राजनीतिको काल्पनिकीमा सामान्यजन- विचार - कान्तिपुर समाचार

राजनीतिको काल्पनिकीमा सामान्यजन

भास्कर गौतम

हिले सामान्यजनलाई समृद्ध नेपालको सपनाबाट लुप्त बनाइएको छ । त्यसैले नेपाललाई कसरी समृद्ध बनाउने भन्ने चिन्तन र सार्वजनिक विमर्शमा समृद्धिको बहस मेरुदण्डविहीन बनेको छ । स्थानीय, प्रादेशिक एवं संघीय तहका अनेकौं योजना र अभ्यासहरू यसका ज्वलन्त उदाहरण हुन् । सामान्यजन राजनीतिक काल्पनिकीमा नरहेका केवल दुई दृष्टान्त हेरौं । 

पहिले शैक्षिक क्षेत्रबाटै सुरु गरौं । सर्वविदित छ, भारत, मलेसिया र खाडी मुलुकमा काम गर्न जाने आम नेपालीमध्ये अधिकांशले सरकारी विद्यालयमा कखरा पढेका हुन्छन् । धेरैजसोले केवल आठ पास गर्छन् । केहीले मध्यमा सकेका हुन्छन् । नगण्य केहीले उच्च शिक्षाको स्वाद चाखेका हुन्छन् तथापि दशकौंदेखि नेपाल भित्रिने विप्रेषणमा भइरहेको वृद्धिले जनाउँछ देशलाई समृद्धितर्फ उकाल्न उनीहरूको योगदान उच्च छ । फरक यत्ति हो, श्रमिकहरूले समृद्ध नेपाल बनाउन जति रगत–पसिना बगाएका छन्, त्यसको अनुपातमा कांग्रेस र कम्युनिस्ट पार्टीका सरकारहरूले श्रमलाई उन्नत बनाउने तालिम, सीप र व्यावहारिक शिक्षाको अत्यावश्यक बन्दोबस्त गरेका छैनन् ।

शिक्षाको कथा यहीँ टुङ्गिँदैन । केही दिनअघि अंग्रेजी साप्ताहिक ‘नेपाली टाइम्स’ मा सोनिया अवालेको एउटा रिपोर्ट छापियो । शिक्षा मन्त्रालयको तथ्यांक अनुसार यस आर्थिक वर्षको पहिलो ६ महिनामा मात्र मूलतः निजी विद्यालयमा पढेका नेपाली विद्यार्थीले विदेश पढ्न जान ३.३ अर्ब अमेरिकी डलर खर्च गरे । पढ्नका लागि तेस्रो मुलुकलाई ३.३ अर्ब डलर बुझाए । अर्कातर्फ, सोनियाले औंल्याएजस्तै, गत वर्ष पेट्रोलियम पदार्थ भित्र्याउँदा नेपालले २.५ अर्ब डलर तिर्‍यो ।

प्रस्टै छ, जुन क्षेत्रलाई हामीले आम्दानी ठानिरहेका छौं, त्योभन्दा बढी पैसा हाम्रो शिक्षा क्षेत्र नाजुक भएकाले बाहिर गइरहेको छ । ठूला सडक, मोटरगाडी र केही चम्किला स्मारकलाई मुलुकका कार्यकारी र योजनाकारले समृद्धिको आधार ठानिरहँदा हाम्रो शैक्षिक क्षेत्र हिजोभन्दा आज धराशायी बनिरहेको छ । यदि शैक्षिक क्षेत्र राम्रै हुँदो हो त देशमै पढ्न सक्ने युवाको ठूलो जनसंख्या धेरै खर्च गरेर बाहिर पढ्न जान बाध्य हुने थिएन ।

शैक्षिक क्षेत्र धराशायी भएकाले एक थरी युवा देशको आर्थिक स्रोत र उच्च सीप अरू मुलुकमा उपयोग गर्न बाध्य छन् । कमजोर शिक्षाका कारण देशको जनशक्ति रोजगारी सृजना गर्ने तहको उद्यमी हुन असमर्थ छ । त्यसैले समेत अर्का थरी युवा विदेशमा रगत–पसिना बगाएर केही धनराशि देश भित्र्याउन अभिशप्त छन् ।

पढ्न बिदेसिएका होऊन् वा श्रम गर्न, दुवै थरी युवाले भर्खरको आम निर्वाचनमा मतदान गर्न पाएनन् । जो केही पढालेखा छन्, उनीहरूको काल्पनिकीमा अलिक आसलाग्दो जीवन संसारका समृद्ध राष्ट्रहरूमा कुरिराखेको छ । जसले खासै लेखपढ गर्न पाएनन्, उनीहरूका लागि जीविकोपार्जनको जेनतेन अवसर भारत, मलेसिया र खाडी मुलुकहरूमा खुम्चिएको छ । एक वा अर्को अवस्थाले बाध्य पारिएको यति ठूलो जनसंख्यालाई हाम्रो लोकतान्त्रिक प्रक्रियामा सहभागी हुने अवसर छैन । हाम्रो लोकतान्त्रिक काल्पनिकीले उनीहरूको हकाधिकारलाई निषेध गरेको छ । त्यसैले विद्यमान राजनीतिको क्षितिजमा सामान्यजनका लागि अर्थपूर्ण स्थान छैन ।

बोधगम्य छ, शिक्षा क्षेत्रमा आमूल परिवर्तन नल्याएसम्म यस्तो राजनीतिक सिलसिलामा तात्त्विक सुधार ल्याउन सकिन्न । न विद्यार्थी न श्रमिकका हकाधिकारमा न्यायोचित सुधार ल्याउन सकिन्छ । न मुलुकको अर्थतन्त्रलाई नै फाइदा हुने राजनीतिक सोचले ठाउँ पाउँछ । यसका लागि हामीलाई त्यस्तो राजनीतिक परियोजना चाहिएको छ जहाँ मुलुकको हित केन्द्रमा राखिरहँदा सामान्यजनलाई समृद्धिको मेरुदण्ड मानियोस् । यस्तो मान्यताको सुरुआत तबसम्म हुन्न जबसम्म ठूला पूर्वाधारलाई नै हाम्रो समृद्धिको एक मात्र आधार ठानिन्छ । तर विडम्बना, यस्तै दरिद्र मानसिकताले हाम्रा कार्यकारी र योजनाविद्हरूमा घर गरेको छ ।

शैक्षिक क्षेत्रमा सुधार भएर मानव संसाधनको आधार बलियो हुन आवश्यक छ तर पर्याप्त छैन । यस्तो परिवर्तनले मात्र नेपाललाई चाहिने लोकतान्त्रिक संस्कृति सबल बनाउन सघाउँदैन । यसै पनि हाम्रो शिक्षाले धनी र गरिबबीचको खाडललाई थप घनीभूत बनाइरहेको छ । शिक्षाको यस्तो थितिमा गरिने सामान्य गुणस्तरीय सुधारले निरन्तर सानो तप्कामा मात्र मानवीय सीप र क्षमता उच्च बनाइरहन सक्छ । बाँकी अवस्था ज्यूँका त्यूँ रहन्छ । सामान्यजनलाई मेरुदण्ड मान्ने राजनीतिक काल्पनिकीले मात्र शिक्षाको मूलमै रचनात्मक फेरबदल ल्याउन सक्छ । त्यस्तो फेरबदलले मात्र शिक्षाजस्तै सभ्यताको अर्को आधारलाई समेत ध्यान दिन सक्छ ।

यो दोस्रो दृष्टान्त कृषि र जमिनसँग जोडिन्छ । आज पनि हाम्रो जीविकाको, अर्थतन्त्रको र सभ्यताको टेको कृषिमा आधारित खानपान र जीवनशैली नै हो । यस आर्थिक वर्षको पहिलो ६ महिना एक थरी युवा कामको खोजीमा बाहिर गहिरहँदा एक थरी कृषकले निरन्तर नवलपरासी, सप्तरीजस्ता जिल्लामा आन्दोलन गरिरहे । शिक्षित समुदायभन्दा पृथक् कृषकहरू प्रकृतिमा आश्रित सामान्यजन हुन् । तर प्रकृतिसँगको उनीहरूको आश्रयलाई पछिल्लो कालमा मिटरब्याजी साहूहरूले धराशायी बनाइरहेका छन् । हो पछिल्लो काल, किनकि धेरै पहिल्यैदेखि समृद्धिको मानसिकताले कृषिलाई धराप पारिरहेको छ ।

मिटरब्याजविरुद्ध होमिएका कृषकहरूको जमिन ठगी र जालसाजीका कारण गुमेको छ । उनीहरूको जमिन साहू–महाजनले हडपेका कहालीलाग्दा कथ्य धेरै छन् । एक थरीलाई अव्यावहारिक शिक्षाले भारत, मलेसिया र खाडी मुलुकमा भासिन बाध्य बनाएजस्तै कृषिमा लादिएको ‘आधुनिकीकरण’ अर्का थरी सर्वसाधारणका लागि अभिशाप बनेको छ । उनीहरू विद्यमान अर्थतन्त्रको पासोमा चेपिएका छन् । उनीहरूको जमिन, जीविकाको मूल आधार र गुणस्तरीय जीवनलाई निरन्तरता दिने सामूहिक जिम्मेवारीबोध चक्रव्यूहमा छ ।

शिक्षाबाट बेदखल र कृषिबाट प्रताडित भएका दुई थरी समूह अपवादबाहेक एकै हुनु संयोग होइन । यिनै परिवारका कुनै सदस्यले कृषिबाट गुजारा नचल्ने देखेपछि ऋण लिन्छन् । कामको खोजीमा बिदेसिन्छन् । बाहिर गएका मध्ये सबैले कमाउँदैनन् । कमाएकामध्ये सबै सग्लो ज्यान लिएर फर्कंदैनन् । कतिले त कमाउँदाकमाउँदै ज्यानै गुमाउँछन् । उता ज्यान जान्छ यता जमिन । उता शरीर कमजोर हुन्छ, यता जीविकाको आधार ।

यता ऋण, हिंसा र जमिनसहित जीविकाको आधार खोसिने चक्र राजनीतिक नियति बनेको छ, उता यस्तो सिलसिलालाई भत्काउने राजनीति लोकतान्त्रिक क्षितिजबाट अलप छ । यता साहू–महाजनले जमिन खोस्छन्, उता राजनीतिक दलले निर्वाचनमा भोट हाल्ने अधिकार । यता जमिन बेचर अभिभावकले छोराछोरीलाई शिक्षा दिन्छन्, उता थोरबहुत शिक्षित युवा रोजगारी नपाएर बिदेसिने सपना बुन्छन् । यता काम नपाएर जीविका असुरक्षित हुन्छ, उता काम पाएर शरीर अंगभंग हुने वा ज्यान गुमाउने डर । यता देशका नेताले अधिकार दिँदैनन्, उता ठूला कारखानाका साहू–महाजनले कुनै सेवासुविधा । यता पनि मार, उता पनि मार ।

आम मानिसले यसरी मार खाइरहँदा हाम्रा कार्यकारी र योजनाविद्हरू विदेशमा उत्पादन भएका ज्ञान खान्छन् । अन्य मुलुकको सन्दर्भसुहाउँदो समृद्धिका खाका नेपालमा लाद्ने गर्छन् । त्यसैले प्रस्टै छ, जबसम्म सामान्यजन विद्यमान अवस्थालाई कार्यकारी र योजनाविद्ले केन्द्रमा राख्ने विनयशीलता देखाउँदैनन् तबसम्म नेपालको समृद्धिले अर्को बाटो समात्नेछैन । जुन मुलुकको राजनीतिक अभ्यासमा सामान्यजनलाई केन्द्रमा राख्ने उत्साहप्रद अभ्यासहरूको सर्वथा अभाव छ, त्यहाँ राजनीतिक काल्पनिकीमा सामान्यजन कसरी स्थापित गर्ने भन्ने प्रश्न धेरै अप्ठेरो प्रतीत हुन्छ ।

यो सवालको जवाफ सामूहिक प्राथमिकताको विषय बनाउनसमेत धेरै माथापच्ची गर्नुपर्छ । अहिलेलाई एकाध कुरा प्रस्ट छ । जहाँजहाँ हामी उल्टो बाटो हिँडिरहेका छौं, त्यहाँत्यहाँ सही बाटो समात्न ‘चमत्कारी’ नेतृत्व र ‘दूरद्रष्टा’ योजनाकारमै आश्रित रहनुपर्दैन ।

एउटा उदाहरण हेरौं । धेरै अभिभावकले आफ्ना सन्तान पढाउन जमिन बेचिरहेको अवस्था छ । ढुक्कसँग भन्न सकिन्छ, जमिन बेचेर नेपालमा उपलब्ध शिक्षा हासिल गर्नु आफ्नो जीविकाको आधार भत्काउनु हो । सर्वसाधारणको सम्बन्ध शिक्षाभन्दा बढी जमिनसँग छ । जीविकोपार्जनका आधारसँग छ । अनि जीवनलाई सामूहिक रूपमा निरन्तरता दिने आम उत्तरदायित्वबोधसँग छ । कमजोर शिक्षा हासिल गर्न यस्तो दिगो आधार भत्काउँदा सन्ततिलाई पक्कै अन्याय हुन सक्छ । भनिरहनु परेन, अपवाद अवश्य हुन्छ ।

अहिले सामान्यजनको राजनीति पुनर्निर्माणमा जति योगदान नवलपरासी, सप्तरीजस्ता जिल्लाका किसान आन्दोलनले गरेका छन्, त्यति योगदान त्यहाँका विद्यालयले गरेका छैनन् । प्राप्त सूचना अनुसार, धेरै विद्यालयका शिक्षकहरू नदेखिने किसिमले मिटरब्याजी छन् । आवरणमा शिक्षकहरू ज्ञानको ज्योतिका प्रतीक हुन्, अन्तर्यमा उनीहरू नवशोषणको संरचना निर्माण गर्ने सक्रिय कर्ता ।

तर केवल जनआन्दोलनहरूको जगमा सामान्यजनको राजनीतिक खाका कोर्न सकिन्न भन्नु केही हदसम्म समस्या हो । मुलुकमै भएका ठूलठूला आन्दोलनहरू ज्वलन्त उदाहरण हुन्, तिनले राजनीतिको काल्पनिकीमा सामान्यजन रहने परियोजनालाई दिगो किसिमले धानिरहन सक्दैनन् । तथापि वैचारिक र रणनीतिक दुवै तहमा लाखौंको जनसागर ओर्लिने जनआन्दोलन र ससाना आकारका आन्दोलनका आकांक्षाबाट सामान्यजन केन्द्रित राजनीतिकलाई चाहिने सुलह बनाइरहन गाह्रो छ । त्यसैले व्यावहारिक तवरमा सोच्दा राजनीतिक काल्पनिकीमा सामान्यजनलाई कसरी सुनिश्चित गरिरहने जब जनगणलाई विघटन नगरी राजनीतिक प्रक्रिया अगाडि नबढ्ने अनुभव हामीसँग छ ? के नयाँ पुस्ताका नेतृत्वहरूले यता पनि ध्यान दिइरहेका होलान् ?

प्रकाशित : पुस ४, २०७९ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्

गरिबीका पक्षमा लोकतन्त्र

सत्तामा पुग्नासाथ निर्वाचित शासकहरुको ध्येय शान्ति बिथोल्ने, सहमति उल्लंघन गर्ने र खुला बजारका नाममा सीमित व्यापारिक स्वार्थ प्रवर्द्धन गर्ने हुन्छ । हाम्रो लोकतन्त्र बलियो नहुनुको प्रमुख कारण यही हो ।
भास्कर गौतम

अहिले देशमा नयाँ सरकार गठनसँगै काठमाडौं महानगरपालिका, वाग्मती सभ्यता एकीकृत विकास समिति, उपत्यका विकास प्राधिकरण आदि शासकीय संरचनाले अँगालेका नीति र हिंसाको परिचर्चा सर्वत्र छ । भनिन्छ, मतदानका आधारमा बन्ने सरकारले शान्तिपूर्ण लोकतन्त्रलाई बलियो बनाउँछ ।

यही मान्यतामा विश्वस्त हुँदै भोट हाल्ने काम गरिन्छ । अधिकांशको ठम्याइ छ, मतदानबाट वैधता पाएको सरकारले शान्ति र सहमतिका आधारमा शासन गर्ने संस्कृति अँगाल्छ ।

लोकतन्त्रमा शान्ति र सहमति नै शासनको जग बनिहाल्दैन । सत्तामा पुग्नासाथ निर्वाचित शासकहरूको ध्येय शान्ति बिथोल्ने, सहमति उल्लंघन गर्ने र खुला बजारका नाममा सीमित व्यापारिक स्वार्थ प्रवर्द्धन गर्ने हुन्छ । हाम्रो लोकतन्त्र बलियो नहुनुको प्रमुख कारण यही हो ।

अहिले पनि यही भइरहेको छ । पछिल्लो निर्वाचनको नतिजा नटुङ्गिँदै काठमाडौं महानगरले अभिजातमुखी व्यवस्था र बल प्रयोग नै आफ्नो शासनको साधन रहेको पुनः प्रमाणित गरेको छ । महानगरले विकासका नाममा पटकपटक हिंसाको प्रयोग गर्न थालेको छ । त्यसमा विनाश निहित छ । विनाश मात्र होइन, सार्वजनिक सहमति बिथोल्दै लोकतन्त्र गरिबविरुद्धको व्यवस्था हो भन्ने सन्देश छ । जबकि लोकतन्त्रले गरिबजनको होइन, गरिबीका विपक्षमा व्यापक शासकीय सहमति जुटाउने विश्वास धेरैले राख्छन् ।

गरिबीका विपक्षमा व्यापक शासकीय सहमतिको सम्भावना नै गरिबजनका लागि लोकतान्त्रिक व्यवस्थामा विश्वास गर्ने मुख्य आशा हो । मानव सभ्यताको इतिहासमा आशा के हो वा के होइन भन्नेबारे लामो बुझाइ र व्याख्या छ । आम मानिसलाई केन्द्रमा राख्ने राजनीतिक आशाको इतिहासले धेरै शताब्दी छिचोलिसकेको छ । तथापि बीसौं शताब्दीका प्रारम्भिक दशकहरूसम्म आशा मूलतः धार्मिक र आध्यात्मिक जगमा टिकेको थियो । यस्तो जग कतै प्रकट त कतै सुषुप्त रूपमा छँदै छ, तर बीसौं शताब्दीको मध्यदेखि आशालाई बुझ्ने र नियाल्ने दृष्टिकोण धार्मिक आस्था र मूल्यमान्यताको ढाँचामा सीमित रहेन । मूलतः दोस्रो विश्वयुद्धले निम्त्याएको मानवीय अपराध र निराशासँगै आशा धेरै हदसम्म बढी धार्मिक खाकाबाट बाहिर निस्कियो ।

अमेरिकामा चलेको रंगभेदविरोधी संघर्षका दौरान मार्टिन लुथर किङले औंल्याएजस्तै आशामा नयाँ वास्तविकता हासिल गर्ने प्रचुर सम्भावना छ । उनी बीसौं शताब्दीका प्रख्यात समाजसुधारकहरूमध्ये एक थिए । ‘मसँग सपना छ’ भन्ने उक्ति उनका राजनीतिक भाषणहरूमध्ये बहुचर्चित बन्यो । शान्तिपूर्ण परिवर्तन रोज्नेहरूका लागि पुस्तौंपुस्तासम्म उनी प्रेरणाका स्रोत बने । उनको भाषणको अभिप्राय प्रस्ट थियो, जसले रंगका आधारमा संसार विभक्त नहुने आशा देखाएको थियो । तर उनको आशा साकार हुन मानव सभ्यताले नयाँ वास्तविकता हासिल गर्नुपर्छ । त्यस्तो वास्तविकता तत्कालै हासिल हुने छाँट छैन । तर सर्वसाधारणको आशा जीवन्त नरहे सम्भावना पनि रहँदैन ।

मार्टिन लुथर किङले जसरी रंगभेदरहित नयाँ वास्तविकताको आशा जगाए, त्यसरी वर्गभेदरहित मानव सभ्यताको आशा जगाउनेहरू पछिल्लो शताब्दीमा धेरै छन् । तथापि वर्गभेद हिजोभन्दा आज प्रचुर छ । वर्गभेद प्रचुर रहँदैमा वर्गीय विभेद नरहने नयाँ वास्तविकताको आशा मरिहाल्ने सम्भावना छैन ।

पछिल्लो समय वर्गभेदलाई बलशाली बनाउन सबैभन्दा छद्म भूमिका लोकतन्त्रले खेलेको छ । यस्तो आखिर कसरी भयो, त्यो पहिल्याउन लोकतन्त्रतर्फ नै फर्कनुपर्छ ।

लोकतन्त्र फगत जथाभावी बकबक गर्ने, खुला व्यापारका नाममा सीमित व्यापारीले धरतीलाई नष्ट गर्ने र कालचक्रमा मतदान गरिरहने व्यवस्थाको मात्रै नाम होइन । तर अहिले लोकतन्त्र लगभग यत्तिमै खुम्चिएको छ ।

ग्रीक आदर्शबाट लोकतन्त्रले कोल्टे फेरिसकेको छ । ग्रीक बुझाइमा लोकतन्त्र सर्वसाधारणका पक्षमा ढल्किन सक्ने शासन थियो । तर अहिले पश्चिममा र संसारका अधिकांश भागमा लोकतन्त्र अभिजात र सम्भ्रान्तहरूको शासन हो । यस्तो शासनलाई बलियो बनाउन संसारभर मध्यम वर्गले सघाएको छ । तथापि संसारभर विश्व जनसंख्याको ठूलो हिस्सा गरिब भएकाले लोकतन्त्रको आधारभूत आदर्शले अपूर्व उपस्थिति र जुझारुपन देखाइरहन्छ ।

उपनिवेशबाट राष्ट्रिय स्वतन्त्रता हासिल गरेका अधिकांश देशमा, जसले जतिसुकै तर्क र दाबी गरे पनि, गरिबजन संविधान बनाउने र देशको भविष्यको सामूहिक खाका कोर्ने कार्यमा सहभागी हुन पाएका छैनन् । गरिबजनको सहभागिताका लागि लोकतान्त्रिक आधार सीमित भएकाले निश्चित देशले कोरेको भावी आशामा उनीहरूको सहमति छैन । अझ नेपालजस्तो प्रत्यक्ष औपनिवेशिक शासन नझेलेको मुलुकले न आफ्ना नागरिकलाई वैश्विक स्तरमै शिक्षित बनाउनेबारे केही गर्‍यो, न त जनताको आम सहमतिमा जनपक्षीय शासन गर्ने आधार बनायो । पछिल्ला केही दशकमा नेपालले लोकतन्त्रका नाममा धेरै निर्वाचन गरे पनि यस्तो शासकीय आधार बनाउने ठोस प्रयत्न गर्न सकेको छैन ।

तर आशाको आफ्नै सामर्थ्य हुन्छ । नेपालमा समेत लोकतन्त्र अभिजातीय स्वार्थमा पूर्णतः ढल्किएको भए पनि गरिबजन बिस्तारै लोकतान्त्रिक व्यवस्थाका लागि महत्त्वपूर्ण कर्ता भइरहेका छन् । को गरिब हो र को गरिब होइन, त्यो परिभाषित गर्न सोचेजस्तो सजिलो छैन । पछिल्ला तीन–चार दशकमा मात्र गरिबीको रेखाबारे धेरै बाझिने मतहरू हावी भए । गरिबलाई जसरी व्याख्या गरे पनि त्यो एकरूपीय बुझाइ हुन सक्दैन जसको मूल आधार आम्दानी होस् । घरपरिवारको आम्दानी र उपभोग गर्ने क्षमताभन्दा पर सामाजिक–आर्थिक पक्षका बहुमुखी पत्रहरूले गरिबजनलाई उत्तिकै असर गरिरहेका हुन्छन् । त्यस्ता विविध असर जसले गरिबलाई गरिबीको चक्रबाट उम्कन दिँदैनन् ।

गरिबको सामाजिक–आर्थिक संसारलाई नबुझी न गरिबीलाई पहिल्याउन सकिन्छ न लोकतन्त्रलाई नै बुझ्न सकिन्छ । अभिजातहरूले लोकतन्त्रबारे जेसुकै दाबी गरे पनि, त्यस्तो व्यवस्थामा नागरिक अधिकारलाई जसरी लिपिबद्ध गरे पनि, गरिबजनले भुइँतहबाट कसरी लोकतान्त्रिक सहमति रोज्छन् भन्ने पक्ष नबुझे लोकतन्त्र बोक्रे रटानमा सीमित हुन्छ ।

भनिरहनु परेन, सहमतिहरू आफैंमा बहुमुखी हुन्छन् । गरिबजनले अपेक्षा गर्ने सहमति भनेको शासकीय स्वार्थका लागि शेरबहादुर देउवा, पुष्पकमल दाहाल र केपी ओलीले गरेजस्तो गोप्य सहमति होइन । भुइँतहका सर्वसाधारणको सहमति हिंसामा टिकेको अभिजातीय शासनको जगलाई उल्ट्याउनका लागि, जनपक्षीय शासनमा सहमति जुटाउनका लागि र कतिपय अवस्थामा जनविरोधी शासनका विपक्षमा संघर्ष गर्नका लागि हुन्छ । त्यसैले केवल चुनावी चक्र, त्यसको वैधता र मौसमी लहरसँगै उदाएका नवशासकहरूको भूमिकामा कदापि सीमित हुँदैन लोकतान्त्रिक सहमति, न त केवल मध्यमवर्गीय स्वार्थमा सीमित हुन्छ ।

यो पनि भनिरहनु परेन, गरिबको राजनीतिलाई समाजमा विद्यमान चरम उचनीचको ऐतिहासिकताले धेरै प्रभावित गर्छ । अभिजातले गाउँसहरका अधिकांश जमिन आफ्नो नियन्त्रणमा राखेका छन् । अभिजातमुखी लोकतन्त्रले जमिन मात्र होइन, अन्य स्रोतसमेत आफ्नो नियन्त्रणमा राखेको छ । त्यो चाहे ज्ञान होस्, विदेशी सहायता होस् वा श्रम व्यवस्था । यसै पनि श्रम व्यवस्था वर्ण व्यवस्थाबाट मुक्त छैन । सामाजिक थिचोमिचोमा पेलिएका गाउँका गरिबहरू जबसम्म देशभित्रका वा बाहिरका सहरहरूमा बसाइँ सर्दैनन्, गरिब श्रमिकसँग आफ्नो थातथलोमा जीविकाका लागि खासै राम्रो विकल्प हुँदैन । सहरमा प्रवेश गर्नासाथ अभिजातमुखी लोकतन्त्रले गरिबजनलाई न बासको मेलो दिन्छ न त कामकै । सहरमा राम्रो काम पाउनसमेत गाउँका गरिबलाई गाउँकै संरक्षण चाहिन्छ ।

तर लोकतन्त्रबारे हाम्रो सार्वजनिक विमर्श जति चुनावी हारजित, दलको जुटफुट र शासकीय लेनदेन आदि चर्चामा अल्झिन्छ, त्यसको एकछेउ पनि गाम्रीण भेगको सामाजिक शक्ति–सम्बन्धबारे सोच्दैन । यस्तो चर्चाबेगर, प्रस्ट छ, सहरकेन्द्रित उत्पादन सम्बन्ध एवं सहरको व्यवस्थित बसाइबारे बुझिँदैन, न त सहरको अव्यवस्थित बसोबास र जीविकाका अनेकौं आयामबारे ज्ञान हुन्छ । सँगै, लोकतान्त्रिक व्यवस्था र सो व्यवस्थामा गरिबको महत्त्वपूर्ण भूमिकाबारे अपूर्ण बुझाइ हुन्छ । अपवादबाहेक सुकुम्बासी र भूमिहीन गरिबको सवालमा अहिले यही भइरहेको छ । त्यसैले नेपालमा लोकतन्त्रले सुकुम्बासीसहित अन्य गरिबलाई दिनुपर्ने संस्थागत अवसरहरूबारे सार्वजनिक टिप्पणी अपुरो मात्र होइन, वर्गीय द्वेषले ग्रस्तसमेत छ ।

पृथ्वीलाई संकटग्रस्त बनाउने कार्यलाई लोकतन्त्र ठानिएको युगमा गरिबीका विपक्षमा यस्तो व्यवस्थालाई ढाल्न सोचेजस्तो सजिलो छैन । अझ जब राजनीतिक निराशाले ग्रस्त प्रतिनिधिहरू जब निर्वाचित हुन्छन् र नवशासकमा परिणत हुन्छन्, गरिबीविरुद्धको लडाइँ थप निराशामा परिणत हुन्छ । नेपालमा अहिले यही भइरहेको छ- मानवीय आशाको पराजय र निराशाको जित ।

मानवीय सभ्यतामा धेरै किसिमले काल क्षणिक भएजस्तै यस्तो निराशाको समय पनि क्षणिक हो । आशा पुनः मडारिएर आउनेछ । नयाँ वास्तविकताले फेरि शिर उठाउनेछ । त्यस्तो नयाँ वास्तविकता जहाँ सर्वसाधारणका पक्षमा लोकतन्त्र ढल्नेछ । यदि लोकतन्त्र अति नै घातक हुन थाले अर्को कुनै नामधारी व्यवस्था आउनेछ । राजनीतिक निराशाको जगमा उम्लिएका हालका शासकहरूले थप निराशा जगाइरहे पनि समानता र समताबेगर मानवीय आशाको यात्राले कदापि विश्राम लिनेछैन । मानवीय इतिहासमा गरिबजनले जगाएको आशा यत्ति कमोजर छैन कि त्यसले क्षणिकको विस्थापनमै प्राण त्याग गरोस् ।

प्रकाशित : मंसिर १९, २०७९ ०७:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×