२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

प्रधानमन्त्री देउवालाई पूर्वबैंकरको पत्र

आफ्नो पार्टीको जनमत २० प्रतिशत हाराहारी ह्रास हुँदा पनि र पार्टीले ३ प्रतिशत मत नकटाउँदासमेत पार्टी प्रमुखहरूले राजीनामा नदिनुपर्ने थोरै मुलुकमा सायद नेपाल पर्ला ।
भुवन दाहाल

प्रधानमन्त्रीज्यू,
सर्वप्रथम, २०४८ सालदेखि २०७९ सालसम्म लगातार संसद्को चुनाव जितेर रेकर्ड कायम गर्नुभएकामा विशेष बधाई । यहाँको भाग्य यति बलियो रहेछ, ५० वर्षभन्दा कम उमेरमा २०५२ सालमा नेपालको प्रधानमन्त्री हुनुभयो । २०४७ सालमा लोकतन्त्र आएपछि अरू कोही ५० वर्षभन्दा कम उमेरमा नेपालको प्रधानमन्त्री हालसम्म भएको छैन ।

प्रधानमन्त्री देउवालाई पूर्वबैंकरको पत्र

दुर्गम इलाकामा, सामान्य परिवारमा हुर्केर पाँच–पाँचचोटि देशको प्रधानमन्त्री हुनु तथा नेपाली कांग्रेसजस्तो ऐतिहासिक पार्टीको केन्द्रीय सभापतिमा दुई–दुईचोटि चुनिनु चानचुने कुरा होइन । तर, यहाँका व्यक्तिगत उपलब्धिलाई समग्र नेपाली जनताको उपलब्धिसँग तुलना गर्दा कस्तो देखिएला ? हेरौं- यो अवधिमा शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात, बैंकिङ लगायत धेरै क्षेत्रमा विकास भएको यथार्थ हो । तर, लोकतन्त्र आएपछि नेपालीलाई सिंगापुर र स्विट्जरल्यान्डको सपना देखाइएको पृष्ठभूमिमा, ती दुई देशको त कुरै छोडौं, हाम्रा नजिकका छिमेकीसँग मात्र तुलना गर्दा पनि अवस्था कति दयनीय छ भन्ने थाहा हुन्छ । हेर्नुस् त, अहिले हामी कति बेथितिबाट गुज्रिएका छौं ! अधिकांश क्षेत्रमा सुशासनको अभाव छ । असल मानिसलाई बाँच्नै गाह्रो छ । हाम्रा छोराछोरी विदेश गएपछि फर्केर आउनै चाहँदैनन् ।

हामीले छिमेकीले जति पनि विकास किन गर्न सकेनौं ? कारण मैले बताउनैपर्दैन, संसार घुम्नुभएका र यतिका चोटि प्रधानमन्त्री भैसक्नुभएका यहाँलाई धेरै राम्ररी थाहा हुनुपर्छ । देशको तीव्र विकास सामान्य प्रयासले मात्र सम्भव हुन्न । सुशासनका विषयमा अविचलित अठोट र दूरदृष्टिका साथ दैनिक पन्ध्र–सोह्र घण्टा सृजनात्मक काममा खटी जनताको आकांक्षा अनुरूप तीव्र विकास गर्न आफू हैन अर्कै पात्र उपयुक्त हुन्छ भन्ने वास्तविकता क्रान्तिकारी तथा संघर्षशील पृष्ठभूमिका यहाँलाई थाहा नहुने कुरै छैन ।

२०४८ सालमा यहाँले डडेलधुरामा २४,५७० मत पाउनुभएको थियो, जुन निकटतम प्रतिद्वन्द्वीको भन्दा झन्डै चार गुणा बढी थियो । डडेलधुरावासीले यहाँलाई यति धेरै माया गर्दा न बालुवाटारको ढोका ‘खुल जा सिमसिम’ भन्दै खुलाउनुपर्थ्यो, न यहाँले ‘फ्री टिकट फ्री भिसा’ मा कसैलाई मलेसिया नै पठाउनुपरेको थियो, न यहाँको परिवारको हैसियत ‘हामीलाई भोट नहाल्ने ठाउँमा थोडै हामी बजेट पठाउँछौं’ भन्ने थियो, न यहाँसँग महागठबन्धन नै थियो । तर, २०७९ सालमा महागठबन्धन गरेर यहाँले पाउनुभएको २५,५३४ मत निकटतम प्रतिद्वन्द्वीभन्दा दोब्बर पनि छैन । कल्पना गर्नुस् त, ती निकटतम प्रतिद्वन्द्वी सागर ढकाल गुल्मीको नभई डडेलधुराकै स्थायी बासिन्दा भएका भए चुनावको नतिजा कस्तो हुन्थ्यो होला ? एउटा ठिटो (टुरिस्ट उम्मेदवार), चार महिनाअगाडि बल्ल डडेलधुरा टेकेको मान्छेलाई डडेलधुरावासीले त्यत्रो मत दिएर यहाँलाई स्पष्ट सन्देश दिएका छन्, ‘तमले डडेलधुराका लाई भौत गरया छ, हाम तमलाई अपमानित नाई अद्दा । आब भण्या ज्वान मान्सको पालो आयो । आब तमले सत्ताको चाबी ज्वान मान्सका हातमा दिय र तम सयाना भयाले अरती दिन्या भै वर बस ।’

पूर्वप्रधानमन्त्री केपी ओलीद्वारा गरिएको प्रतिनिधिसभा विघटनबाट पाठ सिकेर यहाँले सुशासन कायम गर्नुहोला भन्ने झीनो आशा थियो, तर सरकार यसरी चलाउनुभयो, यहाँको नेतृत्वको गठबन्धनलाई जनताले ‘ठगबन्धन’ पो भन्न थाले । यहाँका धेरै मन्त्रीले चुनावै हारे । महागठबन्धनका बावजुद यहाँको पार्टीको नतिजा खासै उत्साहप्रद छैन, प्रतिनिधिसभामा एमालेभन्दा केही संख्या ठूलो भए पनि ।

२०७४ सालको चुनावमा नेपाली कांग्रेसले ३२.७८ प्रतिशत जनमत पाएको थियो, जुन अहिले २५.७१ प्रतिशतमा झरेको छ अर्थात् जनमतमा २१.५६ प्रतिशत ह्रास भएको छ । एमालेको मत पनि २०७४ सालको ३३.२५ प्रतिशतबाट २६.९५ प्रतिशतमा झरेको छ तर त्यो १८.९६ प्रतिशत मात्र कम हो । अर्थात्, एमालेको कांग्रेससँगको मतान्तर बढेको छ (०.७४ प्रतिशत विन्दुबाट १.२४ प्रतिशत विन्दु) । यहाँ पहिलोचोटि सभापति बन्दा नेपाली कांग्रेस जनमतमा देशको पहिलो पार्टी थियो, एमालेभन्दा १.८९ प्रतिशत विन्दुले अगाडि ।

अर्कातिर, माओवादी केन्द्रले २०७९ सालको चुनावमा ११.१३ प्रतिशत जनमत पायो जबकि २०७४ सालको चुनावमा १३.६६ प्रतिशत थियो । जनमतमा १८.५२ प्रतिशतको ह्रास, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको पार्टीको मत जोड्दासमेत ! पूर्वप्रधानमन्त्री माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी त ३ प्रतिशत मत ल्याउन नसकेर राष्ट्रिय पार्टीसम्म पनि बन्न सकेन जबकि चुनावभन्दा अगाडि यो प्रतिनिधिसभामा चौथो ठूलो पार्टी थियो । आफ्नो पार्टीको जनमत २० प्रतिशत हाराहारी ह्रास हुँदा पनि र पार्टीले ३ प्रतिशत मत नकटाउँदासमेत पार्टीप्रमुखहरूले राजीनामा नदिनुपर्ने थोरै मुलुकमा सायद नेपाल पर्ला ।

बहालवाला र भूतपूर्व प्रधानमन्त्रीहरूले नेतृत्व गरेका चारै पार्टीलाई नेपाली जनताले कम मत हालेर ‘नो नट अगेन’ भन्ने स्पष्ट सन्देश दिएका होइनन् र ? पार्टी नेतृत्वमा नरहेका अर्का भूतपूर्व प्रधानमन्त्री झलनाथ खनाललाई इलामेली जनताले केवल ‘नो नट अगेन’ भन्दा पुग्थ्यो, भनिदिए । नेपाली जनताले यहाँहरूलाई सम्मान गर्दै आएका छन्, ‘नो नट अगेन’ पनि यहाँहरूको अपमान होइन । ‘यहाँहरूले जति सक्नुहुन्थ्यो, गर्नुभयोÙ अब आराम गर्नुस् र नयाँ पुस्तालाई सल्लाह दिने भूमिकामा बस्नुस्’ भन्नु त सम्मान नै हो नि !

हाम्रोजस्तो गरिब देशका प्रधानमन्त्रीमा कम्तीमा दुई गुण हुनु जरुरी छ- (१) लक्ष्य तथा कार्यक्रममा स्पष्टतासहित सुशासनका मामिलामा सम्झौता नगर्ने, (२) शारीरिक, मानसिक र आध्यात्मिक रूपमा स्वस्थ भई देशका लागि दैनिक पन्ध्र–सोह्र घण्टा सृजनात्मक काममा खट्न सक्ने । तर, यहाँबाट यो सम्भव छैन । देशलाई विकसित बनाउने ‘इच्छा’ मात्र भएर पुग्दैन भन्ने त लन्डन स्कुल अफ इकोनोमिक्सको समेत संगत पाएका यहाँले मागको परिभाषा पढ्नुभएकै होला । त्यसका अलावा, अंग्रेजीको प्रख्यात उखान ‘इफ विसेज वैर हर्सेज, बेगर्स उड राइड’ त पक्कै सुन्नुभएको हुनुपर्छ । यसबारे एक्लै बसेर चिन्तन गर्न म यहाँलाई विनम्र अनुरोध गर्छु ।

आरजु म्याडमलाई पनि मलाई केही भन्नु छ । म्याडम, हाम्रा दुइटा भेट बैंकिङ विषयमा भएको थियो, विशुद्ध प्रोफेसनल । यहाँ शिक्षित हुनुहुन्छ, संसार घुम्नुभएको छ, नेतृत्व सम्बन्धी प्रशिक्षण पनि दिनुहुन्छ । यहाँलाई आफ्ना पति, प्रधानमन्त्री देउवाको ८० वर्ष पुग्न लागेको शरीर र दिमागले पन्ध्र घण्टाको निरन्तर खटाइ हैन, आराम खोजिरहेको छ भन्ने लाग्दैन ? यहाँलाई लाग्दैन, उहाँले देशका लागि प्रधानमन्त्रीभन्दा पनि अभिभावक भएर सल्लाहकारको भूमिकामा बढी योगदान गर्न सक्नुहुन्छ ? छैटौंचोटि प्रधानमन्त्री भएर चाहिँ उहाँको इज्जत बढ्छ र ?

आरजु म्याडम, प्रधानमन्त्री देउवालाई भनिदिनुस्, ‘अब तिमी छैटौंचोटि प्रधानमन्त्रीको दौडमा नलाग, इमानदार र सक्षम व्यक्तिलाई संसदीय दलको नेता चुनेर आफू अभिभावक/सल्लाहकार भएर बस, अब बन्ने प्रधानमन्त्रीलाई सघाऊ । यसले नै तिम्रो यश बढाउनेछ, देशको कल्याण गर्नेछ । तिम्रा श्रद्धेय नेता गणेशमान सिंह प्रधानमन्त्री नभएर पनि धेरै मान्छेको दिल र दिमागमा हुनुहुन्छ त !’

प्रधानमन्त्रीज्यू, यहाँले देख्नुभएकै छ, ४० वर्ष नपुग्दै इम्यानुएल म्याक्रोनले फ्रान्सजस्तो देश चलाएको, ४२ वर्षका ऋषि सुनकले संयुक्त अधिराज्यको नेतृत्वको अवसर पाएको, एक समयका चर्चित महाथिर मोहम्मद कुर्सीमा बसिरहने लालसाका कारण हालै चुनावमा नराम्ररी पराजित भएको । यहाँले सक्षम व्यक्तिलाई नेतृत्व हस्तान्तरण गर्नुभएन भने नेपाली जनता कांग्रेस पार्टी भनेर बसिरहनेवाला छैनन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र सीके राउत नेतृत्वको जनमत पार्टीमार्फत नेपाली जनताले घण्टी र माइक बजाइसकेका छन् ।

यहाँले सक्षम व्यक्तिलाई नेतृत्व हस्तान्तरण गरिदिनुभयो भने नेपाली कांग्रेसमा मात्र हैन, एमाले र माओवादीमा पनि सुधार आउनेछ । ओली ७० वर्षे उमेरहदको अनौठो व्याख्या गरेर पार्टी अध्यक्ष हुनुहुन्छ । उहाँले समन्वयकारी भूमिका खेल्नुभएको भए आज एमाले निकै ठूलो पार्टी हुने थियो । प्रचण्ड झन्डै ४० वर्षदेखि पार्टीप्रमुख हुनुहुन्छ, पार्टी अवनतिको दिशामा छ । दुइटै कम्युनिस्ट पार्टीको जनमतमा ठूलो ह्रास आएको छ तर पनि तिनका अन्य नेता पार्टी अध्यक्षलाई ‘कमजोरी स्विकार्नुस्’ भन्न सक्ने अवस्थामा छैनन् । यहाँले आफ्नो पार्टीमा नेतृत्व हस्तान्तरण गरिदिनुभयो भने यी दुइटै पार्टीका युवाहरूले पनि आफ्ना नेतृत्वहरूको कमजोरीबारे खुलस्त बोल्ने थिए । यहाँको उदाहरणीय सत्ता हस्तान्तरणले देशको भलाइ गर्नेछ । यहाँ राजनेता हुने दिशातिर लम्कनुहुनेछ । आफ्नो छेउछाउ घुम्ने लोभीपापीका कुरा सुन्ने हैन, आफूले आदर्श मानेका बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलाई सम्झनुस् । अनि यहाँको सम्मान बढ्ला । आगे यहाँकै मर्जी !

दाहाल पूर्वबैंकर हुन् ।

प्रकाशित : पुस ३, २०७९ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?