कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

विकास चाहने राजा

देशको समग्र विकास एउटा राजाले मात्र गरेर हुँदैन सबै तह र तप्काका जिम्मेवार व्यक्ति तथा निकायहरूले राजा सँगसँगै नियम–कानुन अन्तर्गत रहेर इमानदारी देखाउनैपर्छ भन्नेमा वीरेन्द्र प्रस्ट हुनुहुन्थ्यो ।
टीका धमला

इतिहास लिपिबद्ध नै हुन्छ भन्ने छैन । पुराना घटना तथा पात्र जुगौंजुगसम्म रहेका कैयौं उदाहरण छन् । राजा वीरेन्द्र शाहको सम्झना पनि नेपाली लगायत उहाँका समीपमा भएका विदेशीहरूले बारम्बार गर्छन् ।

विकास चाहने राजा

पंक्तिकार २०२२ जुलाई–अगस्टमा अमेरिकाको बस्टनमा केही दिन रहँदा, संयोगवश ८० वर्ष जतिका एक व्यापारीसँग भेट भयो । ‘म नेपाली हुँ’ भन्दा उनले राजा वीरेन्द्रबाट कुरा सुरु गरे । वीरेन्द्र एक प्रखर राष्ट्रवादी र प्रजातान्त्रिक राजा थिए, सधैं नेपाल र नेपालीका बारे चिन्तन गर्ने, विश्व राजनीतिमा चाख राख्ने तथा साधारण परिवेशमा पनि रमाएर बस्न सक्ने राजा थिए रे हो भनेर सोधे । पंक्तिकारले राजा वीरेन्द्रको अंगरक्षकका रूपमा २० वर्षसम्म सेवा गरेको भन्दा सुरुमा उनले पत्याएनन् । केही बेरपछि सन् १९८३ मा अमेरिकाको राजकीय भ्रमणका अवसरमा ह्वाइट हाउसको कार्यक्रममा अमेरिकी राष्ट्रपति रोनल्ड रिगन र राजा वीरेन्द्रको पछाडि पंक्तिकार उपस्थित रहेको भिडियो युट्युबमा देखाउँदा उनी अवाक् भए र भने, ‘आज यो प्रसंग यहीँ रोकौं । भोलि बिहान मेरोमा ब्रेकफास्टका लागि आउन सक्नुहुन्छ ?’ मैले उनको निमन्त्रणा स्विकारें । उनले मेरी श्रीमती, छोरा र बुहारीलाई पनि ब्रेकफास्टमा ल्याउनू भने ।

भोलिपल्ट सबेरै हामी उनको घर गयौं । तालको किनारमा अवस्थित घर भव्य थियो । ब्रेकफास्टपछि मेरी श्रीमती, छोरा र बुहारीलाई तालमा घुमाउन उनले निजी डुङ्गाको प्रबन्ध गरे । अफिसजस्तो देखिने उनको कोठामा दुई जना मात्र भएपछि अघिल्लो दिनको सन्दर्भ निस्कियो । हार्वर्ड विश्वविद्यालयका ट्युटरले सन् २००७ मा प्रकाशित गरेको ‘डेमोक्रटाइजिङ मोनार्क’ टेबलबाट निकालेर देखाए । ‘मैले यो किताब पढिसकेको छु’ भन्दा उनी छक्क परेका थिए ।

पंक्तिकारको सम्पर्कमा आएका यस्ता अरू विदेशीले पनि कुराकानीका क्रममा राजा वीरेन्द्रबारे जिज्ञासा राख्छन् । धेरैले त परिचय दिनेबित्तिकै ‘तपार्इं राजा वीरेन्द्रसँगै हुनुहुन्थ्यो होइन ?’ भनिहाल्छन् । यस कुराले मलाई गौरवबोध हुन्छ ।

यस्तै कुराकानी २०७९ असोज ३० मा काठमाडौंको धुम्बाराहीस्थित हेम्स अस्पतालका कान सम्बन्धी विशेषज्ञ प्रकाश काफ्लेसँग पनि भयो । कान देखाउन उनको कोठामा पस्नेबित्तिकै ‘तपाईंलाई नामैले चिनिसकें’ भने । राजा वीरेन्द्रको प्रशंसा गर्दै उनले कमजोरीका बारेमा पनि बताए । त्यति बेला राजा वीरेन्द्रले चाहेका र गरेका भए नेपालमा धेरै विकास भैसक्थ्यो भने । असल राजा भएर पनि किन विकास गर्न अगाडि नबढेको भनेर जिज्ञासा राखे । क्लिनिकमा बिरामीको लाम हुँदा पनि निकै बेर उनीसँग यस विषयमा कुराकानी भयो ।

राजा वीरेन्द्रमा नेपाल र नेपालीप्रति असाधारण माया हुँदाहुँदै उहाँले चाहे जतिका काम हुन र गर्न नसक्नुका कैयौं कारण छन्, जसको चर्चा यो लेखको मूल विषय होइन । देशको समग्र विकास एउटा राजाले मात्र गरेर हुँदैन भन्नेमा उहाँ प्रस्ट हुनुहुन्थ्यो । यसका लागि सबै तह र तप्काका जिम्मेवार व्यक्ति तथा निकायहरूले राजासँगसँगै नियम–कानुन अन्तर्गत रहेर इमानदारी देखाउनैपर्छ भन्नुहुन्थ्यो । राजाले चौतारीका रूपमा सबैलाई छहारी दिएर प्रणालीलाई व्यवस्थित गराउने मात्र हो भन्ने धारणा बारम्बार प्रकट गर्नुहुन्थ्यो । यो विचारले नै राजा वीरेन्द्रलाई सबैले प्रजातान्त्रिक राजा भनेका हुन् भन्ने लाग्छ । तर जिम्मेवार पद सम्हालेका, राजाका विश्वासपात्र भनाउँदा केही व्यक्तिले नेपाल जहिले अस्थिर रहोस् भन्ने चाहना राख्छन्, बाह्य र आन्तरिक षड्यन्त्रकारी शक्तिको उक्साहटमा हो वा अज्ञानताले ।

नेपालको द्रुतगतिमा विकास गर्ने राजा वीरेन्द्रको चाहनामा विभिन्न तगारो आइपर्‍यो । उदाहरणका लागि २०२८ सालमा वीरेन्द्र राजा भएपछिको एक वर्षमा उहाँकै अध्यक्षतामा राष्ट्रिय विकास परिषद् गठन गरी विकासमा सबैलाई समेटेर अगाडि बढ्न खोजियो । तर त्यतिबेलाका पञ्चायती व्यवस्थाकै हस्ती भनाउँदाहरूबाट पनि कालो टीका लगाएर काठमाडौंमा ‘भूमिगत गिरोह’ भन्दै घुमाउरो पाराले राजा वीरेन्द्रको समग्र देश निर्माणको सोचलाई अवरोध पुर्‍याउने आशयको भाषण पंक्तिकार त्रिचन्द्र कलेजको विद्यार्थी हुँदा सुनेकै हो । यति मात्र नभई पञ्चायतकालका एक प्रधानमन्त्री दिल्ली भएर युरोप जाँदा राजा वीरेन्द्रले दिल्लीमा कसैलाई नभेट्नू भन्दा पनि भारतका तत्कालीन प्रधानमन्त्रीलाई भेटेको सूचना राजालाई प्राप्त भयो । त्यसपछि उहाँले युरोपबाट फर्कनेबित्तिकै प्रधानमन्त्रीलाई हटाउनुभयो ।

राजा वीरेन्द्रको कार्यकालमा जनताले चाहेजति विकास हुन नसके पनि राष्ट्र र राष्टियता कहिल्यै डगमगाउन पाएन । उहाँले जे काम पनि सुझबुझका साथ गर्नुहुन्थ्यो । यसको उदाहरणका रूपमा विश्वेश्वरप्रसाद कोइराला मुद्दालाई लिन सकिन्छ । कोइराला २०३३ पुस १६ गते राष्ट्रिय मेलमिलापको सिद्धान्त अनुरूप नेपाल आउन खोज्दा केही व्यक्तिले राजा वीरेन्द्र अप्रजातान्त्रिक घेराभित्र छन्, तपार्इंलाई मृत्युदण्ड हुन सक्छ भनेका थिए । तर, त्यस्तो केही भएन ।

राजा वीरेन्द्रको बोली र व्यवहारमा राष्ट्र, राष्ट्रियता र प्रजातन्त्र थियो । यो कुरा बहुदलीय व्यवस्थाका दरिलो संरक्षकका रूपमा उहाँका कैयौं सन्देशमा देखिन्छ । जस्तो, २०५३ माघ १८ मा भएको गद्दी आरोहणको रजत महोत्सव समारोहमा उहाँले ‘हाम्रो सम्पूर्ण अभ्यास, संस्कार र व्यवहार प्रजातान्त्रिक आधार, मूल्य मान्यताभित्र हुनु जरुरी छ । बहुदलीय व्यवस्थामा दलहरूबीच विभिन्न किसिममा मतान्तर हुनु स्वाभाविकै भए पनि राष्ट्रिय सरोकारका विषयमा दलीय दृष्टिकोणबाट माथि उठी राष्ट्रिय सहमतिमा पुग्नु आवश्यक हुन्छ’ भन्नुभएको थियो । राष्ट्रको मियोका रूपमा उभिन सक्ने र उभिने नेतृत्व आज यो देशमा कहाँ छ ? आज राजनीतिक नेतृत्व सत्ता, शक्ति र स्वार्थ पूरा हुन्छ भने जता पनि ढल्किन्छ । संविधानका कैयौं प्रतिबद्धता व्यवहारमा उल्लंघन भएका छन् । यही कारण व्यवस्थापिका, कार्यपालिका तथा न्यायपालिका राजनीतिक दल तथा नेताहरूको खेलौनाजस्तो भएका छन् ।

राजा वीरेन्द्रका अंगरक्षक रहेका धमला नेपाली सेनाका अवकाशप्राप्त उपरथी हुन् ।

प्रकाशित : पुस १४, २०७९ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?