कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३४०

समाज नचिनाउने शिक्षा

वीणा झा

विद्यालय शिक्षा राम्रो बनाउन सरोकारवालाले जति नै चासो लिए पनि ठोस प्रगति भएको छैन । विद्यालय तहमा राम्रो शिक्षा केलाई भन्ने भनेर विश्वव्यापी रूपमा स्विकारिएको एकल परिभाषा भेटिन्न । यो सामाजिक पृष्ठभूमि, सांस्कृतिक व्यवहार र उत्पादन प्रणालीसँग जोडिन्छ अर्थात् विद्यालय शिक्षालाई पाठ्यपुस्तकमा मात्र सीमित गर्न मिल्दैन, सामाजिक पृष्ठभूमि, परम्परागत ज्ञान र आधुनिक विज्ञानको सन्तुलित सम्मिश्रण रहेको हुनुपर्छ ।

समाज नचिनाउने शिक्षा

विद्यालय शिक्षाले जीवनको जग बसाउँछ । तसर्थ यसमा पाठ्यपुस्तकको ज्ञानसँगसँगै जीवनोपयोगी सीप सिक्ने प्रक्रियाहरू समेट्न आवश्यक छ । सामाजिक सम्बन्ध, तिनको निर्माण र भूमिका लगायत जीवनलाई सहज बनाउन र आइपर्ने अप्ठ्यारा समाधान गर्न आवश्यक सीपका साथै आफूमाथि विश्वास गर्न सिकाउनु पनि जरुरी छ । सामाजिक परिवर्तन अनुरूप विद्यालय शिक्षामा समयानुकूल परिमार्जन अपरिहार्य हुन्छ । शब्दले मात्र सिकाउन नसकिने नैतिकता, इमानदारी, जवाफदेहिजस्ता विषय गहन हुन्छन् र विद्यार्थीहरूले यस्ता विषयवस्तु पुस्तकबाहिर अर्थात् विद्यालयको वातावरणबाट अप्रत्यक्ष रूपमा सिक्ने गर्छन् । बालबालिकाले शिक्षकहरूले सहकर्मी, कर्मचारी तथा विद्यार्थीलाई गर्ने व्यवहारबाट सिक्ने हो । यस्ता पक्षप्रति पनि विद्यालय संवेदनशील हुनु आवश्यक छ । सिकाइ शब्द, अंक र संकेतको थुप्रो मात्र होइन भन्नेमा प्रस्ट हुनुपर्छ । पछिल्लो समयमा नमुना सामुदायिक विद्यालयका रूपमा परिचय बनाएका कतिपय विद्यालय र निजी विद्यालयसमेतले केही घण्टाको जाँचबाट आउने अंकलाई मात्र प्राथमिकता दिँदा विद्यार्थीको प्रतिभा र सृजनशीलता बाहिर आउन सकेको छैन । बालबालिका आफ्नो क्षमता निखार्ने अवसरबाट वञ्चित हुनुपरिरहेको छ । पुस्तकको भारीले थिचिएका छन् । मौलिक हुन सकिरहेका छैनन् । त्यस्तै अभिभावकको अपेक्षित सहयोग तथा सक्रियता नहुँदा शिक्षण वातावरण झन्झन् जटिल भइरहेको छ ।

संघीयतापछि, विद्यालय शिक्षा स्थानीय तहको प्रत्यक्ष निगरानी र नियन्त्रणमा रहने हुँदा विद्यालयको शैक्षिकस्तर सुधार्न भौतिक संरचना मात्र होइन शैक्षिक जनशक्तिको क्षमता अभिवृद्धि पनि गर्नुपर्छ । यसका लागि अभिभावकको सक्रियतासँगै सक्षम प्रधानाध्यापक आवश्यक छ । सिकाइ क्रियाकलापमा स्थानीय परम्परागत ज्ञान र आधुनिक विज्ञानको सम्मिश्रण हुनुपर्छ ।

विद्यालय तहको शिक्षामा व्यवहार र भाष्यबीच दूरी नघटाउने, जानकारी मात्र संकलन गराउने र कल्पना शक्तिलाई पोषण नगर्ने हो भने यसले यस्तो पुस्ता तयार पार्छ जोसँग जानकारीको थुप्रो त हुन्छ तर त्यसलाई बुझ्ने क्षमता हुन्न, जसकारण समयसापेक्ष हुन सक्दैनन् । जानकारीलाई कसरी सीपसँग जोड्दै समाजमा योगदान पुर्‍याउने भन्नेबारे सोच्न सक्दैनन् । यसको मतलब शब्द र भाव जोड्न नसक्ने यान्त्रिक जनशक्ति उत्पादन हुन्छ, जसले समाजलाई वस्तुका रूपमा मात्र लिन्छन् । भावनात्मक सम्बन्धको अनुभूति र आवश्यकतालाई महसुस गर्न सक्दैनन् । कुनै पनि अभिभावकले आफ्ना सन्तान सफल बनून् तर मानवीयतामा शून्य र व्यक्तिगत, पारिवारिक सम्पूर्ण सम्बन्धमा असफल हुन् भन्ने चाहँदैनन् । यस्तो कल्पनासमेत गरेका हुन्नन् । हरेक अभिभावकको चाहना सक्षम, जिम्मेवार र जवाफदेही सन्तान हुन्छ, जसमा मानवीयताका पक्ष भरपूर होस्, दयामाया र करुणाले भरिएको होस् ।

सामान्यतः विद्यालयका पाठ्यपुस्तकलाई दैनिक जीवनसँग जोड्दै अनुभूति गराउनुपर्छ । जस्तो दैनिक रूपमा आवश्यक तथा स्थानीय बजारमा उपलब्ध वस्तुहरूको उत्पादन कसरी हुन्छ, कसले गर्छ, कुन ठाउँमा हुन्छ र यी उत्पादनले कसरी जनजीविकालाई असर पर्छजस्ता जिज्ञासा विद्यार्थीमा उत्पन्न गराउन सक्नुपर्छ । यसैबाट मौलिक ज्ञानको खोजीको अभ्यास सुरु हुन्छ । उत्पादित वस्तुहरू र तिनका आवश्यकता अनि बजारसँगको सम्बन्धका साथै आर्थिक महत्त्व बुझाउन सकियो भने घोकाइ र प्रश्नोत्तर अभ्यासभन्दा बढी प्रभावकारी हुन्छ ।

बालबालिकाले पढ्ने विषयवस्तु तिनका दैनिकीसँग कहाँ जोडिएको छ, ज्ञान–सीप र सोच निर्माणमा हाम्रो संस्कार कहाँ छ, विद्यालय शिक्षाबारे शिक्षकहरूले कसरी बुझेका छन्, स्वास्थ्यको महत्त्व कण्ठ पार्न लगाउँदा कक्षाकोठासमेतको सरसफाइ गर्न जाँगर नचलाउने विद्यार्थीलाई कसरी व्यावहारिक ज्ञान दिनेजस्ता कुरा महत्त्वपूर्ण छ । यस्ता सबालबिनाको शिक्षाको परिकल्पना कसरी गर्ने र त्यसले समाजलाई कहाँ पुर्‍याउला ? त्यस्तै जीवनमा विनम्रता, जवाफदेहिता, नैतिकता लगायत विषयवस्तु समेटिएका प्रख्यात व्यक्तिहरूको भनाइ विद्यालयको पर्खालभरि टाँस्ने गरिन्छ । सबै विद्यार्थीलाई कण्ठ पार्न लगाइन्छ तर बालबालिकाले व्यवहारमा यसको अनुभूति गर्न सकेका छैनन् अनि कसरी रूपान्तरण होला ?

जीवनको हरेक परिस्थितिमा खुसी हुने कला तथा सही निर्णय लिन सक्ने क्षमताको विकास विद्यालय तहबाटै गरिनुपर्छ । शारीरिक तथा मानसिक वा भावनात्मक स्वास्थ्यको हेरचाह गर्न र समाजका सम्पूर्ण अवयवसँग सहकार्य गर्न पाठ्यपुस्तक मात्र पढेर सकिन्न । शिक्षक स्वयं यस्ता विषयप्रति सचेत हुनु जरुरी छ । शिक्षक, अभिभावक र विद्यार्थीबीचका सम्बन्धको महत्त्व र यसको सन्तुलन कसरी गर्ने भन्नेतिर गम्भीर हुनु जरुरी छ ।

एउटा उदाहरण हेरौं, हाम्रो सेरोफेरो भन्ने विषयले पुस्तकका पाठभन्दा बाहिर हेर्न भन्छ र यसका विषयवस्तुले समाजका विभिन्न पक्षाबारे बुझ्न संकेत गर्छ । तर त्यहाँको विषयवस्तुको व्यावहारिक ज्ञान दिन कति विद्यालय र शिक्षकहरूले इमानदार प्रयास गर्ने गरेका छन् ? एउटा विद्यार्थीलाई दिनको ७ वटा विषयसम्म पढ्न लगाउने शिक्षकहरूले अन्तर विषयको ज्ञान कसरी समेटेका छन् ? यस्तो अभ्यासबिना सिकाइलाई जीवनजगतसँग जोड्न शिक्षकहरूले कसरी सिकाउन सक्लान् ?

बेलाबखत स्थानीय वा मातृ भाषामा शिक्षा दिने कुरा जोडतोडले उठ्ने गर्छ, जुन बालबालिकाको आत्मसम्मान र आत्मविश्वास बढाउन लक्षित छ । तर तिनै भाषा बालबालिकालाई होच्याउन र आत्मसम्मानमा ठेस पुर्‍याउन प्रयोग गरियो भने त्यसको के महत्त्व हुन्छ ? स्थानीय ज्ञान समेट्ने कि भाषाको ज्ञान मात्रैलाई प्राथमिकतामा राख्ने ? आजको २१ औं शताब्दीमा भाषाको ज्ञान आफैंमा निकै महत्त्वपूर्ण छ । बालबालिकाले बढीभन्दा बढी भाषा सिक्ने वातावरण बनाए मात्र शिक्षा सहज तरिकाले ग्रहण गर्न सकिन्छ भन्नेतर्फ सम्बन्धित सबै सचेत हुनुपर्ने होइन र ?

एउटा शिक्षक विद्यार्थीसँग बोल्दा सामान्य मानवीय स्वभाव लुकाउनुपर्ने अर्थात् सहज रूपले हाँस्दै कुरा गर्न नहुने, आफूलाई सर्वज्ञानी भएको स्थापित गर्नुपर्ने, कुनै कुरा आउँदैन भनेर स्विकार्न नहुने, पढाउँदा दैनिक जीवनमा उपयोगी तर सामान्य देखिने विषयवस्तु र ज्ञान समेट्न नपर्ने, स्थानीय विज्ञहरूसँग ज्ञान साटासाट गर्नु जरुरी नठान्नेजस्ता बानीव्यहोरा परिमार्जन गर्दै लैजानुको विकल्प छैन ।

कर्णालीका विद्यालय र रौतहटका विद्यालयका बालबालिकाले कसरी आ–आफ्नो समाज बुझ्ने ? पाठ्यपुस्तकले नेपाली समाजको विविधता समान रूपले समेट्न सम्भव छ ? अनि आफ्नो समाज नबुझी कसरी त्यहाँको सम्भावना र चुनौतीहरू चिन्ने ? बालबालिकामा भावनात्मक र रचनात्मक भावको बोध हराउँदै गएको छ । केबल भौतिकवादी व्याख्यामा रुमल्लिएको विद्यालय शिक्षाले कस्तो पुस्ता तयार गर्ला ? सम्बन्धहरूबीचको संशय, भावविहीनता, अपनत्व अभावजस्ता कुराले विद्यालय शिक्षालाई कसरी प्रभावित गर्दै छ ? विद्यालय शिक्षासँग सम्बन्धित सम्पूर्ण पक्षले गम्भीरताका साथ मनन गर्नुपर्ने प्रश्न हुन् यी । जब विद्यालयमा बालबालिका आउँछन् तब तिनको मस्तिष्कमा कुनै गलत मनसाय वा उद्देश्य हुँदैन तर निस्किँदासम्म तिनका व्यवहारमा ती सबै कुरा देखिन्छन्, यसो हुनुको पछाडि को कति दोषी छन् ? यसको निराकरण गर्नका लागि नेतृत्व कसले लिने ? यस्तो विषयप्रति सचेत, संवेदनशील र जवाफदेही नहुने हो भने भोलिको समाज कस्तो बन्ला ?

प्रकाशित : पुस ६, २०७९ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?