दाइजो : समाजको ऐंजेरु- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाइजो : समाजको ऐंजेरु

सम्पादकीय

गत महिना महोत्तरीको औरहीकी एक शिक्षित युवतीलाई दाइजो नपुगेको भन्दै ‘जनरल फिजिसियन’ रहेका उनका पतिले मरणासन्न हुने गरी कुटपिट गरेको घटना सार्वजनिक भएको थियो । युवतीको परिवार अनुसार उनको विवाहका लागि घर–जग्गा बेचेर डेढ करोड रुपैयाँ खर्च गरिएको थियो, मागेजति सरसामान दिइएको थियो । तैपनि विवाह भएको दुई वर्षपछि पतिले काठमाडौंमा घर किनिदिनुपर्‍यो भनेर युवतीलाई धम्क्याइरहे ।

निरन्तरको शारीरिक–मानसिक यातनाले असह्य भएपछि उनले जिल्ला प्रहरी कार्यालय, महोत्तरीमा घरेलु हिंसाविरुद्ध उजुरी दिने हिम्मत जुटाइन् । एउटा शिक्षित परिवारभित्र विवाहको लेनदेनलाई लिएर भइरहेको यस्तो अपराध हाम्रो समाजको विरक्तलाग्दो पक्ष प्रतिविम्बित गर्ने एउटा ऐना हो । अझ, कैयौं यस्ता घटना परिवारको प्रतिष्ठाको पर्खालभित्र त्यसै गुपचुप पारिएका छन् ।

समयक्रमसँगै शिक्षा र चेतनाको विस्तार हुँदै गर्दा क्रमिक रूपमा दाइजोजस्तो कुप्रथा उन्मूलन हुनुपर्ने हो, तर अपेक्षा अनुरूप यो कुरीतिमा खासै कमी आउन सकेको छैन । दाइजोकै कारण प्रताडित परिवार, विशेष गरी मधेशमा धेरै छन् । नेपाल प्रहरीसित उपलब्ध तथ्यांक अनुसार २०७४ साउनदेखि २०७९ असोजसम्म दाइजोबारे परेका १ सय ९१ उजुरीमध्ये मधेश प्रदेशका मात्रै १ सय ४१ छन् । प्रदेश १ मा ९, वाग्मतीमा १, लुम्बिनीमा ३०, कर्णालीमा ४ र काठमाडौं उपत्यकामा ५ उजुरी परेका छन् । जबकि, दुई परिवारभित्रै सीमित हुने भएकाले विवाहका ‘कारोबार’ त्यत्तिकै सतहमा आउँदैनन् । जतिसुकै अन्यायपूर्वक लेनदेन गरिएको भए पनि सितिमिति यसबारे उजुरी पर्दैन । दाइजोले आपराधिक रूप लिए मात्र घरेलु तथा महिला हिंसासँग जोडिएर यस्ता घटना प्रहरीसम्म आइपुग्छन् । अझ पछिल्लो समय त विवाह लेनदेन देशैभरि सामाजिक प्रतिष्ठासँग जोडिन पुगेको छ, जसरी पनि बढीभन्दा बढी वा मागेजति दाइजो दिने प्रवृत्ति झाँगिएको छ ।

कतिपय समाजमा, यतिसम्म छ कि, केटा पक्षको पेसाका आधारमा अनौपचारिक तहमा ‘दाइजो–दर’ नै तय गरिन्छ । शिक्षित वर्ग भनिने इन्जिनियर, चिकित्सक, वकिल लगायतका पेसा अँगालेकाहरूले आफ्नो पढाइ खर्चसमेत दाइजोबाटै उठाएका उदाहरण बग्रेल्ती भेटिन्छन् । महिला हिंसालाई शिक्षित वर्गले नै यसरी ‘नियमबद्ध’ रूपमा प्रोत्साहित गरिरहेकाले यो कुरीति हराउनुको साटो अझ

बढ्दो छ । आम्दानीको गतिलो स्रोत नभएका, ज्यालादारी गरेर जीवन निर्वाह गरिरहेका परिवारहरू यो कुप्रथाको चरम मारमा छन् । यही कारण, तिनका लागि छोरी हुनु भनेको जीवनभरि आर्थिक भारले थिचिनुजस्तो भैरहेको छ । कतिको त दाइजो दिँदैमा भएको जायजेथा सबै सकिन्छ, परिवारको समग्र उन्नति नै अवरुद्ध हुन्छ । विडम्बना, दाइजोका यस्ता अवयवलाई राजनीतिक दलहरूले उति गम्भीरतापूर्वक लिएकै छैनन् ।

वर्षांैदेखि महिला हिंसा र विभेदको एउटा मुख्य कारकका रूपमा रहेको दाइजो अझै पनि राजनीतिक मुद्दाका रूपमा स्थापित भएको छैन । दलहरूको मुख्य कार्यसूचीमा समाजमा रहेको यो कलंक कहीँ पनि अटाउँदैन । जबकि, विवाहको आडमा भइरहेको अपराध उन्मूलनका लागि सबैभन्दा महत्त्वपूर्ण भूमिका राजनीतिक दलहरूकै हुनुपर्ने हो । यसका विरुद्ध समाज सुधारका उपयुक्त कार्यक्रम अघि सार्न सरकारलाई उनीहरूले सुझाउनुपर्ने हो । केही वर्षअघि कतिपय संघीय र प्रादेशिक मन्त्रीहरूले नै सम्पत्ति विवरणमा दाइजोबाट कमाएको भनी विभिन्न जायजेथा उल्लेख गरेका थिए । यसबाटै थाहा हुन्छ— समाज सुधार नहुनुमा दाइजोलाई सामान्य ठान्ने राजनीतिकर्मीहरूको अविवेकीपन पनि उत्तिकै जिम्मेवार छ । त्यसैले पहिले राजनीतिक नेतृत्वको व्यवहार बदलिनुपर्छ । दाइजो लगायतका सामाजिक कुरीतिको सामान्यीकरण कतैबाट हुनु हुन्न ।

यसरी सामान्यीकरण गर्दा, एक त दाइजो माग्नेहरूको हौसला बढिरहन्छ, अर्को यसको नियन्त्रणका लागि बनाइएका कानुन पनि निष्प्रभावी हुन्छन् । नेपालमा कानुनी स्तरमा दाइजो रोक्न उल्लेखनीय प्रयास भएका छन् । ४६ वर्षअघि नै दाइजोलाई गैरकानुनी ठहर गरिएको थियो । त्यस्तै दाइजो माग गर्ने, ल्याउन दबाब दिने वा नल्याएका कारणबाट गरिने घृणा, हेला वा तिरस्कारसमेतलाई घरेलु हिंसा (कसुर र सजाय) ऐन–२०६६ ले ‘आर्थिक यातना’ भनेको छ । तर, यस्तो व्याख्याबारे समाज अनभिज्ञ नै देखिन्छ, वा उसले जानीजानी लत्याएको छ । विवाहको तडकभडक, फजुल खर्च रोक्न तथा अन्य सुधारका पक्ष समेटेर ‘सामाजिक व्यवहार सुधार ऐन’ बनेको छ । यस्तो भेटिए दण्ड सजाय मुलुकी अपराध संहिता–२०७४ ले तोकिदिएको छ । यस्ता प्रावधानलाई समाजमा सञ्चार गर्न, स्थापित गर्नतिर भने राजनीतिक दलहरू पटक्कै संवेदनशील छैनन् । त्यसैले उजुरी पर्नुभन्दा अघि नै कानुनको डर कसैलाई लाग्दैन न त कार्यान्वयन पक्षको चिन्ता नै सरकारलाई छ ।

दाइजोको विद्यमान दलनका आधारमा भन्न सकिन्छ— समाज रूपान्तरणको पाटोमा अझै धेरै काम गर्न बाँकी छ । दाइजोले विवाह भन्ने संस्थालाई भद्दा अभ्यास बनाएको मात्र छैन, महिला हिंसा र विभेद पनि उत्तिकै बढाएको छ । त्यसैले राजनीतिक दलहरूले आफ्नो कमजोरी सुधार्नैपर्छ । कसुर र सजायको जानकारी समाजमा पुर्‍याउने र सचेत बनाउने जिम्मा स्थानीय सरकार तथा जनप्रतिनिधिले लिनुपर्छ । दाइजो उन्मूलन अभियानको व्यावहारिक बाटो के हुन सक्छ भन्नेमा सरकार, राजनीतिक दल र समाजका सचेत तप्काले चिन्तन–मनन गर्नुपर्छ । छोरीले पनि अंश पाउने अधिकारको पूर्ण कार्यान्वयन गरेर यो कुरीति घटाउन सकिन्छ कि, यसबारे पनि गृहकार्य गनुपर्छ । सबैको सचेत पहलबाट कैयौं परिवारको दु:ख–दर्दका रूपमा रहेको यो कुसंस्कारलाई हटाउनैपर्छ ।

प्रकाशित : मंसिर १८, २०७९ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्

कीर्तिमानी खेलाडी बन्दै लोरिस

एएफपी

दोहा — गोलरक्षक हुगो लोरिसले फ्रान्सबाट सर्वाधिक खेल खेल्ने खेलाडी बनेमा आफूलाई गर्व महसुस हुने बताएका छन् । पोल्यान्डविरुद्ध आइतबार दोहामा खेलेपछि लोरिसले फ्रान्सबाट सर्वाधिक खेल खेलेको लिलियन थुरामको कीर्तिमान बराबरी गर्नेछन् ।

‘यो कुनै सानो उपलब्धि होइन, यो तथ्यांकलाई लिएर म निकै सम्मानित छु र गर्व गर्दछु, विश्वकपमा अन्तिम १६ को खेल खेल्नुपर्ने भएकाले अहिलेलाई यो उपलब्धि दोस्रो प्राथमिकतामा छ,’ फ्रान्सका कप्तान लोरिसले शनिबार भने ।

पोल्यान्डसँगको खेल लोरिसको फ्रान्सेली राष्ट्रिय टोलीबाट १ सय ४२ औं खेल हुनेछ । फ्रान्सलाई सन् १९९८ को विश्वकप दिलाएका राइट ब्याक थुरामले यो उपलब्धि आफ्नो १४ वर्षको खेलजीवनमा बनाएका थिए । यसै महिनाको अन्त्यमा ३६ वर्ष लाग्ने टोटेनहमका गोलरक्षक लोरिसले थुरामले संन्यास लिएको केही समयपछि २००८ को नोभेम्बरमा फ्रान्सबाट ‘डेब्यु’ गरेका थिए ।

‘मेरो नजरमा अहिले विश्वकपमात्र छ, अन्य चिज दोस्रो प्राथमिकताका विषय हुन्,’ पोल्यान्डसँग अल थुमामा रंगशालामा खेल्न आफ्नो टोली तयार रहेको जनाउँदै लोरिसले भने, ‘म आफ्नो सबै शक्ति आइतबारको खेलमा लगाउने छु, किनभने यो अर्को महत्त्वपूर्ण खेल हो । विश्वकप सकिएपछि मात्र व्यक्तिगत सफलता र कीर्तिमानमा ध्यान लगाउने छु । मैले उत्कृष्ट ढंगमा प्रतियोगिता टुंग्याउने विश्वास लिएको छु ।’ लोरिसकै कप्तानीमा फ्रान्सले २०१८ को विश्वकप जितेको थियो । ट्युनिसियाविरुद्ध बुधबार समूह चरणको अन्तिम खेलमा आराम गर्न दिइएका लोरिसले पोल्यान्डविरुद्ध सुरुदेखि नै खेल्ने निश्चित छ । फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले पनि लोरिसको तारिफ गर्दै आएका छन् । राष्ट्रिय टोलीबाट १ सय ३ खेल खेलिसकेका डेसच्याम्पले फ्रान्सलाई विश्वकप जिताउने लोरिसपछिका अर्का कप्तान हुन् ।

‘कीर्तिमान तोडिनकै लागि बनेका हुन्छन्, निश्चय पनि केही कीर्तिमान अन्यभन्दा विशेष हुन्छ । त्यसैले यसको महत्त्व दर्शाउछ । वर्षौंसम्म लगाएर यतिका खेल खेल्न उच्चस्तरमा खेलेको हुनुपर्छ,’ लोरिसले भने । पोल्यान्डलाई पराजित गर्दै क्वाटरफाइनल पुग्नेमा फ्रान्स दाबेदार देखिएको छ । तर विश्वका उत्कृष्ट स्ट्राइकर रोबर्ट लेवान्डोस्कीका कारण उनी पोल्यान्डलाई लिएर सचेत छन् ।

‘उनी वर्षौंदेखि उत्कृष्ट ९ नम्बरका खेलाडी हुन्, सामूहिक हिसाबमा पोल्यान्ड पनि राम्रो टोली हो, तर रक्षात्मक खेल्दा टोली दबाबमा आउने गरेको छ,’ लोरिसले विपक्षीबारे भने । यता प्रशिक्षक डेसच्याम्पले पछिल्लो महत्त्वपूर्ण प्रतियोगिताको नकआउट चरणमा फ्रान्सले के गरेको थियो भनेर पछाडि फर्कनुको कुनै अर्थ नभएको जनाए । गत वर्ष फ्रान्स युरोपियन च्याम्पियनसिपको अन्तिम १६ मा स्विट्जरल्यान्डसँग पेनाल्टी शुटआउटमा पराजित भएको थियो । ‘मलाई यसबारे केही कुरा गर्न चासो छैन, त्यो खेल खेलेका खेलाडीलाई पनि यसबारेमा कुरा गर्न खासै इच्छा छैन,’ डेसच्याम्पले भने, ‘एउटा कुरामा के समानता थियो भने त्यो पनि अन्तिम १६ कै खेल थियो ।’

प्रकाशित : मंसिर १८, २०७९ ०७:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×