कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

संसदीय नेतृत्वमा गगनको सकस

निजी प्रतिष्ठा, अहंकार र आफू नै अपरिहार्य हुँ भन्ने मानसिकताबाट आफैं मुक्त हुन सके देउवाको राजनीतिक विश्राम उदाहरणीय हुनेछ । २०५१ सालमा उनी जसरी निर्विरोध संसदीय दलको नेता चुनिएका थिए, त्यही परम्परा उनले अहिले पछ्याउनुपर्ने होइन ?
कृष्ण खनाल

नेपाली कांग्रेसको गत महाधिवेशनमा सर्वाधिक मत पाएर महामन्त्रीमा विजयी भएका गगन थापा के त्यसै गरी संसदीय दलको नेतृत्वमा पुग्न सक्लान् ? यो कति सम्भव छ ? धेरैका मनमा यो प्रश्न खेलिरहेको हुनुपर्छ । निश्चय पनि महामन्त्रीभन्दा यो प्रतिस्पर्धा बढी पेचिलो छ । यो नेतृत्वमा पुग्नु भनेको प्रधानमन्त्री बन्ने ढोका खुल्नु पनि हो । संसद्मा अहिले कांग्रेस सबैभन्दा ठूलो दल भएकाले त्यो सम्भावना पनि उत्तिकै छ ।

संसदीय नेतृत्वमा गगनको सकस

प्रत्यक्ष र समानुपातिक गरी प्रतिनिधिसभामा कांग्रेसका ८९ सांसद छन्, कांग्रेसको विधान अनुसार यिनै सांसदहरूले कांग्रेस संसदीय दलको नेता चुन्छन् । चुनिनका लागि पचास प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ, अर्थात् कम्तीमा ४५ जना सांसदको समर्थन चाहिन्छ । कांग्रेसमा देउवा पक्ष र देउवाइतर भनेर अहिले जुन समीकरण छ, त्यसलाई मात्र आधार मान्ने हो भने त चुनाव नै गर्नु पर्दैन, परिणाममा शेरबहादुर देउवाकै निरन्तरता निश्चित छ । गगनलाई ४० प्रतिशत पुर्‍याउन पनि हम्मे पर्छ ।

पार्टी नेतृत्वको चुनाव भनेको केवल पक्ष–विपक्षमा संख्याको जोडघटाउजस्तो अंकगणितीय खेल र बहुमतको प्राविधिकतामा मात्र सीमित होइन । धेरै कुरा यसमा जोडिन्छन् । गुटगत समर्थन र विरोधभन्दा प्रतिस्पर्धामा उत्रिएका व्यक्तिको दृष्टिकोण, क्षमता र चरित्र निर्णायक हुन्छन् । पार्टीमा यथास्थितिको निरन्तरता वा परिवर्तनको बाटो निर्धारण गर्ने अवसर पनि हो यो । नयाँ नेतृत्वले पार्टीमा जीवन र गति दिन्छ, मतदाता र समर्थकमा उत्साह भर्छ । योग्य र सबल नेतृत्व पाउन सके छिमेकी र शक्तिराष्ट्रहरूको चलखेललाई पनि न्यूनीकरण गर्न सकिन्छ । कांग्रेस लगायत नेपालका राजनीतिक दलका नेतृत्व चयनमा यिनको कति भूमिका होला, प्रश्न गर्न सकिएला, तर स्वस्थ पार्टी प्रणालीको विकासका लागि यी अनिवार्य तत्त्व हुन् । अहिले समयको जुन मोडमा कांग्रेस संसदीय दलको नेतृत्व चयन हुँदै छ, त्यसमा पार्टी मात्र होइन, आउने पाँच वर्ष सरकार, संसद् र मुलुककै भविष्य गम्भीर रूपमा जोडिएको छ । त्यसैले पनि कांग्रेसको संसदीय नेतृत्वप्रति मुलुकको ध्यान केन्द्रित भएको हो । एमाले र माओवादीमा अहिले नेतृत्व परिवर्तनको अपेक्षा गर्न पनि सकिन्न, ओली र प्रचण्डको अनुमोदनबाहेक ।

कांग्रेसका सांसदहरूले स्वतन्त्र भएर गुणदोषको मूल्याङ्कनसहित विवेक प्रयोग गर्ने हो भने परिणाम उल्टिनुपर्ने हो र गगन विजयी हुनेमा शंका गर्नुपर्ने थिएन । देउवालाई फेरि पनि नेता चुन्न चित्तबुझ्ने कारण के छ र ? पटकपटक अवसर पाउँदा पनि उनको सफलताको कथा भाग्यवादबाट माथि उठ्न सकेको छैन । पहिलो पटक २०५१ सालमा संसदीय दलको नेता चुनिँदादेखि नै उनी भाग्यमानी बन्दै आएका छन् । उनलाई कृष्णप्रसाद भट्टराईको शुभेच्छा त छँदै थियो, गिरिजाप्रसाद कोइरालाले पनि आपत्ति गरेनन्, उनी निर्विरोध चुनिए । सम्भावित प्रतिस्पर्धीहरूमध्ये रामचन्द्र पौडेल सभामुख पाइने भो भनेर रमाए, शैलजा आचार्य पनि गिरिजाको प्राथमिकतामा परिनन् । संसदीय दलको नेता चुनिएको दस महिना नबित्दै देउवाले मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकारलाई अविश्वासको प्रस्तावबाट विस्थापित गर्दै कांग्रेस–राप्रपा–नेसपा गठबन्धनमा प्रधानमन्त्री बन्ने अवसर पाए । त्यतिखेर उनी नयाँ पुस्ताका युवा प्रधानमन्त्री भएकामा सबै खुसी पनि थिए । प्रधानमन्त्री भएपछि सत्ताको आडमा पार्टीभित्र उनको गुट पनि बन्दै गयो ।

प्रधानमन्त्री हुँदा देउवाको भाग्यवादको जरा अरू बढ्नुबाहेक मुलुक, लोकतन्त्र र नेपाली कांग्रेसले उल्लेख्य केही पाएनन् । बरु लोकतन्त्रप्रति निष्ठावान् नागरिकले शिर निहुर्‍याउनुपर्ने हुन थाल्यो । ससद्मा बदनामित पजेरो संस्कृति र निर्वाचन क्षेत्र विकासका नाउँमा सांसदको खल्ती भर्ने गलत प्रथा र जम्बो मन्त्रिमण्डलको परम्परा उनैले भित्र्याए । दोस्रो पटक प्रधानमन्त्री हुँदा संवैधानिक प्रणालीलाई नै दरबारमा बुझाए, आफैंले प्रस्ताव गरेको प्रतिनिधिसभाको चुनाव नै गर्न सकेनन् । उल्टै राजा ज्ञानेन्द्रले समेत नालायक भनेर बरखास्त गरे । तेस्रो पटक उनै राजा ज्ञानेन्द्रले निगाहपूर्वक फेरि प्रधानमन्त्रीको कुर्सीमा बसाले, देउवाले ‘गोरखाली राजाबाट न्याय पाएँ’ भन्दै जयजयकार गरे । तर १० महिनामै फेरि बरखास्तगीमा परे । उनको चौथो कार्यकालमा कांग्रेसले संसदीय चुनावमा सर्मनाक हार बेहोर्नुपर्‍यो, तर नेतृत्वमा रहिरहे । भाग्यवादी राजनीतिका पात्र देउवा कम्युनिस्ट सत्ता विग्रहका कारण पाँचौं पटक प्रधानमन्त्री हुन पुगे । तर उनको यो कार्यकाल उनका पूर्ववर्ती ओलीको भन्दा कुनै किसिमबाट पनि राम्रो मान्न सकिने ठाउँ छैन । कम्युनिस्ट विभाजनको यत्रो ठूलो राजनीतिक अवसरमा पनि चुनावमा कांग्रेसले अपेक्षित मत नपाउनु उनकै अयोग्यता र अक्षमता हो ।

अहिले कांग्रेस संसद्मा सबैभन्दा ठूलो पार्टी भएको छ, गत चुनावका तुलनामा यो उपलब्धि भन्न सकिएला । तर यसको अन्तर्यमा पसेर विवेचना गर्ने हो भने देउवाको सफलता भनेर भजन गाउनुपर्ने ठाउँ छैन । गठबन्धनका कारण प्रत्यक्षतर्फ कांग्रेसले तुलनात्मक लाभ पाएको छ, सिट पनि बढेको छ । तर समानुपातिकतर्फ पहिलेभन्दा ८ सिट कम पाएको तथ्य पनि छ । पहिलेभन्दा चार लाख अन्ठाउन्न हजार लोकप्रिय मत नै घट्यो, जबकि यो चुनावमा पहिलेभन्दा दस लाख मत बढी खसेको छ । पार्टीको जनाधार जान्ने मुख्य सूत्र चुनावमा उसले प्राप्त गर्ने लोकप्रिय मत हो, जस्तो नदीमा पानीको बहाव कम भयो भने विद्युत् उत्पादन घट्छ । यो प्रकृति र विज्ञान दुवैले पुष्टि गर्ने सूत्र हो । लोकप्रिय मतमा स्खलन भनेको अर्को चुनावसम्म पार्टीको काम र छविमा सुधार नहुने हो भने, हार निश्चितजस्तै हो । कसले सुधार्छ त कांग्रेसको छवि ? कसले आशा जगाउन सक्छ सरकारको काम र जनमुखी परिणाम दिन ?

नेपालकै इतिहासमा ठूलो क्रान्तिकारी परिवर्तनको पारिवारिक विरासत बोकेका पनि छन् कांग्रेस सांसद्मा- शशांक कोइराला र प्रकाशमान सिंह । शशांक बीपी कोइरालाका पुत्र हुन् भने प्रकाशमान गणेशमान सिंहका । दुवै पार्टीभित्रको लोकप्रिय मतबाट महामन्त्री र उपसभापतिमा निर्वाचित पनि भएका थिए । चुनाव अभियानका बेला र चुनावपछि पनि उनीहरूले समेत प्रधानमन्त्री बन्ने निरीह धोको व्यक्त गरे । तर देउवाकै निगाह एवं मेजमानीमा रमाउनु र आश्रय लिनुबाहेक उनीहरूको राजनीतिक व्यक्तित्व नै बन्न सकेन । राजनीतिक सोच र दृष्टि भनेको आमाले काखमा राखेर शिशुलाई दूध पिलाएजस्तो होइन; त्यो ऐनमौकामा व्यक्तिको आँट, काम र गतिमा पनि जनताले पत्याउने गरी देखिनुपर्छ । अहिले कांग्रेस सांसदमध्ये केही युवा देखिएका छन्— गगन, विश्वप्रकाश, प्रदीप पौडेल जसमाथि भावी नेतृत्वको आशा र भरोसा गर्ने ठाउँ देखिएको छ । अरू पनि नयाँ अनुहार र युवा छन् जसले आफूलाई निरन्तरको परीक्षाबाट आशालाग्दो नेतृत्वमा प्रक्षेप गर्न सक्छन् । तर यस पटक कांग्रेसका शुभेच्छुक, समर्थकको लोकप्रिय मतमा गगन नै देउवाको विकल्पमा अग्रपंक्तिमा छन् ।

जहाँसम्म गगनको सम्भावनाको कुरा छ, उनलाई पनि संसदीय दलको नेतृत्वमा चुनिन त्यति सहज भने छैन । आदर्श र सिद्धान्तका कुरा आफ्नो ठाउँमा महत्त्वपूर्ण छन्, तर नेपालको राजनीतिको धरातल यति धमिलो र प्रदूषित छ कि स्वस्थ प्रतिस्पर्धाको ठाउँ पनि साँघुरो छ; छैन भने पनि हुन्छ । त्यसमाथि छिमेकीको गिद्धेदृष्टि छ । यस पटकको चुनावमा भारतीय जनता पार्टी (भाजपा) र उसको चरम कट्टरपन्थी हिन्दु युवा दस्ता, राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) उम्मेरवार बनाउनेमा अर्थात् कसलाई टिकट दिनुपर्छ, कसलाई दिनु हुँदैन भन्नेसम्ममा लागे भन्ने सुनिएको छ । छिमेकी मात्र होइन, शक्तिराष्ट्र र अन्तर्राष्ट्रिय समुदायको पनि नेपालको राजनीतिमा के भइरहेछ, यो कता जाँदै छ भनेर चासो हुन्छ । उनीहरूले आफ्नो राष्ट्रिय हित र प्राथमिकतालाई सुरक्षित गर्न चाहन्छन् । राजनीतिमा यो स्वाभाविक कुरा हो । त्यसलाई ठीक ठाउँ र सन्तुलनमा राख्ने, त्यसको अवाञ्छित प्रभावबाट जोगिने र जोगाउने काम नेतृत्वको हो । अघिल्लो संसदीय कालमा नेपालको परराष्ट्र सम्बन्ध, खास गरी छिमेकी भारत र चीनसित अत्यन्तै असन्तुलित र असंयमितसमेत रह्यो । त्यसको प्रभावबाट नेपाल अहिले पनि मुक्त छैन ।

यतिखेर कांग्रेसमा बीपी कोइरालाजत्तिकै राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै नीतिमा जोखिम बोक्न तयार तर सबल र सक्षम नेतृत्वको खाँचो छ । गगनमा मैले त्यो सम्भावनाको ठाउँ देखेको छु । जुन किसिमबाट उनी पार्टीमा, संसद्मा, सरकारमा र सार्वजनिक प्रस्तुतिमा देखिन्छन्, तिनमा त्यो प्रतिभा र क्षमता देख्न सकिन्छ । गगनप्रति मेरो कुनै व्यक्तिगत अनुराग भएर मैले यो भनेको पनि होइन । पुरानो चिनजान र सम्पर्कको कुरा गर्ने हो भने, देउवा र रामचन्द्र पौडेलजति कांग्रेस नेतामध्ये अरू कसैसँग छैन होला । निजी लाभ त मैले देउवासँगै जति पनि पाउँथें होला । त्यसमाथि म एक दशकभन्दा लामो समयदेखि कुनै पनि राजनीतिक दल र नेतासँग राजनीतिक सम्पर्कमा छैन, विरलै जाने एकाध सार्वजनिक कार्यक्रममा हुने देखादेखबाहेक ।

संसदीय दलको नेतृत्वमा गगनले गर्नुपर्ने पार्टी सभापति एवं बहालवाला प्रधानमन्त्रीसमेत रहेका देउवाको प्रत्यक्ष सामना त देखिने कुरा हो । तर देखिने र नदेखिने गरी उनले आफ्नै खेमा र समवर्तीहरूसँग सामना गर्नुपर्ने चुनौती र सकस पनि उत्तिकै छन् । देउवाविरुद्ध जति छन्, ती सबै मत आफ्नो पक्षमा पार्न उनले निकै ठूलो कसरत गर्नुपर्नेछ । त्यसैले कांग्रेसमा नेतृत्वको यो प्रतिस्पर्धा बहुकोणीय प्रकृतिको हुनेछ । संक्षेपमा भन्नुपर्दा, उनका कारण देउवालाई सत्ताबाट हट्नुपर्ला भन्ने पीडा छ, कोइरालाहरूलाई पारिवारिक विरासत गुम्ने भय छ, उनका समकालीनहरूलाई कनिष्ठले उछिन्ने भयो भन्ने चिन्ता छ । कांग्रेसमा मात्र होइन, यसको प्रभाव आफूमाथि पनि पर्ला भन्ने अरू दलका नेताहरूलाई पनि पिरलो छ । कांग्रेसमा अहिले यो खेल गगनविरुद्ध भित्रभित्रै भुसको आगोजस्तै फैलाउने प्रयत्न भैरहेको आभास पाइन्छ ।

यो स्वाभाविक हो, सनातनी पार्टीमा नयाँ नेतृत्व उदयको सम्भावना देखिएका बेला । देउवाले चुनाव जिते पनि उनी अस्ताउन लागेका घाम हुन् र यो उनको अन्तिम प्रयास हो, ज्योतिषीको भविष्यवाणी पनि अन्तिम नै होला । आशाको पालो बाँधेर बसेकालाई उनी अब चुनौती होइनन् । तर गगन नेतृत्वमा आए भने उनले अर्को दस वर्ष पार्टी हाँक्ने सम्भावना रहन्छ । उनी युवा मात्र छैनन्, उत्साही र ऊर्जाशील पनि छन् । खुला राजनीतिमा प्रभावशाली औजार मानिने लोकप्रियता पनि आर्जन गरेका छन् । उनकै शुभेच्छुकमा पनि उनी आएपछि आफूले मौकै नपाइने हो कि भन्ने चिन्ताको मनोविज्ञान बुझ्न कठिन हुँदैन । त्यसैले गगनविरुद्ध अहिले भित्री टिप्पणी सुनिन्छ— उनले दस भोट पनि ल्याउँदैनन्, देउवा अरू बलियो हुन्छन् । उनी विभिन्न तहका पार्टी कार्यकर्ताको पहुँचमै छैनन्, फोन नै उठाउँदैनन् । उनी पार्टीको कार्यक्रममा भन्दा गैरसरकारी संस्थाले पाँचतारे होटलमा आयोजना गर्ने कार्यक्रममा बढी पुग्छन् । उनी क्षेत्री गठबन्धनमा लागेका छन् । समानुपातिकतर्फ पार्टीको भोट घट्नुमा महामन्त्रीको हैसियतले के उनी जिम्मेवार छैनन् ?

देउवाको टक्कर शेखरले मात्रै दिन सक्छन् भन्ने एउटा विकृत मत निर्माण गर्ने प्रयत्न भइरहेको देखिन्छ । म भन्दिनँ, गगनविरुद्ध सुनिने गुनासाहरू सत्य छैनन्, गलत छन् । त्यसमाथि पार्टीबाहिरको व्यक्तिले कसैलाई क्लिन चिट दिने वा आरोप लगाउने होइन, सापेक्षिक अभिमतसम्म राख्ने हो । गगनका हजार कमजोरी होलान्, तर कांग्रेसमा देउवालाई टक्कर दिने उनको हैसियतको अर्को नेतृत्व कोही देखिएको छैन । बाटामा मुर्दा कुर्नेको ताँती भने ठूलै होला । नेतृत्वमा चुनिए गगनले केकति गर्न सक्छन्, त्यो परीक्षामै छ, तर देउवाको निरन्तरतामा राजनीति अरू खराब हुने निःसन्देह निश्चित नै छ । उदाउँदो नेतृत्वमा शंकाको घेरा बढाएर विद्यमान गलत नेतृत्वको निरन्तरता पुष्टि हुन सक्तैन । अहिले कांग्रेस संसदीय दलमा स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाउनु आवश्यक छ । राम्रो त, देउवाले स्वैच्छिक विश्राम लिएर बरु आफ्नै पक्षबाट आफूले चाहेको अर्को कुनै सांसदलाई संसदीय दलको नेतृत्वका लागि उम्मेदवार बनाए पनि हुने हो । त्यो अन्यथा पनि मानिँदैन । पार्टी राजनीतिमा यस्तो प्रचलन पनि छ । निजी प्रतिष्ठा, अहंकार र आफू नै अपरिहार्य हुँ भन्ने मानसिकताबाट आफैं मुक्त हुन सके देउवाको राजनीतिक विश्राम उदाहरणीय हुनेछ । के देउवाबाट त्यो अपेक्षा गर्न सकिन्छ ? २०५१ सालमा उनी जसरी निर्विरोध संसदीय दलको नेता चुनिएका थिए, त्यही परम्परा उनले अहिले पछ्याउनुपर्ने होइन ?

प्रकाशित : पुस ३, २०७९ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?