कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महिला यौनकर्मीलाई कहिलेसम्म अपराधी मानिरहने ?

विकल्पहीन प्रतिबन्धले यौनव्यापार रोकिँदैन । यौन श्रममा परिस्थितिवश धकेलिएकाहरूको नागरिक र मानव अधिकारलाई संरक्षकत्व प्रदान गर्न यौनकार्यको निरपराधीकरण अविलम्ब गरिनुपर्छ । अनि मात्र महिला यौनकर्मीमाथिका ज्यादती र लाञ्छना कम हुन सक्छन् ।
प्रणेता

एक : गाउँबाट आएका आफन्त (पुरुष) लिन सडकमा कुरिरहँदा समेत प्रहरीले समात्छ र थुनेर दुःख दिन्छ । हामी हर समय यौनकर्मी हुँदैनौं; आमा, गृहिणी पनि हुन्छौं वा परिवारप्रतिको जिम्मेवारी निभाइरहेका विविध भूमिकाका पात्र पनि त हुन्छौं । 

महिला यौनकर्मीलाई कहिलेसम्म अपराधी मानिरहने ?

दुई : प्रहरीले होटलमा छापा हान्यो, पक्रियो र यसरी पीडा (शरीरको नीलडामसहित सुन्निएको भाग देखाउँदै) दियो जसको औषधि अझै गर्दै छु । कारबाही गर्दा महिला प्रहरी पनि थिएनन् । एक दिन झापाकी साथीलाई आम्दा नेपालबाट सुरक्षित यौनसाधन (प्रेप, कन्डम) लिएर झोलामा बोकेकै आधारमा प्रहरीले कारबाही गरेछ ।

तीन : मैले ग्राहकलाई सेवा दिइरहेकै समयमा छापा हान्ने प्रहरीले मेरो ग्राहकलाई ‘बेइज्जत गरिदिने’ धम्की दिई पैसा असुलेर छोडिदियो तर मलाई थानामा पुर्‍यायो । छोड्ने बेला मसँग नम्बर लियो । भोलिपल्टदेखि ‘मलाई खुसी पार्, नत्र ग्राहक खोज्ने र पर्खने त्यो ठाउँमा बस्न पाउँदिनस्’ जस्ता कुराहरू गर्न थाल्यो । हामीले यस्तो कैयन्चोटि भोगेका छौं ।

चार : हामीलाई मदिरा पिएर ड्युटीमा खटिएको प्रहरीले लखेट्छ तर हामीमाथि भएको हिंसाबारे उजुरी लिँदैन, बरु हाम्रो गोपनीयता भंग गरिदिने धम्की दिन्छ । यौनकर्मीका रूपमा सेवा दिँदा ग्राहकबाट हुने हिंसा, शोषण र जबरजस्तीबारे प्रहरीलाई भन्दा अनेक विशेषण दिइन्छ र ‘तिमीहरूले गर्ने नै त्यही त हो’ भनेर मजाकको विषय बनाइन्छ । न्यायका लागि ढोका ढकढकाउने ठाउँ नै छैन ।

पाँच : यौनकर्मको आम्दानीबाटै भए पनि सन्तानलाई पढाऊँ भन्यो, जन्मदर्ताको प्रमाण जुटाउन धौधौ छ । नागरिकता नहुँदा आफ्नो बैंक खाता छैन, सन्तानले नागरिकताविहीन बन्नुपरेको छ । नागरिकता नहुनुले धेरै थोकबाट वञ्चित पारेको छ हामी यौनकर्ममा संलग्नलाई ।

माथि उल्लिखित भोगाइहरू स्वासा नेपाल र नारी चेतना समाज (नेपालमा यौनकर्ममा संलग्न समुदायसँग काम गर्दै, यौनकर्मीको अधिकारको वकालत गर्दै आएका संस्था) मा भइरहेको छलफलमा उपस्थित महिला यौनकर्मीहरूका हुन् । आफूहरूप्रति परिवार र समाजले मात्र होइन, राज्यले समेत अपराधीसरह व्यवहार गरेको भन्दै उनीहरूले यौनकार्यलाई ‘निरपराधीकरण’ गरिनुपर्ने आवाज उठाउन थालेका छन् । यौनकर्मलाई राज्यतहले निरपराधीकरण गरिदिए उनीहरूले ‘अपराधी’ सरहको जीवनबाट मुक्ति पाउन सक्छन् ।

यौनकर्म नेपाली समाजमा निषेधित छ जसलाई महिला बेचबिखनको अपराधसँग जोडेरसमेत हेरिन्छ, जबकि यी दुई भिन्न पाटा हुन् । समाजले (कु)कर्म मानेको विषयलाई व्यवसाय बनाउनेहरूले मर्यादित र भेदभावबिनाको जीवन जिउने अधिकारबाट वञ्चित हुनुपरेको बारे सायदै सोचिन्छ ।

परपुरुष वा परस्त्रीको तुष्टिका लागि आफ्नो शरीर (विशेषतः महिलाको) उपयोग गरेर जीविका गर्ने काम–पेसालाई पछिल्लो समय महिलावादीहरूले पुँजीवादी पितृसत्तामक व्यवस्थाको शोषणको नयाँ रूप भनेर परिभाषित गरेका छन् । त्यस्तो व्यवस्था जहाँ ‘सुन्दर मासुका टुक्राहरू’ ले बनेको, खास गरी महिला शरीरलाई पुँजीवादी बजारमा बिक्रीमा राखिन्छ र मुनाफाकेन्द्रित मालिकद्वारा मोल तोकिन्छ । उनीहरूका अनुसार, पुँजीवादी पितृसत्ताले महिलाका अंगअंगको मोलमोलाइ मात्र नगरेर बिकाउ वस्तुमा परिणत गरिदिन्छ । अर्का थरीको विचारमा देहव्यापार र वेश्यावृत्तिलाई ‘महिलाको शरीर महिलाको एकाधिकार/अधिकार’ को नारासँग जोडेर हेर्नु गलत छ । सिद्धान्ततः राज्यले देहव्यापार गर्नुपर्ने माहोल बनाउनै हुँदैन भनेर बहस नहुने होइन, फेरि पनि व्यवहारमा देहव्यापार मजबुरी–‘जबरजस्ती’ रोजाइ–मजबुरीकै शृंखला बनेर चालु छ । यौनकर्मीहरूका माथि उल्लिखित भोगाइहरूबाट यस्तै लाग्छ ।

यस पेसालाई समाजले जति तीतो, जति तुच्छ विशेषणले उच्चारण गर्छ र नकार्छ, त्यति नै नकारिएको छ कानुनी रूपमा पनि । फलस्वरूप ‘यौनकर्मीको अधिकार प्रथमतः मानव अधिकार’ को सवाल हो भनेर सोचिएको छैन । महिला हिंसाविरुद्धको सोह्रदिने अभियानका बखत महिलाविरुद्ध हुने अनेक प्रकारका हिंसा, बलात्कार, शोषणका घटनादेखि हत्यासम्ममा केन्द्रित भएर विविध कार्यक्रम गरिन्छन्; न्यूनीकरण/उन्मूलनका नीति/रणनीति केकस्ता हुनुपर्छ भन्नेबारे बहस हुन्छन्; तर महिलाभित्रका विविधता र यसका विविध भोगाइलाई बेवास्ता गरिएको हुन्छ भनी आलोचना गरिन्छ । यसै सन्दर्भमा यौनकर्मी महिलाहरू प्रश्न गर्छन्- हामीले बाँचेको अमानवीय जीवनबारे कुन निकाय कहिले आवाज बनिदिन्छ ? के यौनकर्मी अधिकार मानव अधिकारको सवाल होइन ?

विकल्प नभएर होइन कि, ‘बिग्रिएर’ यौनकर्मी बनेको भन्ने धारणा बनाएका जोकोहीले यौनकर्म गर्नेहरूको जीवन नजिकबाट हेरे यौनलाई पेसा बनाउनु पछाडिका यावत् कारण थाहा पाउनेछन् । यौन पेसा अपनाइरहेका महिलाहरूप्रतिको तिरस्कारपूर्ण दृष्टिसमेत बदलिन सक्छ ।

यौनकर्मी हुनुका पीडा, इतिहास, पृष्ठभूमि हामीले कल्पना गरेभन्दा बिलकुल भिन्न हुन सक्छन् । अधिकांश महिला यौनकर्मी पिछडिएको र अशिक्षित समुदायबाट आएका छन् । घरेलु हिंसाबाट छुटकारा पाउन, आत्मनिर्भर बन्न हिँडेकाहरू सहरमा काम गर्ने होटलको मालिकको यौन प्यास मेट्ने साधन बन्न पुगेका छन् । छोराछोरी र आफूमाथि सौता हालिदिने लोग्नेको बेवास्ताका कारण सकसपूर्ण बनिरहेको दैनिकी सहज बनाउन जागिर खोज्दै भौंतारिनेहरू यौनकर्म अपनाउन बाध्य पारिएका छन् । दुर्घटनापछि अपांग बनेको श्रीमान्, वृद्ध सासूससुरा र लालाबालाको आवश्यकता पूर्ति गर्न केही विकल्प नमिलेपछि यौनकर्म अँगाल्नेहरू पनि छन् । वर्षौंसम्म गिट्टी–बालुवाको थुप्रोमा हड्डी रगड्दासमेत सुरक्षित बास बनाउन नसकेका, मृगौलापीडित श्रीमान्को उपचारको स्रोत जुटाउन असमर्थ भएका कतिपय पनि छालाको व्यापारमा होमिन पुगेका छन् । कमजोर आर्थिक अवस्थाको वज्र सहन नसकेर कतिपय ‘जसरी हुन्छ कमाउँछु, पैसाको मुख देख्छु/देखाउँछु’ भनेर शरीर बेच्न बाध्य बनेका छन् । वैदेशिक रोजगारीमा रहेको श्रीमान् सम्पर्कविहीन हुनु, परिवारको बुहार्तन खप्न नसक्नु अर्को कारण हो जसले जीवन गुजाराका लागि जागिर खोज्दाखोज्दै यौनसुख खोजिरहेको परपुरुषसँग ठोक्काइदिएको हुन्छ । शिक्षामा लगानी गर्न नसक्ने अभिभावकका कतिपय युवा छोरीहरू सहर पसेर यौनपिपासुका नजरबाट जोगिई हिँड्न नसकेपछि अनेक हन्डर र ठक्कर खाँदै यौनकर्ममा लाग्न बाध्य बनाइएका छन् ।

भूमिहीन समुदाय र वर्गका छोरीबुहारीहरूसँग शैक्षिक उकालो लाग्नका लागि धितो राख्ने जमिन हुँदैन, वृद्ध बाबुआमाको ओखती गर्ने आयआर्जनको स्रोत हुँदैन र त्यस्ता कतिपय आफ्नै शरीरलाई बेच्न विवश भएका हुन सक्छन् । तर त्यो कर्म यी सबैका लागि सुरक्षित र भरपर्दो छैन । यौनकर्मप्रति समाज, राज्य र विविध वाद/दर्शन अँगाल्ने बुद्धिजीवीको भाष्य परस्पर विरोधी छ, यथार्थवादी छैन । यही कारण उनीहरू अपराधी ठानिइन्छन्, उनीहरूमाथि दमन गरिन्छ र उनीहरूको मानमर्दन गरिन्छ, माथि उल्लेख भएजसरी । यसैले यस कर्मको निरपराधीकरणको सवाल उब्जिएको हो ।

नेपालको आधिकारिक तथ्यांकमा यौनकर्मीहरूको वास्तविक संख्या हराएको छ । तर एनसीएसीको सन् २०१६ को तथ्यांक अनुसार नेपालमा ५६ हजार यौनकर्मी छ्न् भने, अर्को अनौपचारिक अध्ययनले यौनकर्मीको संख्या झन्डै ४ लाख रहेको देखाएको छ । उनीहरूमध्ये कतिपयसँग समाज र संस्कारका हिसाबले ‘तिरस्कृत र त्याज्य’ यौनकर्मलाई छोडेर दोस्रो पेसा अपनाए पनि त्यहाँ आफ्नो विगत थाहा पाउने सहकर्मीबाट अवहेलना सहनुपरेका कारण पुनः यौनकर्ममै फर्किनुपरेको तीतो यथार्थ छ । परिवार र व्यक्तिगत जीवनको आधारभूत आवश्यकता पूरा गर्ने अभिन्न पाटो यौनकर्म बनाइरहेका महिलाहरू आफन्तजन र समुदायबाट कलंकित, अपहेलित, बहिष्कृत र विस्थापित छन्; राज्यबाट दमित, असंरक्षित र सीमान्तीकृत तुल्याइएका छन् ।

मुलुकमा भरपर्दा आर्थिक अवसरहरूको सृजनाको लहर कहिले सुरु हुने हो ? अनौपचारिक क्षेत्रमा संलग्न हरकसैले खाद्यान्न, शिक्षा, औषधोपचार, आवास, लुगाफाटाजस्ता न्यूनतम आवश्यकताहरू ढुक्कले पूरा गर्न सक्ने गरी मासिक आय पाउने कहिले हो ? सबै मान्छेले एकै पटक एकै खालको जीवनस्तर हासिल गर्न सम्भव नहुने त समकालीन राष्ट्रिय विकास अनुभव र राजनीतिक माहोलले नै देखाउँछ । यसर्थ अवसरबिनाको कालखण्डमा कसैले कि जीवन त्याग्नुपर्‍यो कि त अस्तित्वरक्षाका लागि भेटिएका बाटाहरू हिँड्नैपर्‍यो । यी बाटाहरूमध्ये यौनकर्मको बाटो अन्तिम हुन सक्छ जहाँ हिँड्न सहज छैन । फेरि पनि कदमकदममा अपमानित भएर प्राण धानिरहेका छन् महिला यौनकर्मीहरू ।

लकडाउनका बेला ६९० महिला यौनकर्मीमा गरिएको एउटा अध्ययन अनुसार, ९० प्रतिशत यौनकर्मी आफ्ना बच्चाहरूको आधारभूत आवश्यकता पूरा गर्न यौनकर्मकै आयमा निर्भर छन् । यो यस्तो वर्जित कर्म हो, जहाँ एक्लै संघर्ष/श्रम गर्नुपर्छ र मौखिक सम्झौता अनुरूपको पारिश्रमिक माग्दा बदनाम गराइदिने धम्की दिने ग्राहक वा होटल/बार मालिकलाई सहनुपर्छ, जहाँ एचआईभी तथा यौन संक्रमण हुन सक्ने खतरा मोल्नुपर्छ, जहाँ यौनतुष्टि लिन आएका ग्राहकबाट बन्दकोठाभित्र जबरजस्ती र कुटपिट झेल्नुपर्छ, जहाँ प्रहरी–प्रशासनको धरपकड र गालीगलौज सुन्नुपर्छ, जहाँ सामाजिक सुरक्षा छैन । विविध प्रकारका मानसिक, मौखिक र शारीरिक दुर्व्यवहारको सामना गर्ने यौनकर्मीहरूलाई न्यायका लागि गुहार्ने, उत्पीडनमा मल्हम लगाइदिने निकाय छैन । नागरिकता नभएका कारण आफ्नो बैंक खाता नहुने र बचत गर्ने अवसर नमिल्ने बरु लुटपाटमा पर्ने सम्भावना ज्यादा हुन्छ । ठगिँदा र छलिँदा हिंसा वा शोषणमा पर्दा उजुरी गर्ने दरिलो आधार नागरिकता नभएकाले न्यायप्राप्तिको पहिलो संघारबाटै रित्तो हात फर्कन बाध्य छन् कतिपय ।

यौनकर्मी महिलाहरूका अनुसार, यौनव्यापारमा चिनिएको अघोषित इलाकामा ड्युटीमा खटिने प्रहरीको अतिरिक्त आम्दानी हुने गरेको छ । त्यो अतिरिक्त आम्दानी यौन सेवा दिने होटल वा यौनकर्मी वा उनीहरूका ग्राहकलाई धम्काएर हुनेमा शंका रहेन । एउटा अध्ययनले महिला यौनकर्मीमाथि अन्य पक्षबाट भन्दा राज्य (प्रहरी) पक्षबाट हुने हिंसा र शोषण कुल हिंसाको १६ प्रतिशत रहेको देखाएको छ । बाँकी प्रतिशत होटल मालिक, ग्राहक, प्रेमी, साथीहरू, घरमालिक, समुदायमाझ बाँडिन्छ । यही कारण पनि यौनकर्मी महिलाहरूमाथि हुने हिंसा बढिरहे पनि उजुरी लिनमा प्रहरी अधिकारीहरू र अन्य सेवाप्रदायकले बेवास्ता गर्ने गरेका छन् । यसले सामाजिक बहिष्कार र शक्तिको असमानता निरन्तर चलिरहेको देखाउँछ । मानव अधिकारको रक्षार्थ ढाल हुनुपर्ने, कसैमाथि हुने हिंसा रोकथाम तथा न्यूनीकरणका लागि पहल गर्नुपर्ने निकाय नै अमानवीय बनिरहनु निकै चिन्ताजनक छ ।

यौनकर्मलाई अँगाल्नुको सजायस्वरूप महिलाहरूले भोग्ने नीतिगत व्यावहारिक समस्याहरूको चाङ लामो छ । उनीहरूका हुर्किरहेका र हुर्किसकेका सन्तानले भोगिरहेका अप्ठ्याराहरू पनि छन् । यौनश्रमिकहरू जब आफ्ना सन्तानको नागरिकता बनाउन खोज्छन् र सम्बन्धित अधिकारीलाई बुबाको प्रमाण दिन असमर्थ हुन्छन्, तब सन्तानको नागरिकतामा ‘बुबा थाहा नभएको’ जनाउ दिइन्छ अनि ‘बिनाबाबुको सन्तान’ को कलंक लाग्छ सन्तानमा । र ऊ उपहासको पात्र बन्छ । यसले वंशाधिकारको भेदभावरहित प्रावधानको उल्लंघन मात्रै गर्दैन, आमाले भोगेको भेदभाव र उत्पीडनलाई सन्तानको भाग्य करारसमेत गरिदिन्छ ।

महामारी या प्राकृतिक विपत्तिको सामना गर्न दिइने सरकारी तथा स्थानीय राहत सहयोग लिनबाट, स्वास्थ्य तथा सामाजिक सेवामा पहुँच हुनबाट नागरिकता, सम्पत्तिको स्वामित्व वा विवाहकै प्रमाणपत्र नभएकै कारण उनीहरू पाखा पारिन्छन् । यौनकर्मीहरू सामाजिक अवहेलनाको त्रासले चिनिन सक्दैनन् भने नागरिकता नभएका यौनकर्मीलाई राज्यले चिन्दैन । बेलाबखत निम्तिने यस्ता आपत्कालीन अवस्थामा आम्दानीको स्रोत गुम्छ र महिला यौनश्रमिकको अवस्था अझै दयनीय बन्न पुग्छ, जसबारे राज्य पूरै बेखबर छ ।

अब अपांग, दलित, सीमान्तीकृत समुदायका महिलाको हत्या र हिंसामा चिन्तित हुने सरोकारवाला निकायले यौनकर्ममा संलग्न महिलाको हत्या र मृत्युबारे पनि गम्भीर हुनु जरुरी छ । विविध मानसिक अवस्था, आघात र तनावबाट गुज्रने उनीहरूको आत्महत्याको दर बढ्दो छ । प्रतिबन्धित कर्मलाई आफ्नो गाँस र बासको मूल स्रोत बनाउनेहरू विभिन्न स्वास्थ्य समस्याबाट गुज्रिँदा पनि खर्च अभावमा उपचारविहीन भएर बाँच्न विवश छन् । राज्यतहबाट हरबखत जोखिमयुक्त यस कर्ममा रहेकाहरूका सवालको विश्लेषण गरिनुपर्छ । आफ्नो शैक्षिक स्तर नभए पनि वा कम भए पनि सन्तानको राम्रो भविष्यका लागि यौनकर्ममा होमिएका महिलाहरूमाथि हुँदै आएको शोषण र हिंसालाई राज्यका सम्बन्धित निकायहरूले बेवास्ता गर्नु हुँदैन । उनीहरूको न्यूनतम मानव अधिकारलाई ख्याल गर्दै सम्मानजनक वातावरणमा बाँच्न पाउने अवस्था सुनिश्चित गर्नुपर्छ । आर्थिक स्थिरता र सुरक्षाबिना महिला यौनश्रमिकहरू सधैं गरिबी र भोकमरीको सिकार नहोऊन् भनेर उनीहरूलाई आयआर्जन तथा उत्पादनमूलक कार्यक्रम तथा व्यावसायिक सीपमूलक प्रशिक्षणमा सहभागी बनाउनुपर्छ ।

शारीरिक बनावट, यौनिकता र सुन्दरतासँग सम्बन्धित यौनकर्ममा संलग्न महिलाहरूलाई पनि वर्गीकृत रूपमा हेर्न सकिन्छ । १८ वर्षदेखि ४६ वर्षसम्मका महिला यौनकर्मीहरूको आम्दानी उनीहरूको शिक्षा र शारीरिक सुन्दरताले निर्धारण गरेको पाइन्छ । तर शैक्षिक स्तर कम भएका, वयस्क र वृद्ध यौनकर्मीहरूलाई उनीहरूको श्रमबापतको भुक्तानीमा ग्राहक, होटल मालिकहरूले बेवास्ता गर्ने गरेको वास्तविकता पनि छ । यौनकर्मलाई निरपराधीकरण गरेमा न्यायपूर्ण श्रमज्याला निर्धारण गर्ने आधार तय हुन सक्छ ।

बढ्दो उमेरसँगै स्वास्थ्य जटिलता देखिने र सामाजिक सुरक्षाको कुनै प्रावधान नभएकाले वृद्ध यौनकर्मीहरू जोखिमपूर्ण जीवन बिताउन बाध्य छँदै छन्, उनीहरूका छोरीहरूले पनि प्रायः यौनकर्मलाई नै निरन्तरता दिने भएकाले यो जोखिम उनीहरूमा समेत दोहोरिने पक्का छ । यसबारे सोचिनुपर्छ ।

विकल्पहीन प्रतिबन्धले यौनव्यापार रोकिँदैन भन्नेबारे राज्य सचेत हुनुपर्छ र हाललाई यौनश्रममा परिस्थितिवश धकेलिएकाहरूको नागरिक र मानव अधिकारलाई संरक्षकत्व प्रदान गर्न यौनकार्यको निरपराधीकरण अविलम्ब गरिनुपर्छ । अनि मात्र उनीहरूमाथिका ज्यादती र लाञ्छना कम हुन सक्छन् ।

प्रकाशित : मंसिर २७, २०७९ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?