२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८९

महँगो उपचार खर्चले बुनेको गरिबीको जालो

तारानाथ सापकोटा

काभ्रेको दोलालघाटका ६३ वर्षीय पुरुषको मुटुमा समस्या देखिएको निकै पछि अस्पताल जाँदा डाक्टरले शल्यक्रिया गर्नुपर्ने बताए, जसका लागि झन्डै ५ लाख रुपैयाँ जोहो गर्नुपर्ने भयो । स्कुलमा ज्यालादारी पियनका रूपमा काम गरिरहेका उनका लागि त्यो रकम असम्भव थियो । बेच्नलायक सम्पत्ति थिएन ।

महँगो उपचार खर्चले बुनेको गरिबीको जालो

मधुमेहकी बिरामी श्रीमतीमा अझै कामको बोझ थपियो । उपचार गर्न नसकेपछि पेनकिलर खाँदै मृत्युलाई खुला चुनौती दिएर बसे । छोरा पढाइ छोडेर बसमा ‘हेल्पर’ को काम थाल्न बाध्य भए । किन उपचार गर्न नजानुभएको भन्ने प्रश्नमा निकै बेरको मौनता नै उनको उत्तर थियो । र अन्तिममा उनको हृदयबाट चिसो आवाज निस्क्यो, ‘हामी गरिबले कहाँबाट ल्याउनु त्यत्रो पैसा ?’ यो एउटा सपाट उत्तर मात्रै थिएन, गरिब जनतामा राज्यप्रतिको भरोसा टुटिसकेको अभिव्यक्ति पनि थियो ।

काभ्रेकै एक ७० वर्षीय वृद्धले मन्द पेट दुखेको अनुभव गरे । सामान्य ठानेर खासै वास्ता गरेनन् । तर दुखाइ निको हुनुको साटो झन् बढ्दै गयो । नजिकको फार्मेसीबाट झन्डै एक वर्ष दुखाइ कम गर्ने औषधि खाइरहे । एक दिन मलद्वारबाट अत्यधिक रक्तस्राव भएपछि अस्पताल जाँदा ठूलो आन्द्राको क्यान्सर विकसित अवस्थामा पुगिसकेको पहिचान भयो । त्यसपछि औषधिोपचारमा झन्डै १५ लाख खर्च भयो, उनीहरूले ऋण लिएर उपचार गरे । बाबुको मृत्युपश्चात् पनि छोरा ऋण तिरिरहेका छन्, जुन तिरिसक्न उनको कमाइले वर्षौं लाग्नेछ । उपचार खर्चका कारण परिवारको खानपान, जीवनयापन र बच्चाहरूको पढाइमा नराम्रो असर परेको छ ।

काभ्रे जिल्लानिवासी एक ३५ वर्षीय व्यक्ति स्वास्थ्यमा समस्या देखिएपछि लक्षणका आधारमा फार्मेसीबाट औषधि किनेर खाँदै बसे । स्वास्थ्य झनै खराब भएपछि अस्पताल जाँदा बोन म्यारोको क्यान्सर पहिचान भयो । त्यसपश्चात् परीक्षण, उपचार र औषधिको सिलसिला झन्डै चार वर्ष चल्यो । यो अवधिमा झन्डै ३५ लाख रुपैयाँ खर्च भयो । र पनि उनको निधन भयो । उपचार खर्चका लागि पुर्ख्यौली सम्पत्ति बेच्नुपरेकाले श्रीमती र दुई बच्चाहरूसँग केही बाँकी रहेन । जीविकोपार्जन, पढाइ लगायत सबै कुरामा समस्या उत्पन्न भयो । ठीकठाकै अवस्थाबाट एउटा परिवार अचानक गरिब बन्न पुग्यो । यसरी उपचारमा गरिएको खर्चले सिङ्गो परिवार दीर्घ गरिबीको दुश्चक्रमा फस्यो ।

उल्लिखित घटनाले नेपालमा दीर्घरोग स्वास्थ्य समस्यामा मात्रै सीमित छैन, यसका बहुआयामहरू छन् भन्ने पुष्टि हुन्छ । दीर्घरोग स्वास्थ्यभन्दा बढी सामाजिक समस्या बनेको छ । दीर्घरोगको उपचारमा ठूलो रकम खर्च गरेर औसत आर्थिक स्थिति भएकाहरू गरिब बन्छन् भने गरिब परिवारहरू दीर्घ गरिबीको दुश्चक्रमा धकेलिन्छन् । यस्तो अवस्थामा निम्नमध्यमवर्गीय जनसंख्या र गरिबीको रेखामुनिको जनसंख्या सबैभन्दा खतराको सूचीमा छ । नेपालजस्तै निम्न आय भएका देशहरूमा दीर्घरोग र यसले निम्त्याउने सामाजिक–आर्थिक समस्या विकराल देखिन्छ ।

दीर्घरोग : एक वैश्विक संकट

विश्व स्वास्थ्य संगठनका अनुसार दीर्घरोग संसारभर बर्सेनि ६० देखि ७० प्रतिशत मृत्यको कारक बनिरहेको छ । अल्पविकसित देशहरूमा दीर्घरोगको समस्या झनै विकराल छ । औसत आयुमा वृद्धि, बढ्दो सामाजिक असमानता, गरिबी र जीवनशैलीमा आएको परिवर्तनका कारण दीर्घरोगको ग्राफ नेपालमा पनि निरन्तर बढ्दो छ । विभिन्न अध्ययनका अनुसार नेपालमा ६६ प्रतिशत मृत्युको कारण दीर्घरोग बनेको छ । शिवराज मिश्रा लगायतको अध्ययन अनुसार पछिल्लो समय ओपीडीमा आउने ८० प्रतिशत बिरामी दीर्घरोगका छन् । दीर्घरोग बिरामीको शारीरिक पीडासितभन्दा पनि आर्थिक व्यवस्थापन र परिवारका अन्य सदस्यको मनोसामाजिक अवस्थासँग अझै भयावह रूपमा जोडिएको छ । महँगो औषधोपचारले दीर्घरोगलाई असाध्य महँगो बनाएको छ । स्वास्थ्य बिमाको प्रावधान नभएका संसारका धेरै निम्न र मध्यम आय भएका देशहरूमा उपचार खर्च व्यक्ति स्वयंले वहन गर्छन् । केही अध्ययनको निष्कर्ष अनुसार नेपालमा झन्डै ७० प्रतिशत उपचार खर्च व्यक्ति स्वयंले गर्छन् ।

विश्व स्वास्थ्य संगठन अनुसार नेपालमा बजेटको ६ प्रतिशत मात्रै स्वास्थ्य क्षेत्रमा छुट्याइन्छ, जुन संसारकै कममध्ये एक हो । तर यसकै पनि ठूलो हिस्सा प्रशासनिक खर्चमै सकिन्छ । यही थोरै बजेटबाट, बर्सेनि थपिँदै गएका दीर्घरोगका बिरामीहरू र महँगा औषधोपचारमा राज्य सहयोगी बन्नु आफैंमा मुस्किल छ भने छुट्याइएकै रकमको पनि सही व्यवस्थापन हुन सकेको छैन । विश्व स्वास्थ्य संगठनको तथ्यांकका आधारमा नेपालीको औसत आयु बढेर ७० वर्ष पुगे पनि औसत स्वस्थ आयु लगभग ६२ वर्षमै सीमित छ । प्रस्ट छ, नेपालीहरूलाई कम उमेरमै रोगले समात्छ र बाँकी उमेर औषधोपचारमा बित्छ । उत्पादनशील उमेर घटेपछि आम्दानी घट्छ । यसले समग्र देशको आर्थिक अवस्था र समृद्धिमा असर गर्छ । फेरि, कुनै समय सम्भ्रान्तहरूको रोगले चिनिएका दीर्घरोगहरू ‘पाराडाइम सिफ्ट’ गरेर गरिबहरूको रोग बनेका छन् ।

उपचार खर्चको सकस

दीर्घरोगसँगै खर्चको विशाल भार पनि गाँसिएर आउँछ, त्यसकारण दीर्घरोगी र तिनका परिवार धेरै समस्याहरूसँग एकसाथ जुध्न बाध्य हुन्छन् । दीर्घरोगबाट सृजित आर्थिक संकटसँग जुध्न नेपाली परिवारले अवलम्बन गर्ने योजनाहरू उल्टै उनीहरूका लागि गरिबीको जालो बनिदिन्छन् । परिवारको मुख्य कमाउने व्यक्ति नै बिरामी भएपछि परिवारको आम्दानी गुम्छ, बाँकी सदस्यको कमाइ पनि धेरैजसो सोही औषधोपचारमा सकिन्छ । खर्च व्यवस्थापनका लागि अरू शीर्षकका खर्चहरू कटौती गर्नुपर्छ । यिनै कारण, आर्थिक अवस्था कमजोर भएका बिरामीहरूले डाक्टरले भनेका उपचार विधिहरू पालना नगर्ने, तोकिएको भन्दा कम औषधि खाने र खर्चले नधान्ने स्थिति आएपछि औषधोपचारै छाडिदिने गर्छन् । परिणामस्वरूप बिरामीको स्वास्थ्य त बिग्रिन्छ नै, अन्य सदस्यमा तनाव थपिन्छ । भएको सम्पत्ति बेचेर उपचार गर्नुपर्दा सिंगो परिवारै दीर्घ गरिबीको चक्रमा फस्न पुग्छ । बच्चाहरू पढाइ छाडेर कम उमेरमै काम गर्न बाध्य हुन्छन् । आर्थिक अवस्था केही राम्रा भएका मानिसहरूले सञ्चित रकम प्रयोग गर्छन् तर एउटा विन्दुमा पुगेपछि उनीहरू पनि गरिबीको चक्रमा धकेलिन्छन् । धनी मानिसहरूलाई खासै आर्थिक कठिनाइ पर्दैन तर सञ्चित धनले नपुगे के गर्ने भन्ने चिन्ता अवश्य रहन्छ । दलित, महिला, पिछडिएको वर्ग र दुर्गम ठाउँका मानिसहरूमा यो समस्या झनै चर्को छ ।

असीमित समस्या

गरिब परिवारमा कोही दीर्घरोगबाट ग्रस्त हुनु विशाल संकटको पूर्वार्द्ध मात्रै हो । रोग पहिचान भएपछि व्यक्ति र परिवार विक्षिप्त बन्छ । केहीकेहीमा परिवारको दुःख देखेर आत्महत्या गर्ने सोच पनि आउँछ । अक्सर अखबारमा यस्ता समाचार आइरहेकै हुन्छन् । आर्थिक व्यवस्थापनको बोझले मानसिक स्वास्थ्यमा पनि असर पुर्‍याइरहेको हुन्छ । गरिबी र दीर्घरोगको दुश्चक्रले सिंगो परिवारको शारीरिक र मानसिक स्वास्थ्यमा पारेको असरले कालान्तरमा उपचार खर्च बढाउँछ । सामाजिक असमानता बढ्नुका साथै गरिबीका कारण सामाजिक कार्यहरूबाट टाढिँदै जाने र एक्लिने खतरा रहन्छ । साथै परिवारका अन्य सदस्यमा बिरामीको उपयुक्त उपचार गर्न नसकेको हीनताबोध देखिन्छ जसले विभिन्न मनोसामाजिक समस्याहरू थपिदिन्छ ।

दुश्चक्रको पुस्तान्तरण

यस्ता धेरै बिरामीको भइरहेको आम्दानी रोगका कारण गुम्छ, सञ्चित रकम अपुग भएपछि ऋण गरेर उपचार गर्छन्, ऋण र ब्याज तिर्न सम्पत्ति बेच्छन्, जीवनयापनका अनेकौं शीर्षकबाट खर्च कटौती गर्छन्, पोषणयुक्त खानाबाट वञ्चित हुन्छन् । यसले गर्दा भविष्यमा विभिन्न रोग लाग्ने सम्भावना ज्यादा हुन्छ । विद्यार्थीहरूले पढाइ छाडेर सानै उमेदेखि काम गर्न थाल्छन् जसका कारण भविष्यमा उनीहरूले राम्रो काम पाउने सम्भावना रहँदैन, उनीहरू खतराजन्य पेसामा लाग्ने ज्यादा सम्भवना रहन्छ । परिणामस्वरूप उनीहरू गरिबीको दीर्घ चपेटामा पर्ने जोखिम बढ्छ, साथै जीवनशैलीका कारण उनीहरूलाई पनि दीर्घरोग लाग्ने सम्भावना उत्तिकै रहन्छ ।

गरिबीले रोग निम्त्याउँछ फेरि त्यही रोगले गरिबी बढाउँछ वा गरिबी र दीर्घरोगको दुश्चक्र एउटा दीर्घ समस्या बनेर पुस्तान्तरण हुँदै जान्छ । थुप्रै देशमा गरिएका अध्ययनहरूले दीर्घरोग र गरिबीले एकअर्कोलाई बढाउँदै लैजाने र परिवार दीर्घ गरिबीको चक्रमा फस्ने देखाएका छन् ।

उम्कने उपाय के ?

स्वास्थ्यलाई मानव अधिकारको कोणबाट पनि व्याख्या गरिन्छ । नेपालको संविधानले पनि स्वास्थ्यलाई आधारभूत अधिकारका रूपमा आत्मसात् गरेको छ । तथापि, स्वास्थ्य क्षेत्रमा विनियोजित बजेट, बेथिति, व्यक्ति स्वयंले वहन गर्ने उपचार खर्च र तीव्र रूपमा फैलिरहेका नाफामूलक निजी स्वास्थ्य संस्थाहरूबाट उक्त अधिकारको स्थापना हुँदैन । पर्याप्त सरकारी स्वास्थ्य संरचनाहरूको स्थापना र सबलीकरणबिना अंगीकार गरिएको आर्थिक उदारीकरण र निजीकरणपश्चात् तीव्र रूपमा फैलिएका निजी अस्पताल र औषधि कारखानाहरूका कारण सरकारी सेवा संकुचित भए । उपचार खर्चमा व्यापक वृद्धि भयो । उचित परामर्श अभावमा मानिसहरूले घरनजिकको फार्मेसीको नाफा मात्रै बढाइरहेका छन् । रोगको पहिचानबिनै औषधि बेची यस्ता फार्मेसीले मानिसहरूको स्वास्थ्य बिगार्नुका साथै उनीहरूको गरिबी पनि बढाइरहेका छन् ।

उता, दुर्गम ठाउँबाट मानिसहरू उपचारकै लागि काठमाडौं वा ठूला सहरी केन्द्र धाउन बाध्य छन् । ढिलो गरी गरिएको बिमाको व्यवस्था पनि निजी कम्पनीहरूलाई पोस्ने किसिमको छ । हात–मुख जोर्नै समस्या भएका नेपालीहरूले निजी अस्पतालमा उपचार गर्न सक्ने कुरै भएन । थोरै आर्थिक हैसियत भएका पनि सरकारी अस्पतालको दयनीय हालत देखेर निजी अस्पतालतिर जान बाध्य छन् । सन् २००२ को ट्रान्सपरेसी इन्टरनेसनलको एक रिपोर्ट अनुसार नेपालका सरकारी अस्पतालमा भर्ना भएर उपचार गराउन घूससम्म खुवाउनुपर्ने अवस्था छ । राज्यकै स्वास्थ्य नीतिले जनताहरूलाई गरिबीको दुश्चक्रतर्फ धकेलिरहेको भान हुन्छ । दीर्घरोग र गरिबीको यो भयानक दुश्चक्रबाट मानिसहरूलाई बचाउन सम्भव छ । त्यसका लागि नागरिक उत्तरदायित्व बोध गर्ने कल्याणकारी राज्यको स्थापना जरुरी छ । क्युबा, श्रीलंका, रुवान्डाजस्ता देशहरू धेरै हदसम्म यो चक्रलाई तोड्न सफल भएका देखिन्छन् । केही दशकअघिसम्म भयावह स्वास्थ्य स्थिति भएको चीनले लाखौं मानिसलाई यो दुश्चक्रबाट मुक्त गरेको तथ्य पनि हाम्रा लागि शिक्षाप्रद हुन सक्छ । पुँजीवादी भनेर चिनिएका पश्चिम युरोपेली देशहरूले कसरी स्वास्थ्यलाई राज्यको दायित्वका रूपमा आत्मसात् गर्छन् भनेर हेर्ने हो भने हाम्रो समाजवाद–उन्मुख देशलाई केही शिक्षा मिल्नेछ । समृद्धिको नारा लगाइरहेको देशले आफ्ना नागरिकहरूलाई रोग र गरिबीको दोहोरो मारबाट मुक्त गर्नु अनिवार्य छ किनकि वर्ल्ड इकोनोमिक फोरमले भने अनुसार दीर्घरोगी जनता कुनै पनि देशको समृद्धिको सबैभन्दा ठूलो बाधक हुन् ।

अक्सफोर्ड युनिभर्सिटी प्रेसको इन्टरनेसनल हेल्थ जर्नलमा प्रकाशित हान्स बोस्मा र इंगे हुक्सको शोधमा आधारित ।

प्रकाशित : मंसिर २१, २०७९ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

महालेखापरीक्षकको प्रतिवेदनअनुसार गत वर्षभन्दा यसपाली करिब सवा २ खर्ब बेरूजु रकम बढ्नुको संकेत के हो ?