कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वाम एकता कि वाम कता ?

जैनेन्द्र जीवन

असम्भव नै नभए पनि अनपेक्षित रूपको नयाँ गठबन्धनको सरकार बनेको छ, आम चुनावपछि । प्रतिनिधिसभाको सबभन्दा ठूलो दल नेपाली कांग्रेसलाई प्रतिपक्षमा धकेलेर दोस्रो ठूलो दल एमालेको समर्थनमा तेस्रो दल माओवादीले थुप्रै ससाना दलसँग मिलेर बहुमत पुर्‍याएको यो सरकार कति टिक्ला, यसै भन्न सकिन्न ।

वाम एकता कि वाम कता ?

साबिक गठबन्धन भत्किएझैं यो गठबन्धन पनि भत्केर पुरानै गठबन्धन फेरि सत्तारूढ हुने स्थिति पो आउँछ कि, त्यो पनि थाहा छैन । अथवा मध्यावधि चुनाव पो हुन्छ कि, त्यो पनि भन्न सकिन्न । तर सरकार जसको रहे पनि अर्को आम चुनाव हुनु अगाडिसम्म ‘वाम एकता’ देशमा सबैभन्दा चर्को गरी लाग्ने राजनीतिक नारा र एजेन्डाचाहिँ हुने निश्चित छ । राष्ट्रिय प्रजातन्त्र पार्टीजस्तो आफैंले दक्षिणपन्थी भनेको र राजावादी दल होस् कि राष्ट्रिय स्वतन्त्र पार्टीजस्तो गैरवाम दल अथवा जातीय क्षेत्रीय दल होऊन्, जोसँग मिलेर सरकार बनाए पनि वामहरूले वाम एकताको नारा र भाषण घन्काउन छाड्नेछैनन् । वाम एकताको अर्थचाहिं मूलतः गठबन्धनभित्रका एमाले र माओवादी दल अनि हाल यो गठबन्धनबाहिर पुगेको एकीकृत समाजवादी (एस) यी तीन र एकताका लागि इच्छुक अरू ससाना कम्युनिस्ट दलहरूको एकता हुनेछ ।

वाम एकता : दलहरूका फरकफरक अन्तर्य

वाम जनमतको खपतका लागि ‘समाजवाद ल्याउन, कम्युनिस्ट आन्दोलनलाई अझ उचाइमा पुर्‍याउन’ आदि–इत्यादि जे भने पनि एमाले, माओवादी र एस तीनवटै वृत्तबाट वाम एकतालाई आआफ्नै स्वार्थअनुकूल व्याख्या र प्रयोग गर्न खोजिनेछ । एमालेको अभीष्ट गठबन्धनको नेतृत्व सकभर चाँडो हातमा लिएर आफूलाई अनुकूल हुने समयमा चुनाव गराउनु हुनेछ । माओवादीको अभीष्ट भने सकभर आफ्नो नेतृत्वको अहिलेको गठबन्धनलाई पूरै अवधि कायम राख्ने, त्यसका लागि सम्भव भए बीचमा कांग्रेससँग मिलेर सरकार बनाउनुपरे पनि बनाउनु हुनेछ । किनकि चुनावमा ऊ हतपती जान चाहनेछैन । एसले चाहिँ एकताका लागि एकीकृत पार्टीमा आफ्ना नेताहरूको सम्मानजनक पदस्थापन र शक्ति बाँडफाँट हुनुपर्ने सर्त राख्नेछ, आफ्ना सांसदहरूले अधिकाधिक र राम्रा मन्त्रालयहरू पाउनुपर्ने सर्तका अलावा ।

होला त वाम एकता ?

बेलाबेला औपचारिक र धेरैजसो अनौपचारिक रूपमा प्रस्तावित भए पनि पार्टी एकताचाहिँ भैहाल्नेछैन, कमसेकम अर्को आम चुनावअघिसम्म । किनकि पार्टी एक भएमा दलको अनुशासन लाग्ने हुन्छ, माओवादी र एमाले दुवै घटकको एकअर्कासँग सत्ता र पदको मोलमोलाई (बार्गेन) कम हुने हुन्छ । उसमाथि एकता भएमा ठूलो पार्टीका नेता ओलीको पेलाइमा बस्नुपर्ने पीडा त छँदै छ, जसका माओवादी र एस दुवै भुक्तभोगी हुँदा चुनावअघि पार्टी एकता गरिहाल्नैचाहिँ कमसेकम माओवादी तयार हुने देखिँदैन । एकतै नगरी छुट्टै घटकका रूपमा सरकारमा बसेमा प्रधानमन्त्री जो बने पनि उसलाई अर्कोतिर जान्छु र यो सरकार ढाल्छु भन्दै अधिकतम लाभ लिने गरी सत्ता साझेदारी गर्न सकिन्छ, जुन एकता गरिहालेमा सकिन्न । फेरि ओली पनि माओवादी र एसका सबै सर्त मानेर एकता गर्न चाहनेछैनन् ।

सत्तामुखी वाम एकता

हो, आगामी आम चुनावका बेला भने चुनावी गठबन्धन वा एक फेरि पार्टी एकता नै हुने सम्भावना पनि छ । त्योभन्दा अगाडि यदि वामहरूबीच सहकार्य मात्र भएछ (जस्तो कि, वाम मात्रको गठबन्धन सरकार बनेछ) भने पनि त्यो कुनै ‘वाम एजेन्डा’ को कार्यान्वयनका लागि होइन, सत्तास्वार्थका लागि हुनेछ । किनकि, पहिलो कुरा त सर्वहाराको अधिनायकवाद, देशमा सर्वहारा वर्गको एउटै कम्युनिस्ट पार्टी, उत्पादन र त्यसका साधन तथा वितरणको प्रबन्धमा समाजको स्वामित्वजस्ता शास्त्रीय र ‘युनिभर्सल’ वाम एजेन्डा संसारैभरि असफल हुँदै गएर लुप्तै भइसकेका छन् । अर्को सफल र सर्वमान्य वाम एजेन्डाको आविष्कार न भएको छ न हुनेवाला छ ।

दोस्रो, हिजो खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने भनेर आफैंले घृणा र बदनाम गरेको लोकतन्त्रलाई एमालेले (र एसले पनि) जनताको बहुदलीय जनवाद र माओवादीले एक्काइसौं शताब्दीको जनवाद भन्दै आत्मसात् गरिसकेका छन् । त्यही लोकतान्त्रिक प्रणालीमा आधारित संविधान निर्माणमा उनीहरू आफैं सहभागी भैसकेका छन् । एमाले र एस त लोकतान्त्रिक अभ्यासमा निरन्तर सरिक र सक्रिय भएकै तीन दशक नाघिसक्यो । निजी सम्पत्तिलाई शोषणको जरिया मान्ने स्कुलिङबाट दीक्षित कम्युनिस्ट सबै निजी सम्पत्ति जोड्ने, व्यवसाय गर्ने, आफन्ती पुँजीवादको अभ्यासदेखि भ्रष्टाचारसम्म सब थोक गर्ने भैसकेका छन् । कम्युनिस्ट अर्थमन्त्रीहरूले प्रस्तुत गर्ने गरेका राज्य अर्थनीति नै पनि विचारधारात्मक रूपमा कांग्रेसको भन्दा खासै भिन्न छैनन् ।

अर्थात्, वाम एकता गराउने ‘वाम’ एजेन्डा छँदै छैन । त्यसो त वाम एजेन्डाकै आधारमा हिजो पनि वाम एकता भएको होइन । राज्यसत्ता र पार्टी सत्ताको भागबन्डा र ‘पावर सेयरिङ’ को एकसूत्रीय सहमतिमै एमाले–माओवादी एकता भई नेकपा बनेको थियो । जुन सहमति कार्यान्वयन हुन नसकेपछि एकता मात्र भत्किएन कि, साबिक एमाले घटकसमेत फुट्यो ।

वाम सफलताको रहस्य : चुस्ती, दक्षता र लोकप्रियतावाद

जहाँसम्म सबभन्दा ठूलो कम्युनिस्ट दल एमालेले अहिलेसम्मका चुनावहरूमा पाएको सफलता वा भोटको कुरा छ, त्यो उसको ‘वाम एजेन्डा’ खतरा भएकाले पाएको होइन । प्रायः मिहिनेती, कार्यकुशल कार्यकर्ता र चुस्त संगठनका कारण पाएको हो । कट्टर कम्युनिस्ट भएर होइन, कार्यकर्ताहरू व्यवहारवादी भएर समाजमा घुलमिल भएकाले पाएको हो । उनीहरू जनतामा भिजेर समुदायमा सक्रिय रहेकाले पाएको हो । विचार र वादका जार्गन नछाँटी आम मानिसका दैनिक जीवनयापनका कुरामा सहयोगी बनेकाले पाएको हो । वर्ग संघर्षका कुरा नगरी सबै वर्ग र तप्काका मानिससँग चल्दोमिल्दो भएकाले पाएको हो । र सबैभन्दा मुख्य कुरा, पार्टीले लेबी, चन्दा, व्यवसायदेखि एनजीओ–आईएनजीओका जरियाबाट प्राप्त गरेको, र राज्य दोहनबाट आर्जन गरेको ठूलो धनराशिलाई शक्ति सञ्चय, दलीय उत्थान र चुनाव क्याम्पेनमा कुशलतापूर्वक उपयोग गरेकाले एमाले सफल भएको हो । संक्षेपमा भन्नुपर्दा, एमालेहरूले पाएको सांगठनिक, राजनीतिक र चुनावी सफलता उनीहरूको चुस्ती र व्यवस्थापकीय कुशलताले गर्दा हो, वाम विचार वा एजेन्डाले होइन ।

उनीहरूलाई भोट वा सफलता नमिलेको ठाममा पनि वाम एकता वा वाम एजेन्डा नभएका कारण त्यसो भएको होइन । उनीहरूका नेता, कार्यकर्ता वा उम्मेदवार प्रतिस्पर्धीका तुलनामा अगतिला, अलोकप्रिय भएका कारण सफलता नमिलेको हो । व्यापक जनाधार भएको सबभन्दा ठूलो र पुरानो दल भए पनि नेपाली कांग्रेस राजनीतिक, सांगठनिक र चुनावी व्यवस्थापनका यस्ता कुराहरूमा एमालेजत्ति सिपालु छैन । न त माओवादी नै छ । यस्तो स्थितिमा रहेको एमालेले माओवादीकै सर्तमा ऊसँग एकता गर्ने कुरा युक्तिसंगत देखिँदैन । वास्तवमा वाम एकताको कुराबाट वाम/कम्युनिस्ट कार्यकर्ता र शुभेच्छुक तथा त्यसबाट लाभान्वित वर्गको एउटा ठूलो समूह उत्साहित भए पनि एमाले हुनेछैन । माओवादीसँग एकता गर्दा समस्या र हानिभन्दा लाभ बढी हुने देखे मात्र, र आफ्नै सर्तमा एकता गर्न पाए मात्र उसले एकता गर्नेछ । किनकि कम्युनिस्ट भन्ने ब्रान्डबाहेक माओवादीसँग एमालेको स्वरूप, संरचना, कार्यशैलीदेखि ओलीको केमिस्ट्रीसम्म केही पनि मिल्दैन, जसले गर्दा त्यस्तो एकता पूर्ण र दिगो नहुने खतरासँग एमाले अनभिज्ञ छैन । उता, तेस्रो ठूलो दल भएर पनि दुइटा ठूला दललाई खेलाई–खेलाई, बार्गेन गरीगरी प्रधानमन्त्री हुन पाएका प्रचण्ड नेतृत्वको माओवादीलाई पनि एमालेको सर्तमा पार्टी एकता मन्जुर हुनेछैन ।

एकताको सबभन्दा ठूलो बाधा हुनेछ- दुवै घटकलाई आफ्नै अध्यक्ष संयुक्त दलको अध्यक्ष हुनुपर्ने र उनीहरूबीच चित्तबुझ्दो पावर सेयरिङ हुनुपर्ने सकस । त्यही सकसकै कारण हिजो पार्टी फुटेको थियो । हो, भोटबैंक एउटै भएकाले त्यो नबाँडियोस् भनेर, आफैंबाट फुटेर गएकै भए पनि एमाले एससँग एकता गर्न चाहनेछ; तर एकताका रूपमा नभई एमालेमा एसको विलयका रूपमा । तर उनीहरूबीचमा प्रतिशोधको भावना यस्तो शक्तिशाली छ कि अहिले केही समयका लागि त्यो एकता सम्भव छैन । यस्तोमा एससहितको पूर्णाकारको वाम एकताभन्दा माओवादी र एसको पार्टी एकता हुनचाहिँ सम्भव थियो । माओवादी ओलीसँग मिलुन्जेल त्यो पनि अब सम्भव छैन ।

अन्त्यमा, कम्युनिस्ट आन्दोलनको गफ

जहाँसम्म कम्युनिस्ट आन्दोलनको कुरा छ, न त यो परिभाषित छ न युगीन न आकर्षक । फेरि, नेपाली जनताले कम्युनिस्ट आन्दोलनको कुनै मोडल हेर्न अब बाँकी पनि छैन । न त कम्युनिस्टहरूले कुनै मोडल प्रस्तुत गर्न नै बाँकी राख्या छन् । जति प्रस्तुत गरिए, तिनबाट नेपाली जनता सात पुस्तालाई पुग्ने गरी अघाइसकेका छन् । ५० वर्षपूर्वको वर्गशत्रुको टाउको काट्ने झापाली कम्युनिस्ट आन्दोलन होस् कि हत्या, हिंसा, ध्वंस, लुट र भय–त्रासले पूर्ण दशक लामो माओवादी सशस्त्र विद्रोह, ‘लिभिङ मेमोरी’ भित्रकै कुरा हुन् । तिनको पीडा र परिणति आफैंले भोगेका र देखेका अभागी पुस्तादेखि पारिवारिक श्रुति परम्पराबाट, समाजबाट, समुदायबाट सुनेर आक्रोशित हुने पुस्ता देशभरि छन् । उनीहरू कोही अब कुनै पनि किसिमको कम्युनिस्ट आन्दोलन हेर्न, बेहोर्न इच्छुक छैनन् । केही थोरै वामपन्थी नेता–कार्यकर्ता त्यो नारामा अझ आकर्षित होलान् । तिनको खपतका लागि र ती कुनै उग्र कम्युनिस्ट घटकको पछि लागेर आफ्नो र राष्ट्रका लागि सिरदर्द नबनून् भन्नका लागि ‘कम्युनिस्ट आनदोलनका लागि वाम एकता’ का गफ दिनचाहिँ तीनवटै दलले छाड्नेछैनन् ।

प्रकाशित : पुस १५, २०७९ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?