलको दाउजस्तो बनाइएको देखिन्छ । संशोधन मण्डलकै ‘ऐतिहासिक पत्र संग्रह, दोस्रो भाग’ मा भनिएको छ- मल्लकालको तिथिमितिको गणना अमान्त मान बमोजिम र शाहकालको गणना पूर्णिमान्त मान अनुसार गर्नुपर्छ । यसो हुंदाहुंदै पनि ‘पूर्णिमा’ अंक १ देखि नै तिथिमितिको गणना गर्दा अमान्त मानबाट बार मिल्न आएन भने पूर्णिमान्त मानबाट आयो भनी देखाइएको छ । शाहकालीन मात्र होइन, मध्यकालीन मितिहरूको पनि पूर्णिमान्त मानबाट गणना गरिएकाले भ्रम हुने गरेको छ ।

पूर्णिमान्त मान अनुसारको हो भने पौष कृष्ण पक्षपछि पौष शुक्ल पक्ष आउने हो । तर त्यो बेला नेपालमा पूर्णिमान्त पद्धति थियो भन्ने प्रमाण छैन । यदि अमान्त मान हो भने मार्ग (थिंलागा) पछि पौष शुक्ल आउँछ । तब मासगन्ति नवौं भनेर दिइएको चैतबाट गन्दा मंसिर नवौंमा पर्ने हो । त्यही भएर डिसेम्बर २७ को अनुमान भएको होला । तर गते पौषको २७ दिइएपछि मास दसौं भनिनुपर्नेमा नवौं लेखिनु अमिल्दो देखिएको छ । त्यति बेला शाके संवत् कार्तिकादि र अमान्त मान पद्धति अनुरुप थियो भन्ने तथ्य–प्रमाणहरू अनगिन्ती छन् ।

अर्को कुरा, पृथ्वीनारायण शाहको चिनामा रहेको शाके १६४४ कार्तिकादि संवत् थियो भन्ने नै इतिहासकारहरूलाई अहिलेसम्म ख्याल छैन । सुमतितन्त्रको बखान खुब गरिन्छ तर त्यही सुमतितन्त्रले नेपाल संवत्मा ८०२ जोडेपछि शाके संवत् हुन्छ भनेकोतिर हेक्का गरिन्न । तब, शाके १६४४ मा ८०२ घटाइदियो भने नेपाल संवत् ८४२ हुने स्पष्ट छ । पृथ्वीनारायणको चिनामा जन्ममिति विक्रम संवत् १७७९ दिइएको छ, पौषमा नेपाल संवत् ८४२ र विक्रम संवत् १७७९ बीच ९३७ फरक पर्छ । यस्तो ज्ञानको कमी आम इतिहासकारमा अझै छ । यसमा संशोधन मण्डल पनि अछुतो छैन । त्यसैले पृथ्वीनारायणको जन्ममिति सच्याउनुसँगै शाके संवत्लाई शक संवत् मानेर लेखिएका तमाम इतिहासको पुनर्लेखन हुनुपर्छ । अन्यथा नेपालको इतिहास हरहमेसा अशुद्ध भइरहनेछ ।

राजवंशी लिपि जानकार तथा पुरातत्त्वविद् हुन् ।

प्रकाशित : पुस २७, २०७९ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?